काठमाडौं । यतिबेला हामी दशैं मनाउन व्यस्त छौं । अरु बेलाभन्दा दशैंमा माछामासुको चर्चा र खपत पनि बढी हुने गरेको छ ।
दशैंका मासुको बजार गुलजार बन्ने गरेको छ । देशका कुनाकन्दारदेखि मुख्य सहरहरुमा खसीबोका खरिदविक्री गर्नेको भीड लागेको देखिन्छ ।
एकीन तथ्यांक नभएपनि दशैंको बेला करिब ३० अर्ब बढीको मासु खपत हुने बताइन्छ । सामान्य अवस्थाकोभन्दा तेब्बरभन्दा पनि बढी मासु विक्री हुने गरेको व्यापारीहरु बताउँछन् ।
हाल बजारमा मासुको मूल्य प्रतिकेजी ३०० रुपैयाँदेखि १३०० रुपैयाँसम्म रहेको छ । दशैंका लागि व्यवसायीले कुखुराको मासु प्रतिकेजी ३०० रुपैयाँ रहेको छ भने राँगा र बंगुरको प्रतिकेजी ५००/५०० रुपैयाँ र खसीको मासु प्रतिकिलो १३०० रुपैयाँ निर्धारण गरेका छन् ।
मासुलाई महँगो तरकारीका रुपमा लिइन्छ । तर, बजारमा यस्ता केही तरकारी छन्, जसको मूल्य मासुकोभन्दा पनि धेरै छ ।
यी हुन् मासु जत्तिकै महँगा तरकारी
साकारहारीले खाने कुरिलो, डल्ले च्याउ, पनिर, तोफू लगायत तरकारीको मूल्य मासुकै जत्ति रहेको छ । यी तरकारीको मूल्य खसीको मासुको जति नरहे पनि कुखुरा, राँगा र बंगुरको मासुकोभन्दा धेरै र हाराहारीमा रहेको छ ।
डल्ले च्याउ
केहीले डल्ले च्याउलाई मासुकै तिर्सना मेटाउने तरकारीको रुपमा समेत लिन्छन् । च्याउनमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा डल्ले च्याउको थोक मूल्य नै प्रतिकिलो ३५० रुपैयाँ हाराहारीमा रहेको छ भने खुद्रा बजारमा ५०० रुपैयाँसम्म बेचने गरेको पाइन्छ ।
च्याउको मूल्य कुखुराको मासुभन्दा मँहगो रहेको छ भने राँगा र बंगुरकोभन्दा केही मात्र कम हो । नेपालमा वार्षिक १ करोड केजी च्याउ उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ ।
कुरिलो
भान्सामा (होटल र रेष्टुरेण्ट बाहेक) प्रयोग हुने हरियो तरकारीमध्ये कुरिलोलाई सबैभन्दा महँगो तरकारी मानिन्छ । कालीमाटी तरकारी बजारमा कुरिलोको होलसेल मूल्य प्रतिकिलो ६०० रुपैयाँ रहेको छ ।
कुरिलोको मूल्य खसीको मासुभन्दा सस्तो रहे पनि कुखुरा, राँगा र बंगुरकोभन्दा धेरै हो । सिजनमा यसको मूल्य केही घट्ने गरेको भए पनि अफसिजनमै प्रतिकिलो ४ हजार रुपैयाँसम्म पुग्ने गरेको कालीमाटी तरकारी बजारको तथ्यांक छ ।
कुरिलो प्रचुर मात्रमा पौष्टिक तत्व पाइने भएकाले सुत्केरी, बिरामी समेतलाई खुवाइने गरिन्छ । नेपालमा वार्षिक करिब १२०० मेट्रिक टन कुरिलो उत्पादन हुने गरेको छ ।
पनिर
अधिकांश साकाहारीहरुको रोजाइमा पर्ने अर्को तरकारी हो पनिर । यसको मूल्य पनि कुखुरा, राँगा र बंगुरको मासुकोभन्दा धेरै रहेको छ भने खसीकोभन्दा सस्तो रहेको छ ।
बजारमा पनिरको भाउ प्रतिकिलो ७०० रुपैयाँदेखि ८०० रुपैयाँसम्म रहेको छ । यो कुखुराको मासुभन्दा दोब्बरभन्दा धेरैले महँगो हो ।
पनिरमा पनि मासुमा जत्ति प्रोटिन पाइन्छ । साथै शरिरलाई आवश्यक पर्ने फ्याट पनि पाइन्छ ।