दाङ र हेटौंडाबाट आइपुगे दशैंका खसीबोका, प्रतिकिलो मूल्य कति ? (फोटोफिचर)

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसीबोका काठमाडौं ल्याइपुर्याएको छ । कम्पनीले बिहीबार दाङ र हेटौंडाबाट पहिलोचरणमा ७३० वटा खसीबोका ल्याएको हो ।

 

उक्त खसीबोका शुक्रबारदेखि नै विक्री सुरु गरिएको खाद्य कम्पनीले जानकारी दिएको छ । खाद्यले वाग्मती प्रादेशिक केन्द्र थापाथलीबाट खसीबोका विक्री गरेको हो ।

खाद्य कम्पनीका वरिष्ठ सहायक अधिकृत ललितकुमार यादवले पहिलो चरणमा ७३० वटा खसीबोका ल्याइएको जानकारी दिए । कम्पनीले १७०० खसीबोका ल्याउने भए पनि पहिलो चरणमा ७३० खसीबोका ल्याइएको बताए । अरु खसीबोका आउने क्रममा बाटोमा रहेको उनले जानकारी दिए ।

 

हामिले दशैंका लागि १७०० खसीबोका ल्याउने योजना छ । सोही अनुरुप पहिलो चरणमा ७३० वटा ल्याएर विक्री सुरु गरेका हौं, उनले चाणक्य पोष्टसँग भने, बाँकी खसीबोका ढिलोमा आइतबारसम्म आइपुग्छन् ।

कम्पनीले दशैंका लागि दाङबाट १ हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने भएको हो । कम्पनीले सबै खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र विक्री गरिने जनाएको छ । जसको लागि भेटनरी डाक्टर साथैमा राखिएको छ ।

 

खाद्य कम्पनी लिमिटेडले यस वर्ष पनि दशैंका लागि च्याङ्ग्रा भने विक्री वितरण नगर्ने भएको छ । दशैंका लागि च्याङ्ग्राको विक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण विक्री नगर्ने भएको हो ।

 

किलोमा १० रुपैयाँ छुट

 

खाद्य कम्पनीले जिउँदो खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएर विक्री गरिरहेको छ । खसी किन्न कम्पनीको कार्यालय थापाथली जाने ग्राहकले किलोमा १० रुपैयाँ छुट पाउने भएका हुन् ।

खाद्य कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६५० रुपैयाँ तोकेको छ । त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिई प्रतिकिलो ६४० रुपैयाँमा विक्री गरिरहेको हो ।

व्यवसायीद्धारा मासुको मूल्य निर्धारण

 

यता मासु व्यवसायीहरुले गत बिहीबार नै दशैँका लागि मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपीे आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका छन् ।

व्यापारिहरुले आन्द्राभुँडी राखिएको मासु प्रतिकिलो १ हजार, बोसो राखिएकाको १ हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य १ हजार ३०० निर्धारण गरिएको हो ।यस्तै कुखुराको मासु प्रतिकिलो ३०० तथा रागाँ र बङ्गुरको मासु ५००/५०० तोकेका छन् ।

 

राष्ट्रिय मासु व्यवसायी सङ्घले फूलपातीका दिनदेखि लागू हुने गरी काठमाडौँ उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको छ ।

३ महिनापछि मन्त्रिमण्डलले पायो पूर्णता, को कुन मन्त्री बने ? (सूचीसहित) Read Previous

३ महिनापछि मन्त्रिमण्डलले पायो पूर्णता, को कुन मन्त्री बने ? (सूचीसहित)

शिवम् सिमेन्टले घोषणा गर्‍यो अहिलेसम्मकै धेरै लाभांश Read Next

शिवम् सिमेन्टले घोषणा गर्‍यो अहिलेसम्मकै धेरै लाभांश