काठमाडौं । दशैं लागेसँगै उपत्यकाका मानिसहरूको बाक्लो चहलपहल हुन थालेको छ । खुद्रा बजारदेखि ठूला शपिङ मलसम्ममा किनमेल गर्नेको भीड बढ्न थालेको हो ।
यसैक्रममा, ग्राहकलाई आकर्षित गर्न काठमाडौं उपत्यकामा संचालित ठूला शपिङ मलहरूले विभिन्न अफर ल्याएका छन् । मलहरूले सामान खरिदमा छुटदेखि बम्परमा विभिन्न उपहार पाउने अफर ल्याएका हुन् ।
मलहरूले व्यापार बढाउन हरेक वर्ष दशैं,तिहारमा विभिन्न प्रकारका छुट र अफरहरू ल्याउने गरेका हुन् । कोरोनाका कारण विगतको तुलनामा व्यापार सुस्ताए पनि मलहरूले चलयमान बानउन अफर ल्याएका हुन् ।
मलहरूले लत्ताकपडा, विद्युतीय सामग्री, घरायसी लगायत सामान खरिदमा ५० प्रतिशतसम्म छुटको अफर ल्याएका छन् । साथै, लक्की ड्रबाट बम्परमा पोखरा, चितवन लगायत घुम्नेदेखि स्कुटर, मोटरसाइकलसम्मका उपहार राखेका छन् ।
केही समय अघिसम्म सुनसान मलहरूमा दशैं सुरू भएयता भीड देखिन थालेको छ । सामान किन्ने धेरै मानिस नआउने भए पनि घुम्न र हेर्न आउने ग्राहक धेरै रहेको व्यापारीहरू बताउँछन् ।
कुन शपिङ मलको कस्तो अफर ?
सिटी सेन्टर : कमलपोखरीस्थित सिटी सेन्टरले दशैं–तिहार लक्षित योजनाहरू ल्याएको छ । मलले सामान किन्दा ५० प्रतिशतसम्म छुटदेखि ‘लक्की ड्र’मा पोखरा घुम्ने अवसरका अफरहरू ल्याएको हो ।

यस्तै, सिटीले लत्ताकपडा लगायत सामन खरिदमा ‘बाइ वान गेट वान फ्री’ लगायतका छुट योजनाहरू पनि ल्याएको छ । असोज १६ गतेदेखि सुरू भएको यस योजनाबाट जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ । यो योजना २४ कार्तिक २०७८ (छठ पर्व)सम्म चल्ने छ ।
ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ भौचरका साथै ‘विक्ली लक्की ड्र’ तथा ‘ग्राण्ड लक्की ड्र’मा समावेश गराइने छ । लक्की ड्रको कुपनमार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने मलले जनाएको छ ।
भाटभटेनी सुपरमार्केट : देशभर डेढ दर्जन शाखा रहेको भाटभटेनी सुपरमार्केटले पनि विभिन्न छुटको अफर ल्याएको छ । भाटभटेनी लत्ताकपडा खरिदमा ५ प्रतिशतसम्म छुट दिएको छ । यस्तै विद्युतीय सामग्र्रीमा १५ देखि २० प्रतिशत छुटकोे व्यवस्था रहेको भाटभटेनी सुपरमार्केटले जनाएको छ ।
यस्तै, खाद्यान्नमा पनि वस्तु अनुसार छुटको व्यवस्था गरेको छ । हर्लिक्स किन्दा स्कुुटर उपहार, स्याफ्रोनको सामान किन्दा बच्चाको गाडी उपहार, बाल्ट्राका सामानमा वासिङ मेसिन उपहारको व्यवस्था गरेको छ । यो अफर देशैभरका सबै शाखामा दशैंभरी लागू हुने कम्पनीले जनाएको छ ।
केएल टावर : चाबहिलस्थित केएल टावरले दशैंतिहारका लागि ‘रमाइलो दशैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरू पाउने छन् ।
केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, १ हजार रूपैयाँ बराबरको शपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरू उपलब्ध गराइने छ ।

१ हजार रूपैयाँ वा सो भन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रूपमा सिजी ब्राण्डका होम अप्लाइन्सेज, टीभी, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेशिन, आइरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ ।
बम्पर प्राइजमा एक जनालाई टीभीएस अपाचे आरटीआर १६० भी २ मोटरसाइकल वितरण गरिने उपहार योजनाका संयोजक हिरामणी तिमिल्सिनाले बताए । चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ टावरले उपहार योजना सुरू गरेको उनले बताए । असोज १९ गतेदेखि सुरू भएको योजना कात्तिक ३० गतेसम्म लागू हुने तिमिल्सिनाले जानकारी दिए ।
उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा १ हजार रूपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । १ हजार वा सोभन्दा बढीको सामान खरिद गरे पछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ ।

साथै, केएल टावरमा घटस्थापनादेखि सिनेमाहलहरू समेत खुलेका छन् । टावरमा ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् ।
लोत्से मल : नयाँ बसपार्कस्थित लोत्से मलले दशैंतिहारको अवसरमा २५ प्रतिशतसम्म छुटको अफर ल्याएको छ । केहीसमय अघि संञ्चालनमा आएको यस मलले शपिङ गर्ने ग्रहाकहरूका लागि छुटको व्यवस्था गरेको जनाएको हो ।
साथै, मलले दशैंमा मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज मेला पनि सुरू गरेको छ । उक्त योजना असोज २० देखि २५ गतेसम्म लागू हुने मलले जनाएको छ । टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेलामा ग्रहाकहरूले आफ्नो पुरानो स्कुटर वा मोटरसाइकल एक्सचेन्ज गरी नयाँ लिनसक्ने छन्् ।
सिभिल मल : काठमाडौँको सुन्धारास्थित सिभिल मलले ‘दशैंँ तिहार उपहारको बहार’ अफर ल्याएको छ । मलले बम्पर उपहार अन्तर्गत ३२ इन्चको टीभी, रेडमी ए नाइन स्मार्ट फोेन, मिक्सर, ग्यास स्टोभ लगायत उपहार राखेको छ । उक्त अफर २२ कार्तिक सम्म लागू हुने मलले जनाएको छ ।
यस्तै, मलले ‘दशैं तिहार महोत्सव २०७८’ अन्तर्गत टीभीएस अपाचे १६० सीसीको आरटीआर मोटरसाइक र १२५ सीसिको स्कुटर, हरेक हप्ता १० हजार नगद अफर ल्याएको छ ।
बीजी मल : गोंगबु नयाँ बसपार्कमा रहेको यस मलले ‘हरेक हप्ता उपहारै उपहार’ अफर ल्याएको छ । बीजीमलमा सामन किन्नेहरूका लागि हरेक हप्ता उपहारको व्यवस्था गरेको छ ।

जसअन्तर्गत ग्राहकले हरेक हप्ता सीजीको होम अप्लायन्स टिभी र १२५ सीसीको स्कुटर जित्नसक्नेछन् । अफर असोज २० देखि कार्तिक ३० सम्म लागू हुने मलले जनाएको छ ।
आइप्लेक्स मल : नयाँ बाँनेश्वरस्थित आइप्लेक्स मलले सामान खरिदमा नगद छुटसहित लक्कि ड्र अन्तर्गत १२५ सीसीको स्कुटर बम्पर उपहार योजना ल्याउको छ । मलका अनुसार ग्रहाकले साप्ताहिक रूपमा रेफ्रिजेक्टर, टिभी उपहार प्राप्त गर्ने छन् ।
ग्रहाकले १ हजार सोभन्दा माथिको सामान खरिद गर्दा कुपन प्राप्त गर्ने व्यवस्थापनले जनाएको छ । अफर योजना दशैं तिहार भर लागू हुने कम्पनीले जनाएको छ ।
यसैगरी, सिटीसी मल, शेर्पा मल, आरबी कम्प्लेक्स, विशाल बजार लगायत शपिङ मलहरूले पनि विभिन्न छुट तथा बम्पर उपहार योजना ल्याएका छन् ।