काठमाडौं । पछिल्लो समय खाना पकाउने एलपी ग्यासको खपत ह्वात्तै बढेको छ । चाडवाड नजिकिनु, देशभरका होटल, रेष्टुरेण्ट लगायत धेरै ग्यास खपत हुने ठाउँहरू पूर्ण रूपमा संचालनमा आउनाले खपत बढेको हो ।
लकडाउनको बेला ३४ प्रतिशतभन्दा धेरैले घटेको एलपी ग्यासको खपत हाल २५ प्रतिशतले बढेको ग्यास व्यवसायी तथा नेपाल ग्यास उद्योग संघका उपसचिव कृष्णभक्त श्रेष्ठले बताए ।
उनले हालको अवस्थामा ग्यास उद्योग फुल फेजमा सञ्चालनमा रहेको उनले बताए । चाडवाडसँगै जाडो पनि सुरू हुन थालेकाले ग्यासको खपत बढ्न थालेको उनले बताए ।
‘कोरोनामा सुरूमा एकैपटक धेरै ग्यास खपत भयो, त्यसपछि ३/५ महिना विक्री नै भएन, त्यसबेला ३४ प्रतिशत भन्दा बढि खपत कम भएको थियो,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ‘अब सबै सामान्य अवस्थामा फर्किसकेका छौँ, चाडपर्वले गर्दा खपत पनि बढिरहेको छ ।’
नेपालभर ५८ वटा ग्यास उद्योग रहेको छ । देशभर मासिक ४५ हजारदेखि ५० हजार मेट्रिकटन ग्यास खपत हुने उनले बताए । काठमाडौं उपत्यका भित्र मात्र ६० प्रतिशत ग्यास खपत हुने उनले जानकारी दिए । उनले चाडपर्वले ग्यास खपत बढे पनि जाडो महिनामा थप १० प्रतिशतले ग्यासको खपत बढ्ने बताए ।
आयात बढ्दो
वर्षेनीखाना पकाउने ग्यासको आयात बढ्दो क्रममा रहेको छ । सरकारले ग्यासको विकल्पमा विद्युत्ीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष ग्यासको आयात बढेको हो ।
चालु आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ९९ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको खाना पकाउने ग्यास (एलपीजी) आयात भएको छ । सो मूल्यमा ८ करोड २८ लाख ४९ हजार ५३८ केजी एलपी ग्यास आयात भएको छ । उक्त ग्यास आयातका क्रममा १ अर्ब ४९ करोड ६ लाख ९ हजार रुपैयाँ भन्सार कर संकलन भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा ३६ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको थियो । सो मूल्यमा ४७ करोड ३४ लाख २२ हजार केजी ग्यास आयात भएको हो । उक्त ग्यास आयातका क्रममा ६ अर्ब ७४ करोड २७ लाख ३६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा कुल ३० अर्ब ७३ करोड १० लाख रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको छ । सो मूल्यमा ४ लाख ४९ हजार ६३ मेट्रिकटन ग्यास आयात भएको हो । उक्त ग्यास आयातका क्रममा सरकारले ५ अर्ब ७३ करोड १५ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।
एलपीजी ग्यारको आयात हेर्ने हो भने वर्षेनी बढ्ने क्रममा रहेको छ । ग्यासको खपतसँगै ग्यास आयात समेत बढ्न गएको आयाल निगमले जनएको छ । आव २०७५/७६ मा ४ लाख २९ हजार ६ सय ९ मेट्रिकटन ग्यास आयात भएको थियो । विगत १० वर्षमा २८ लाख १५ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको छ ।
इन्डक्सन चुलोको प्रयोग कागजमै सीमित
सरकारले नेपालमा विद्युत् उत्पादन बढाई खपत बढाउन इडक्सन चुलोको प्रयोग बढाउने घोषणा गरेको थियो । तर, बजेटमा लिखित रुपमा आएको यी कुरा कार्यान्वयनमा भने आउन सकेका छैनन् ।
ऊर्जा मन्त्रालयबाट यस्ता कुनै कार्याक्रम प्रस्ताव आएको छैन भने विद्युत् प्राधिकरणबाट समेत कार्यान्वयनका लागि केही हुन सकेको छैन ।
नेपालमा चालु आर्थिक वर्षमा १ करोड ७२ लाख ५५ हजार रुपैयाँ बराबरका ७ हजार २९० पिस इडक्सन चुलो आयात भएको छ । सो आयात बापत सरकारले २४ लाख ३९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
गत आर्थिक वर्षमा कुल २४ करोड ३७ लाख ६२ हजार रुपैयाँ बराबरको इन्डक्सन आयात भएको थियो सो मूल्यमा १ लाख ५२ हजार ५८८ थान इन्डक्सन चुलो आयात भएको थियो ।