काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याउन लागेको खसीबोका शुक्रबार काठमाडौं आइपुग्ने भएको छ ।
३ करोड ३० लाख रुपैयाँ लगानीमा ल्याउन लागेको २ हजार खसीबोकाको मूल्य ल्याएपछि मात्र निर्धारण गरिने खाद्य कम्पनीकी सूचना अधिकारी शर्मीला न्यौपानेले बताइन् ।
दाङबाट १ हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने तयारी भएको उनले बताइन् । उनले आवश्यकता अनुसार खसी÷बोकाको संख्या थपघट हुन सक्ने बताइन् ।
‘खसीबोका शुक्रबारसम्म काठमाडौं आइपुग्छ होला, ल्याएपछि खरिद मूल्य अनुसार बजार मूल्यभन्दा केही कम मूल्य निर्धारण गर्ने छौँ, अहिले त्यस विषयमा केही भन्न सकिदैन,’ न्यौपानेले भनिन् ।
दुई जिल्लाबाट ल्याइएको खसी तथा बोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट शनिबारबाट विक्री सुरु गर्ने जनाएको छ ।
यसपालि च्याङ्ग्रा नआउने
खाद्य कम्पनी लिमिटेडले यस वर्ष पनि दशैंका लागि च्याङ्ग्रा विक्री वितरण नगर्ने भएको छ । दशैंका लागि च्याङ्ग्राको विक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण विक्री नगर्ने भएको हो ।
बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैंमा खसीबोका तथा च्याङ्ग्राको विक्री वितरण गर्दै आएको भएतापनि यसवर्ष खसी÷बोका मात्र विक्री हुने कम्पनीका सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा विक्री वितरण गर्नुभन्दा नल्याउने निर्णय भएको हो । ‘एक हजार च्याङ्ग्रा ल्याउने निर्णय अनुसार हामीले तयारी थालेका थियौँ, कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर ल्याइएन,’ उनले भनिन् । कम्पनीले गत वर्षको दशैंमा पनि च्याङ्ग्राको मूल्य बढेको भन्दै विक्री वितरण गरेको थिएन ।
मुस्ताङबाट च्याङ्ग्रा नआए पनि दाङ र मकवानपुरको पहिलो लटमा १ हजार ७०० खसी तथा बोका ल्याउने तयारी पूरा भएको जनाएको छ ।