काठमाडौं । विगतका वर्षहरुका आकाशभरी झिलिमिली उड्ने चङ्गाले दशैं आएको संकेत गर्थे । चङ्गा चैटको आवाज गुञ्जायमान हुन्थ्यो अनि मन्द हावामा उडेका रंगीचंगी चङ्गाले दशैं आएको माहोल बनाउथे ।
तर, यो वर्ष दशैं नजिकै आइसक्दा पनि आकाशमा चङ्गा उडेका छैनन् । आकाशमा रंगीविरंगी चङ्गा नउड्नुले चङ्गाको व्यापार नभएको पनि बुझ्न सकिन्छ ।
चङ्गा व्यापार नहुनुमा व्यापारीहरु चङ्गा उडाउने बालबालिकाहरु प्रविधिमैत्री बनेकाले व्यापारमा कमी भएको बताएका छन् । कोरोनाको कारण लामो समय भएको लकडाउनको बेला अनलाइन क्लास बस्नु पर्ने भएकाले पनि बालबालिकाहरु प्रविधिमा अभ्यस्त भएकाले पनि आकाशमा चङ्गा देखिएका छैनन् ।

अधिकांश बालबालिका तथा युवा पुस्ता अनलाइन गेम तथा सामाजिक संजालहरुमा व्यस्त हुन थालेकाले चङ्गा उडाउने कमी हुँदै गएको व्यापारीहरु बताउँछन् ।
प्रविधिको विकाससँगसँगै युवाहरुको त्यसप्रतिको आकर्षणक कम हुनुले चङ्गा उडाउने परम्परामा कमी आएको व्यवसायीहरु बताउँछन् । केही वर्षअघिसम्म निकै चर्चामा रहेको चङ्गा उडाउने परम्परा अहिले आएर संकटमा पर्दै आएको व्यवसायीहरुको ठम्याइ रहेको छ ।

छैन व्यापार, सिजनमै सुनसान
काठमाडौंको सबैभन्दा धेरै भीडभाड हुने असन, भोटाहिटी, न्यूरोड, जमल,इन्द्रचोक लगायतका स्थानमा पनि चङ्गा, लट्टाइ र धागो व्यापारको चहलपहल खासै छैन ।
भोटाहिटीस्थित चङ्गा व्यापारी मैयाँ चित्रकारले यो वर्ष चङ्गा व्यापार घटेको बताइन् । ‘ विगतका वर्षहरुमा दशैं आउनुभन्दा अघिदेखि नै बजारमा चङ्गा, लट्टाइ र धागाको व्यापार धेरै हुन्थ्यो, तर यो वर्ष चङ्गा व्यापार नै छैन,जम्मा ३० प्रतिशत मात्र छ व्यापार’ उनले चाणक्य पोष्टसँग भनिन् ।

विगत चार पुस्तादेखि चङ्गा, लट्टाइ र धागोको व्यापार गर्दै आएको बताउने व्यापारी धु्रव श्रेष्ठ आफ्नो सम्झनामा रहे सम्म यो वर्ष मात्र चङ्गा व्यापार नभएको बताउँछन् । दशैं आउनु अघिबाटै बजारमा चङ्गाको व्यापार र आकाशभरी चङ्गा उड्ने बताउने उनी अहिले कुनै चहलपहल नभएको बताउँछन् ।
‘आकाशमा चङ्गा उडेको देख्नु भएको छ, चङ्गाको व्यापार कस्तो होला आफैं पनि अनुमान लगाउन सक्नु होला नि ?,’ उनले प्रतिप्रश्न गरे, ‘अहिलेका बच्चाहरु मोबाइल,कम्प्युटर जस्ता प्रविधिमा व्यस्त छन्, इन्टरनेटमा नपाइने के होला चङ्गा उडाउने मान्छे प्रविधिमा लागे ।’

यता अर्का व्यापारी इन्द्रमान महर्जन चङ्गा व्यापार नभएको बताउँदै होसेलमा पनि १/२ वटा चङ्गा बेच्ने गरेको बताउँछन् । ‘चङ्गा व्यापार नै छैन, १/२ चङ्गा दिनुन भनेर नि आउछन्, होलसेल भए पनि व्यापार नभएकाले बेच्ने गरेको छु,’ उनले भने ।
बजारमा ७ हजारसम्मका चङ्गा
बजारमा चङ्गाको गुणस्तर र लट्टाइ अनुसार मूल्य रहेको छ । बजारमा न्यूनतम २५० रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मा चङ्गा उपलब्ध रहेको व्यापारीहरु बताउँछन् ।

बजारमा प्रतिगोटा ५ रुपैयाँदेखि २ हजार रुपैयाँसम्मका चङ्गा र २५० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको लट्टाइ पाइन्छ । व्यापारीका अनुसार पाण्डा धागो लट्टाइको लागि सबैभन्दा धेरै राम्रो मानिन्छ ।
एकीन तथ्यांक नरहे पनि नेपालमा वार्षिक १० करोड हाराहारीमा चङ्गा आयात हुने बताइएको छ ।
