होटल व्यवसायीले धमाधम ल्याउन थाले अफर, कुन होटलको कस्तो छ प्याकेज ?

काठमाडौं । चाडवाड नजिकिएसँगै आन्तरिक पर्यटकलाई लक्षित गर्दै काठमाडौंबाहिरका पर्यटकीयस्थलका होटलहरूले विभिन्न प्याकेज ल्याउन थालेका छन् ।

 

देशका प्रमुख पर्यटकीय गन्तव्यहरू पोखरा, सौराहा, मेघौली, लुम्बिनी लगायतका गन्तव्यका होटलहरूले आन्तरिक पर्यटकलाई आकर्षित गर्न विभिन्न अफर ल्याउन थालेका हुन् ।

 

केही होटेलहरूले प्याकेज ल्याइसकेका छन् भने केही प्याकेज ल्याउने बारेमा छलफल गर्न थालेका छन् । दशैं–तिहारमा घुम्न आउने आन्तरिक पर्यटकहरूलाई लक्षित गर्दै विभिन्न पर्यटकिय गन्तव्यका होटेलहरूले प्याकेज ल्याउने तयारी गर्न थालेका हुन् ।

 

दुई वर्षदेखि कोरोना महामारीले ठप्प बनेका व्यवसायहरू उकास्न होटेलहरूले विभिन्न छुट प्याकेजका सुविधा ल्याउने तयारी गरिएको व्यवसायीहरू बताउँछन् । दशैं तिहारको अवसरमा होटेलहरूमा प्याकेज सुुविधा ल्याउने विषयमा छलफल भइरहेको होटेल व्यवसायी महासंघका अध्यक्ष हरिध्वज शाहले बताए ।

 

‘दुई दिन बस्ने पर्यटकका लागि एक छाकको खाना निःशुल्क गर्ने भन्ने प्याकेज देशैभर गर्ने भन्ने कोर्ष बनाएका छौं, अहिले हामी छलफल गरिरहेका छौं,’ उनले चाणक्य पोष्टसँग भने ।

 

होटल व्यवसायीहरूको छाता संगठन होटेल व्यवसायी महासंघले दशैैं र तिहारको बीचमा प्याकेज ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए । सरकारले आन्तरिक पर्यटन विकासको लागि घोषणा गरेको प्याकेजको व्यवस्थालाई समेत समेट्ने गरी दशैं–तिहारको बीचमा छुटको व्यवस्था गर्ने उनको भनाइ छ ।

 

चौपट व्यवसाय लयमा फर्कने आशा

 

आन्तरिक पर्यटन विकास र होटल व्यवसाय उकास्नका लागि प्याकेज ल्याउनै पर्ने महासंघका अध्यक्ष शाहले बताए । ‘बन्द अवस्थामा रहेका सबै व्यवसाय पछिल्लो समय तंग्रिन्छन् भन्ने आशामा छौं,’ उनले भने, ‘हामीले होटल, पर्यटन र ट्याक्सी व्यवसायी बसेर प्याकेजको लागि आन्तरिक गृहकार्य गरिरहेका छौं ।’

दुई वर्षदेखि कोरोनाका कारण विदेशी पर्यटक आवगमन ठप्प बनेपछि होटेल व्यवसाय पनि बन्द हुने अवस्थामा पुगेका छन् । यसरी महामारीको चपेटामा परेका कतिपय साना तथा मझौला व्यवसाय भने विस्थापित समेत भए ।

 

साना तथा मझौला गरेर देशभर ३० प्रतिशतसम्म होटेल व्यवसाय बन्द भएको अध्यक्ष शाहले बताए । ‘कोरोना महामाारीको चपेटामा होटेल व्यवसायीहरू परेका छन् । साना तथाा मझौला गरी ३० प्रतिशतसम्म व्यवसाय बन्द भए,’ उनले भने ।

 

कतिपय व्यवसायीले भाडा तिर्न नसकेर सामानै छोडेर हिँड्नु परेको उनको भनाइ छ । राहत तथा कर्जाको लागि सरकारलाई ज्ञापन पत्र बुझाए पनि साना मझौला व्यवसायहरूलाई केही प्राप्त नभएको उनले बताए ।हाल देशभर साना, मझौैला र ठूला गरेर ८० हजार होटेल व्यवसाय सञ्चालनमा रहेका छन् ।

 

कुन ठाउँका होटलमा कस्ता छन् प्याकेज ?

 

नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरू मध्ये पोखरा, लुम्बिनी र चितवन विशेष मानिन्छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेका यी गन्तव्यहरू कोरोनाकालमा भने ठप्प नै रहे ।

 

पछिल्लो समय मानिसहरूको चहलपहल बढ्दै गएको छ । नजिकिँदै गरेको दशैं–तिहारको अवसरमा यी गन्तव्यका केही होटेलहरूले प्याकेज समेत ल्याएका छन् ।

 

होटेल चेरी गार्डेन : पर्यटकीय गन्तव्य पोखरास्थित होटेल चेरी गार्डेनले १० प्रतिशतसम्म छुट प्याकेज ल्याएको छ । उक्त होटेलले दशैं तिहारको अवसरमा आउने पर्यटकहरूका लागि छुटको व्यवस्था गरेको हो । प्रतिकोठा एकरातको २५०० रुपैयाँ रहेको होटेलको भनाइ छ ।

 

होटेल ह्वाइट प्यारल :  पोखरामा रहेको यस होटेलले पर्यटकहरूका लागि ब्रेक फास्टको निःशुल्क व्यवस्था गरेको जनाएको छ । होटेलका अनुसार एक रात बास बसेको ३५०० रुपैयाँ रहेको छ । जसमा ब्रेकफास्ट निःशुल्क पाइने जनाएको छ ।

 

सेन्ट्रल पाम्स होटेल : चितवनस्थित यस होटेलले एकदिनको ३५०० देखि ४ हजारसम्म रुम उपलब्ध गराउने जनाएको छ । होटेलका अनुसार जसमा ५ प्रतशतसम्म छुट प्याकेजको व्यवस्था गरिएको छ ।

 

लुम्बिनी होटेल : लुम्बिनीमा रहेको यस होटेलले रुम भाडामा १०–१५ प्रतिशतसम्म छुट दिने जनाएको छ । होटलमा २ हजारदेखि ५ हजारसम्मका रुम रहेका छन् ।

 

होटेल मिडल पथ : पोखरास्थित यस होटेलले १० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । होटेलका अनुसार डबल रूमको एकरातको चार्ज ३४६० रहेको छ ।

 

होटेल आईस ल्यान्ड : पोखरामा रहेको यस होटेलले पनि ८ देखि १० प्रतिशतसम्म छुटको अफर ल्याएको छ । होटलले रुम चार्जमा छुट दिने जनाएको हो । होटेलका अनुसार एकदिनको न्यूनतम रुमचार्ज ३९४० रहेको छ । साथै, अन्य सेवा सुविधाहरू छुट रहेको होटलले जनाएको छ ।

 

होटेल जंगल क्राउन : चितवनमा रहेको यस होटेलले फ्री ब्रेकफास्टको व्यवस्था गरेको छ । होटेलका अनुसार बास बस्नेहरूका लागि निःशुल्क ब्रेकफास्ट पाउने छन् । होटलमा बास बसेको एकरातको न्यूनतम ४७०० देखि सुविधा अनुसारको मूल्य रहेको छ ।

 

यसरी हेर्दा ठूला होटेलहरूले अझै विशेष प्याकेजहरू बनाइसकेका छैनन् भने साना होटेलहरूले पनि अलि भिन्न खाले प्याकेज बनाउने लेठो गरेका छैनन् । माथि उल्लेखित साना र मझौला खाले होटेलहरूले अति सामान्य ढंगले छुटको व्यवस्था गरेको बताएका छन् भने ठूला होटेलहरूले अझै पनि प्याकेज बनाइसकेका छैनन् ।

 

‘लामोसमय हाम्रो व्यवसाय ठप्प रह्यो । अहिले पनि पर्यटक आउने हो की होइनन् केही थाहा छैन । त्यसैले राम्रा राम्रा प्याकेजहरू बनाउने पनि खासै जाँगर छैन । मैले पनि त्यसतर्फ चासो देखाएको छैन । साथीहरूको पनि अवस्था त्यही होला । अब विस्तारै सुरू गर्न पर्ला,’ पोखराका एक होटेल व्यवसायीले भने ।

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ८४ प्रतिशत पूरा, कहिलेदेखि आउँछ संचालनमा ? Read Previous

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ८४ प्रतिशत पूरा, कहिलेदेखि आउँछ संचालनमा ?

सिभिल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

सिभिल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?