पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ८४ प्रतिशत पूरा, कहिलेदेखि आउँछ संचालनमा ?

काठमाडौं । पटक पटक म्याद थपिएको पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्म आयोजनाको ८४ प्रतिशत काम सकिएको जानकारी दिए ।

 

गत साउनमा सम्पन्न हुनुपर्ने आयोजना कोभिड–१९ का कारण निर्धारित समयमा पूरा नभएको उनले बताए। आयोजना प्रमुख मुनकर्मीका अनुसार आयोजनाको म्याद एक वर्ष थप भएकाले यस अवधिमा सबै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा आउने बताए ।

 

विमानस्थलको दुई हजार ५०० मिटर लामो रनवे गत वर्षनै सम्पन्न भएको छ । टर्मिनल भवन एटिसी टावर, ह्याङ्गरलगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर फिनिसिङ र इलेक्ट्रिक जडान कार्य भइरहेको छ ।

 

यसैगरी ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायतका काम सम्पन्न भएको आयोजनाले जनाएको छ । जग्गा अधिग्रहणको ९९ प्रतिशत कार्य सकिएको बताइन्छ । विमानस्थल ३ हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । २२ अर्ब रुपैयाँको लगानीमा चीनको सीएएमसी इञ्जिनीयरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ ।

 

रिठ्ठेपानी डाँडा कटान, ल्याडफिल साइट र आयल निगमको डिपो निर्माण लगायतका काममा ढिलाइ भएकाले आवश्यक सहयोग र समन्वयका लागि आयोजना प्रमुख मुनकर्मीले निरीक्षणमा पुगेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग आग्रह गरे।

 

उनले भने, ‘एप्रोचमा पर्ने रिठ्ठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र आयल डिपोको काम ठोसरूपमा अघि बढ्न सकेको छैन । प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेका छौँ ।’

 

मुख्यमन्त्री पोखरलले थप भएको समयभित्रमा विमानस्थलको काम सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । विमानस्थलको निर्माणमा अहिले देखिएका समस्या समाधानका लागि सङ्घीय सरकारसँग समेत समन्वय गरिने उनले बताए।

‘आइएमई पे’ र नियोटेरिक नेपाल बीच सम्झौता Read Previous

‘आइएमई पे’ र नियोटेरिक नेपाल बीच सम्झौता

होटल व्यवसायीले धमाधम ल्याउन थाले अफर, कुन होटलको कस्तो छ प्याकेज ? Read Next

होटल व्यवसायीले धमाधम ल्याउन थाले अफर, कुन होटलको कस्तो छ प्याकेज ?