काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दशैंका लागि च्याङ्ग्रा विक्री वितरण नगर्ने भएको छ । दशैंका लागि च्याङ्ग्राको विक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण विक्री नगर्ने जनाएको हो ।
बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैंमा खसी बोका तथा च्याङ्ग्राको विक्री वितरण गर्दै आएको भएतापनि यसवर्ष खसी÷बोका मात्र विक्री हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा विक्री वितरण गर्नुभन्दा नल्याउने निर्णय भएको हो । ‘एक हजार च्याङ्ग्रा ल्याउने निर्णय अनुसार हामीले तयारी थालेका थियौँ, कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बत्बाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर ल्याइएन,’ उनले भनिन् । कम्पनीले गत वर्षको दशैंमा पनि च्याङ्ग्राको मूल्य बढेको भन्दै विक्री वितरण गरेको थिएन ।
मुस्ताङबाट च्याङ्ग्रा नआए पनि दाङ र मकवानपुरको पहिलो लटमा १ हजार ७०० खसी तथा बोका ल्याउने तयारी पूरा भएको जनाएको छ ।
सूचना अधिकारी न्यौपानेले दाङबाट एक हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने तयारी भएको जनाउँदै आवश्यकता अनुसार थप खरिद गर्ने जानकारी दिइन् । दुई जिल्लाबाट ल्याइएको खसी तथा बोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट फूलपातीको दिनबाट विक्री सुरु गर्ने जनाएको छ ।
कम्पनीले दशैंका लागि प्रति किलो खसी तथा बोकामा १० रुपैयाँ छुट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ विक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा ५ रुपैयाँ तथा भटमासको तेल र कर्णीको सिमिमा १० रुपैयाँ छुट दिएको छ ।