काठमाडौं । आँखुखोला हाइड्रो प्रालिद्धारा प्रवद्धित माथिल्लो आँखुखोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा अन्य ४ बैंकले ऋण लगानी गर्ने भएका छन् ।
धादिङको रुवीभ्याली र खनियाबास गाँउपालिकामा निर्माण हुने ३८ मेगावाट क्षमताको उक्त आयोजनामा सिटिजन्ससहति नेपाल एसबीआइ, नेपाल बङ्गलादेश, मेगा बैंक नेपाल र सिभिल बैंकले साढे ५ अर्ब ऋण लगानी गर्ने भएका हुन् ।
कम्पनी र बैंकहरु बीच मंगलबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर चएको छ । ७ अर्ब ३३ करोड रुपैयाँमा अनुमानित लागत रहेको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात् ५ अर्ब ५० करोड बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजनामा २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।
आयोजनाको निर्माण आगामी चार वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामा स्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र वर्खामा १५२.४३८ गिगावाट गरी वार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुनेछ ।