घिउको खपत बढ्यो, स्वदेशी उत्पादनले नै माग धान्ने

काठमाडौँ । पछिल्लो समय घिउको खपत बढेको छ । चाडवाड नजिकिएसँगै माग बढ्दा खपत पनि बढेको हो ।

 

घिउ विशेषगरी दशैं, तिहार र जाडोयाममा बढी खपत हुने गरेको व्यवसायीहरु बताउँछन् । नेपाल डेरी एसोसिएशनका महासचिव प्रह्लाद दाहाल लकडानमा ३५ प्रतिशतसम्म बजार घटेकोमा हाल ९० प्रतिशतसम्म खपत हुने गरेको बताउँछन् । घिउको उत्पादन दैनिक ३० हजार किलोग्रामसम्म हुने गरेको उनले बताए ।

 

‘लकडान अघि बजार घटेर ३५ प्रतिशतमा झरेको थियो,’ उनले भने, ‘पछिल्लो समय खपत बढ्दै गएर ९० प्रतिशतसम्म पुगेको छ, दशैँ तिहारमा पहिलेकै अवस्थामा फर्कन्छ ।’

 

यस्तै, डेरी एसोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटा चाडवाडको समयमा घिउको माग बढ्ने भएकाले खपत बढी हुने गरेको बताउँछन् । सापकोटोेका अनुसार नेपालमा वार्षिक रुपमा २५ सयदेखि ३ हजार मेट्रिकटसम्म घिउ खपत हुनेगरेको छ ।

 

‘सामान्य अवस्था भन्दा चाडपर्वमा माग बढ्छ । माछा,मासु नखाने मान्छेले घिउबाट बनेका परिकारको माग गर्ने भएका कारण यो सिजनमा घिउको माग बढी हुने गरेको छ,’ उनले भने ।

 

यसैगरी दशैँ तिहारमा २० टनसम्म घिउ खपत हुने अनुमान गरिएको सुजल डेरीका सेल्स म्यानेजर दिनेश क्षेष्ठले बताए । ‘दशैँ तिहारमा २० देखि २५ टनसम्म घिउ खपत हुने अनुमान गरिएको छ । विशेषगरी तिज, तिहारको र जाडाको समयमा बढी खपत हुने गरेको छ,’ उनले भने ।

 

उनका अनुसार दूधडेरी, भाटभटेनी, बिगमार्ट लगायत स्थानबाट २ देखि ३ टनसम्म घिउ विक्री हुने गरेको छ ।यस्तै, जापान,अष्ट्रेलिया र अमेरिक लगायत मुलुकमा पनि घिउ निर्यात हुने गरेको छ ।

 

पूर्वाधार नहुँदा छैन धेरै स्टक

 

दशैँ, तिहारमा घिउको माग बढे पनि उत्पादकहरुसँग स्टक राख्ने क्षमता भने छैन् । सुजल डेरीका सेल्स म्यानेजर दिनेश क्षेष्ठ घिउ स्टक राख्ने संरचना नभएको बताउँछन् ।

 

‘थानकोटमा स्टक राख्दैनौँ, अर्डर आएपछि पोखराबाट ल्याएर दिन्छौं । धेरै स्टक राख्ने संरचना छैन् । अर्डर आएपछि २४ घण्टा भित्र तयार बनाउँछौं,’ उनले चाणक्य पोष्टसँग भने । सुजल डेरीले दैनिक ४०० देखि ५०० केजीसम्म घिउ उत्पादन गरिरहेको उनले बताए ।

 

एसोसिएशनका अध्यक्ष सापकोटाले करिब ३०० मेट्रिकटन घिउ स्टक रहेको जानकारी दिए । ‘करिब ३ सय मेट्रिकटन घिउ स्टक रहेको छ,त्यो सबै खपत हुन्छ,’ उनले भने । घिउको स्टक नभए पनि दशैं तिहारमा अभाव नहुने महासचिव दाहालको भनाइ छ ।

 

५० प्रतिशतले घट्यो आयात

 

नेपालमा दुग्धजन्य पदार्थको ८० प्रतिशत माग आन्तरिक उत्पादनले धानिरहेको छ । बाँकी २० प्रतिशत आयात गरेर आपूर्ति गरिँदै आइएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो समय घिउको आयात घटेकोे छ भने निर्यात बढेको छ । चालु आर्थिक वर्षको भदौसम्ममा घिउको आयात झन्डै ५० प्रतिशतले घटेको हो ।

 

चालु आर्थिक वर्षको भदौसम्ममा ९१ लाख ९१ हजार रुपैयाँ बराबरको १४ हजार केजी घिउ आयात गरिएको थियो । सो अवधिमा १ करोड ४५ लाख रुपैयाँ बराबरको १६ हजार १२० केजी घिउ निर्यात गरिएको थियो ।

 

गत आर्थिक वर्ष २०७७/७८ मा ६ करोड ३ लाख ३ हजार रुपैयाँ बराबरको १ लाख १४ हजार केजी घिउ आयात गरिएको थियोे । सो अवधिमा १ करोड ७२ लाख रुपैयाँ बराबरको २४ हजार केजी निर्यात गरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

बढेन दुग्धजन्य पदार्थको मूल्य

 

दुई वर्षदेखि दुग्धजन्य पदार्थको मूल्य नबढेको उत्पादकहरुको भनाइ छ । प्रत्येक वर्ष बजार भाउ बढे पनि दुग्धजन्य वस्तुको मूल्य नबढेको एसोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

 

‘कर्मचारीको तलब भत्ता बढेको छ । पेट्रोलियम पदार्थको मूल्य वर्षमा १५/१६ पटक वृद्धि हुन्छ, तर दूधको मूल्य भने बढेको छैन्,’ उनले भने । दुग्धजन्य वस्तुको मूल्य बढाउन दुग्ध विकास संस्था मार्फत पहल गरिरहेको उनको भनाइ छ ।दुग्ध विकास संस्थाले किसानको लागत मूल्यको अवस्थाबारे अध्ययन गरिरहेको सापकोटाले जानकारी दिए ।

असोज २० देखि मध्य भोटेकोशीको आइपीओ खुल्ने, १० हजार कित्ता भर्न पाइने Read Previous

असोज २० देखि मध्य भोटेकोशीको आइपीओ खुल्ने, १० हजार कित्ता भर्न पाइने

माथिल्लो आँखुखोलामा सिटिजन्स बैंकको अगुवाइमा अन्य ४ बैंकले लगानी गर्ने Read Next

माथिल्लो आँखुखोलामा सिटिजन्स बैंकको अगुवाइमा अन्य ४ बैंकले लगानी गर्ने