हेटौँडा सिमेन्टले घटायो मूल्य, प्रतिबोरा कति ?

काठमाडौं । गुणस्तरीय सिमेन्ट उत्पादन र विक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ ।

 

निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा ४७ रुपैयाँ घटाएर ७०० रुपैयाँमा विक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए ।

 

यसअघि प्रतिबोरा ७४७ रुपैयाँमा सिमेन्ट विक्री हुँदै आएको थियो । हेटौंडामा निजी क्षेत्रबाट सञ्चालित सिमेन्ट उद्योगहरुले सिमेन्टको विक्री मूल्य कम गरेपछि हेटौंडा सिमेन्टले पनि मूल्य घटाएको उद्योग प्रशासनले जनाएकोे छ । अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ ।

 

हेटौँडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट प्रतिबोरा ७०० रुपैयाँ र शिवम् सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट प्रतिबोरा ६८० रुपैयाँ कायम गरी विक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो ।

 

प्राप्त जानकारी अनुसार हेटौंडा सिमेन्ट उद्योगलाई आर्थिक वर्ष २०७६/७७ मा २४ करोड र २०७५/७६ मा १६ करोड रुपैयाँ घाटा परेको थियो । लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटक–पटक बिग्रिनाका साथै विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र विक्री गर्न नसकिएको उद्योगका प्राविधिकको भनाइ छ ।

 

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पटक–पटक योजना र कार्यक्रम ल्याइए पनि कार्यान्वयनमा समस्या हुने गरेको उद्योगका प्राविधिकको भनाइ छ । उद्योगले आफ्नै खानीबाट चुनढुङ्गा, रातो माटोलगायत कच्चापदार्थमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ ।

केयूसँग मिलेर पुराना  डिजेल गाडीलाई इलेक्ट्रीक बनाउन अध्ययन थाल्दै साझा Read Previous

केयूसँग मिलेर पुराना डिजेल गाडीलाई इलेक्ट्रीक बनाउन अध्ययन थाल्दै साझा

डिशहोमको फाइबरनेट सेवा बिर्तामोडमा विस्तार Read Next

डिशहोमको फाइबरनेट सेवा बिर्तामोडमा विस्तार