केयूसँग मिलेर पुराना डिजेल गाडीलाई इलेक्ट्रीक बनाउन अध्ययन थाल्दै साझा

काठमाडौं । साझा यातायातले  पुराना डिजेल गाडीलाई इलेक्ट्रीक बनाउन अध्ययन सुरू गर्ने भएको छ । साझाले काठमाडौं विश्वविद्यालय (केयू)सँग सहकार्य गर्दै यस्तो अध्ययन अगाडि बढाउन लागेको हो ।

 

विश्वभर नै विद्युतीय यातायातको प्रयोग बढीरहेको अवस्थालाई मध्येनजर गर्दै ‘डिजेल गाडीलाई विद्युतीयमा परिवर्तन गर्न कसरी सकिन्छ ?’ भन्ने बारे अध्ययन सुरू गर्न लागेको साझाले जनाएको छ ।

 

साझा यातायाता संचालक समितिका सदस्य भुषण तुलाधारले  केयूका अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी पुराना डिजेल सवारीलाई विद्युतीय सवारीमा कन्भर्जन गर्ने लक्ष्य सहित अध्ययन सुरू गर्न लागेको बताए ।

 

नेपालमा २० वर्ष पुराना भाडाका सवारीसाधन चलाउन निषेध गरिएको छ । प्रदूषणको कारण देखाउँदै संचालनमा रोक लगाइएका धेरै सवारी साधन राम्रै अवस्थामा भए पनि थन्काउनु परेको अवस्था  र विद्युतीय सवारीको भविष्यलाई मध्यनजर गर्दै साझाले इलेक्ट्रीकमा परिवर्तन गर्ने तयारी गरेको उनले बताए ।

 

तुलाधारले २० वर्षे पुराना सवारीलाई विद्युतीय सवारीमा परिणत गर्न सके थन्किएका धेरै सवारी बाटोमा आउन सक्ने बताए । उनका अनुसार सुरूमा साझाका सवारीहरूलाई आउँदो ५ वर्षभित्र डिजेलबाट विद्युतीय सवारीमा कन्भर्जन गरिने छ । अध्ययन सफल भए साझाका पुराना सवारी साधनलाई विद्युतीय बनाइने छ । साझाका पुराना बस विद्युतीयमा परिवर्तन गर्ने काम सफल भए १० वर्षभित्र देशमा रहेका सबै २० वर्ष पुराना सवारीसाधन विद्युतीय बन्न सक्ने तुलाधरले बताए ।

 

‘हामी पहिला ५ वर्षभित्रमा आफैँ सेट हुन्छौं, अनि १० वर्षभित्र देशका अन्य सवारीलाई सेट गर्ने छौँ, अहिले रिसर्चको विषय मात्र हो,’ तुलाधारले भने । अब आउँदो १० वर्षमा नेपालमा गुड्ने धेरै सवारीसाधन विद्युतीय हुने अनुमानका साथ यस्तो अध्ययन सुरू गरिनुपर्ने उनले बताए ।

 

यसका लागि हालसम्म कुनै निकायले ध्यान दिएको छैन । अब विद्युतीय गाडीमा कन्भर्जनतर्फ नलाग्ने भए आगामी समयमा धेरै डिजेलका गाडीहरू म्याद सकिएकै कारण कवाडीमा फ्ल्नुपर्ने बाध्यता आउने उनले बताए ।

 

उनले यती ट्राभल्सको उदाहरण दिँदै भने ‘यति ट्राभल्सको २२ वटा गाडी २० वर्ष पुरानो भयो भनेर ग्यारेजमा थन्किएर त्यतिकै बसेका छन्, त्यसलाई कन्भर्जन प्रणालीमा लैजान सके धेरै राम्रो हुनसक्छ ।’

 

सवारी कन्भर्जनका लागि ब्याट्री र मोटर बाहिरबाट ल्याउनु पर्ने हुन्छ । त्यसका साथै सफ्टवेर अपडेट गर्नु पर्छ । जसका लागि लगानी आवश्यक पर्नेछ । उनले कन्भर्जनमा मान्छेहरूको जिज्ञासा बढ्दै गएकाले धेरैले यसमा चासो देखाउन थालेको बताए ।

 

सामान्यतया राम्रै बस समेत ७/८ वर्षपछि धेरै खर्चालु हुने गरेको उनी बताउँछन् । त्यस्ता सवारीलाई विद्युतीयमा कन्भर्ट गर्न सके धेरै सहज हुने उनले बताए । ‘विद्युतीय गाडीमा कन्भर्जन गर्नका लागि, सरकारले मापदण्ड बनाउनु पर्छ, त्यतिकै चलाउन दिनु भएन,’ तुलाधारले भने । यसका लागि लगानी गर्नेले कस्तो मोटर राख्नुपर्छ, कन्ट्रोल युनिटलगायतका सबै कुरालाई मध्येनजर गरेर तयारी गर्नुपर्ने उनले बताए ।

निजी क्षेत्रका संघसंस्थामा चुनाव हुन्छ, तर हारजित हुँदैन : वरिष्ठ उपाध्यक्ष ढकाल Read Previous

निजी क्षेत्रका संघसंस्थामा चुनाव हुन्छ, तर हारजित हुँदैन : वरिष्ठ उपाध्यक्ष ढकाल

हेटौँडा सिमेन्टले घटायो मूल्य, प्रतिबोरा कति ? Read Next

हेटौँडा सिमेन्टले घटायो मूल्य, प्रतिबोरा कति ?