काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् ।
यसैैक्रममा, हालसम्म ३ वाणिज्य बैंक र एक विकास बैंक गरी ४ वटा बैंकले लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा र माछापुच्छ्रे रहेका छन् । यस्तै, विकास बैंकतर्फ कामना सेवाले लाभांश घोषणा गरेको छ ।
हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमध्ये सानिमाले सबैभन्दा धेरै १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सानिमाले १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.८९ प्रतिशत नगद दिने घोषणा गरेको हो ।
यस्तै, सिटिजन्सले गत आवको वितरण योग्य मुनाफाबाट १२.९१ प्रतिशत बोनस सेयर र ३.०९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सिटिजन्स बैंकले गत वर्ष अन्य संस्थालाई प्राप्ति गरेकाले यसको लाभांशमा कर लाग्दैन ।
यसैगरी, माछापुच्छ्रेले गत आवको नाफाबाट १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत गरी कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै, कामना सेवा विकास बैंकले १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत गरी कुल १९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकहरुले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।