काठमाडौैँँ । रसुवागढी भन्सार नाकामा ३०० बढी कन्टेनर सामान अड्किएको छ । कोरोनाको कारण देखाउँदै चिनियाँ नाकाबाट अनुमति नपाउँदा ती कन्टेनरहरु रोकिएका हुन् ।
यसरी रोकिनेमा अधिकांश दशैंका लागि ल्याइएका लत्ता, कपडा लगायत सामग्री रहेका छन् । हाल चीनबाट दैनिक ८/१० वटा मात्र कन्टेनर नेपाल भित्रिने गरेको छ । कोरोना अघि केरुङ नाकाबाट दैनिक ५०/६० हाराहारीमा कन्टेनर भित्रिने गरेको थियो ।
चीनबाट सीमित कन्टेनर मात्र पठाइँदा दशैंको व्यापारमै धक्का पुगेको व्यवसायीहरु बताउँछन् । हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष कुमार क्षेष्ठ चाडपर्वका बेला पर्याप्त सामान आउनु पर्ने भए पनि दैनिक आयात हुने कन्टेनर संख्या कम हुँदा व्यापारी मारमा परेको बताए ।
कोरोना महामारी यता सुरु गरिएको कोटा प्रणाली अनुसार नै चिनियाँ पक्षले सामानका कन्टेनरहरु पठाइराखेको उनले बताए । ‘चीनले कोटा तोकेर सामानका कन्टेनर पठाइरहेको छ, उतै पट्टीको बेवास्ता हो, नत्र रोक्नुु पर्ने कुनै कारण छैन्,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।
उनले उद्योग वाणिज्य महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कन्टेनर आयात विषय जानकारी गराएको बताए । २०० कन्टेनर राख्ने क्षमता भए पनि चीनले कोरोना महामरीकै कारण देखाएर ३०० बढी कन्टेनर रोकेर राखेको उनले बताए ।
‘चाह्यो भने एकै दिन सयौँ कन्टेनर पनि पठाइदिने गरेको थियो । मन नलागे दिनमै एकदुई गरेर छोड्छ, ’ उनले भने । श्रेष्ठले हाल चीनले नेपाली व्यापारीलाई उक्त क्षेत्रमा जान निषेध गरिएको बताए । चीनबाटै कन्टेनर चेकजाँच गरेर पठाइने गरेको उनले जानकारी दिए ।
विशेषगरी चाडपर्वका लागि मगाइएका अर्बौँ लागतका सामान रोकिएर बसेको उनको भनाइ छ । ‘नाका रोकिएका सामान अबको १०/१५ दिनभित्र आइपुग्नु पर्ने हो, समयमा नआए जुत्ता,चप्पल, कपडा लगायत सामानको मूल्य बढ्नेछ ।’
उनले खानेकुराका कन्टेनरहरु समेत रहेकाले धेरै दिन रोकिँदाँ कुहिने सम्भावना रहेको बताए । केही व्यापारीले बैंकको ऋण लिएर समेत सामान आयात गरेकाले समयमै नआउँदा ब्याज बढ्ने र बजारमा सामान समेत महंगिने उनले बताए ।
नाका खुकुलो गर्न छलफल भइरहेको छ : मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नाका खुकुलो गर्ने विषयमा छलफल भइरहेको मन्त्रालयकी सह–प्रवक्ता उर्मिला केसिले बताइन् । चिनियाँ दूतावास मार्फत पत्रचार गरिएको उनले बताइन् ।
उनले कोभिडका कारण नाकामा अनियमित्ता भएको बताइन् । जेनेरल कन्सलटेन्ट नवराज ढकालको नेतृत्वमा चिनियाँ दूतावस मार्फत नाका खुलाउन पहल भइरहेको उनले बताइन् ।
‘कोभिडका कारण नाकाबाट पठाइने कन्टेनरमा अनियमितता भएको हो, दूतावासको तर्फबाट पत्रचार गरी नाका छिटो खुलाउन प्रक्रिया भइरहेको छ,’ केसीले चाणक्य पोष्टसँग भनिन् ।
दैनिक ९ कन्टेनर मात्र भित्रिन्छन् : भन्सार कार्यालय
रसुवा भन्सार कार्यालय प्रमुख नरेन्द्रप्रसाद चौधरीले बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म दैनिक ९ वटा कन्टेनर पठाइरहेको बताए । मेसिनरी, जलविद्युत् आयोजनाका उपकरण, फलफूल लगायतका सामान आइरहेको उनले बताए । सो कारण बजारमा खुद्रासामानमा कमी आइरहेको उनले जानकारी दिए ।
कोरोनाअघि नेपाली मालवाहक गाडी केरुङसम्म गएर लोड गरेर सामान ल्याउने गरिन्थ्यो । कोरोण यता चिनियाँ व्यापारीहरुले नेपाली नाकासम्म सामान ल्याइदिने गरेको उनले बताए ।
‘नाकामा सामान ल्याउने बारे चिनियाँ अधिकारीहरुसँग हामीले छलफल गरिरहेका छौँ, उनीहरुकोे नियम कडा छ, त्यसैले नेपालीहरु कसैलाइ जान दिइएका छैन्न,’ प्रमुख चौधरीले चाणक्य पोष्टसँग भने ‘हाम्रो एकलौटी प्रयासले मात्र हुँदैन, परराष्ट्र मन्त्रालय, वाणिज्य आपूर्ति मन्त्रालयलाई जानकारी गराएका छौँँ ।’
कारोनाका काराण लामो समय बन्द भएको रसुवागढी नाका गत फागुनदेखि खुले पनि लगत्तै बन्द भएको थियो । २०७६ माघ १५ देखिबाट बन्द रहेको रसुवागढी नाका २०७७ असार २२ गतेदेखि खुले पनि कोरोनाको जोखिब बढेपछि पुनः भदौ १७ बाट बन्द गरिएको थियो । त्यसपछि फेरि बन्द भएको नाका २०७७ असोज ७ गते बाट दैनिक ५ घण्टाका लागि खुल्ला गरिएको थियो ।