काठमाडौं । बजारमा प्याजको भाउ ह्वात्तै बढेको छ । दशैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै माग बढ्न थालेपछि प्याजको मूल्य ह्वात्तै बढेको हो ।
पछिल्लो दुईसातामै प्याजको भाउ ३५ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ २८ गते अधिकतम प्रतिकिलो ४२ रुपैयाँ रहेको प्याज मूल्य आज ५५ रुपैयाँ पुगेको छ । दुईसाताको अवधिमा प्याजको मूल्य प्रतिकेजी १८ रुपैयाँले बढेको हो ।
उपभोक्ताले चाडपर्वको मुखमा माग बढेपछि प्याजको भाउ बढाएको बताए पनि व्यवसायी भो भारतबाटै महँगोमा आउने गरेको बताउँछन् । कालीमाटी तरकारी व्यवसायी संघका प्रमुख खुमप्रसाद घिमिरेले आफूहरुले प्याजको भाउ बढाएको नभई भारतबाटै महँगोमा ल्याउने गरेको बताए ।
‘प्याजको मूल्य वृद्धि हुनुमा व्यवसायीको कुनै हात छैन, भारतबाटै मूल्य वृद्धि भएर आएकाले बजारमा प्याजको मूल्य वृद्धि भएको हो,’ घिमिरेले चाणक्य पोष्टसँग भने । अहिले भारतमै पनि प्याजको माग बढेकाले मूल्य बढेको उनको भनाइ छ ।
भारतकै भर
खाद्यान्नमा जस्तै प्याजमा पनि भारतै भर रहेको छ । नेपालमै उत्पादन गर्न सकिने भए पनि व्यवसायिक रुपमा खेती हुन नसक्दा प्याजको उत्पादन वृद्धि हुन सकेको छैन । हरेक तरकारीमा प्रयोग गरिने प्याजको उत्पादन बढाउन सरकारले प्रोत्साहन नगर्दा, उन्नत जातको बीउ अभाव, भण्डार केन्द्र अभाव लगायत कारणले प्याज खेतीप्रति किसान आकर्षित हुन नसकेको हुन् ।
स्वदेशमा न्यून मात्रमा उत्पादन हुने भएपछि वर्षेनी अर्बौंको आयात हुँदै आएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार नेपालमा आयातित हुने प्याजमध्ये ९५ प्रतिशत प्याज भारतबाट आयात हुन्छ ।
कालिमाटी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार हाल दैनिक १०० टनदेखि २०० टनको हाराहारीमा भारतबाट प्याज आयात हुने गरेको छ । ‘नेपालमा भारतबाट ९५ प्रतिशत प्याज आयात हुन्छ, दैनिक १ सय टनदेिख २ सयटनको हाराहारीमा भारतबाट प्याज आयात हुने गरेको छ । हामी प्याजमा पूर्ण भारतकै भरमा छौं,’ श्रेष्ठले भने ।
काठमाडौंको मुख्य तरकारी बजार कालीमाटी तरकारी बजारमा भदौ महिनामा मात्र २ हजार ९८५ मेट्रिकटन प्याज भित्रिएको छ गत आर्थिक वर्ष २०७७/७८ मात्रै ३ अर्ब ५१ करोड रुपैयाँ बढीको प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब २२ करोड ४७ लाख रुपैयाँभन्दा बढीको विदेशी प्याज आयात भएको थियो आव २०७५/७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँको प्याज भित्रिएको थियो ।
व्यापारीसँग छैन स्टक
दैनिक आयात भइरहेको बोहक थप प्याज स्टक नरहेको व्यापारीहरुले बताएका छन् । लामो समय गोदाममा राख्दा कुहिने र सुरक्षित तरिकाले राख्न भण्डारण केन्द्र नहुँदा प्याज लामो समयसम्म स्टक राख्न नसकिने व्यापारीहरुको भनाइ छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले धेरै समयलाई पुग्ने प्याजको भण्डारण नभएको बताएको छ । प्याजलाई लामो समयसम्म भण्डारण गरेर राख्दा बिग्रिने सम्भवना भएकाले कोल्ड स्टोर नहुँदा स्टक नभएको विकास समितिका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
व्यवसायी संघका अध्यक्ष घिमिरेले पनि तरकारी बजारका व्यापारीहरुको गोदाममा रहेको बाहेक प्याज स्टक नरहेको बताए । ‘हाल दैनिक आयात भइरहेको केही प्याज मात्र व्यापारीको गोदाममा छ । त्यो बाहेक अन्त स्टक राखिएको छैन,’ उनले भने, ‘कोल्ड स्टोर नहुँदा प्याज स्टक राख्न सकिँदैन,’ उनले भने ।
‘नियमित आयात भइरहेको छ, अभाव हुँदैन’
चाडवाडमा माग बढ्दा केही मूल्य बढे पनि प्याजको अभाव भने नहुने घिमिरेले बताए । चाडपर्वको समयमा भने मूल्य वृद्धि नहुँने कालीमाटी तरकारी व्यवसायी संघ प्रमुख खुमप्रसाद घिमिरेले बताए । व्यापारीहरुसँग ठूलो परिमाणमा प्याजको स्टक नरहे पनि दैनिक आयात भइरहेकाले अभाव नहुने उनले बताए ।
‘भण्डारण केन्द्र नहुँदा व्यापारीहरुले पर्याप्त मात्रमा प्याज स्टक राख्न स्कट राख्न सकेको छैनन्,’ घिमिरेले भने, ‘तर हाल नियमित आयात भइरहेको छ । आयातमा कुनै समस्या छैन । त्यसैले अभाव हुने सम्भावना छैन ।’