काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले हालै निर्वाचन सम्पन्न भई नयाँ नेतृत्वमा आएका ३ नयाँ वस्तुगत संघका पदाधिकारीलाई बधाई ज्ञापन गरेको छ ।
महासंघले वस्तुुगत संघहरू फ्लोरीकल्चर एसोसिएसन अफ नेपाल, एलपी ग्यास उद्योग संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष, पदाधिकारी एवं कार्य समिति सदस्यहरूको सम्मानमा महासंघ सचिवालयमा स्वागत गर्दै बधाई दिएको हो ।
नवनिर्वाचित टिमलाई स्वागत एवं बधाई पनि दिने र नयां टिमका भावी कार्ययोजना तथा सम्बन्धित क्षेत्रका गुनासाहरू समेत सुन्ने उद्देश्यले महासंघले वस्तुुगत संघका नवनिर्वाचित टिमको स्वागत एवं बधाई कार्यक्रमको श्रृंखला शुुरु गरेको हो । महासंघले यसअघि नेपाल औषधि उत्पादक संघको नवनिर्वाचित टिमको स्वागत गरेको थियो भने केही दिन भित्र थप केही वस्तुुगत संघका नवनिर्वाचित टिमको स्वागत गर्ने तयारी गरेको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले संघका निर्वाचित पदाधिकारी र कार्य समिति सदस्यहरूलाई स्वागत सहित खादा लगाई बधाई दिंदै नव निर्वाचित उद्यमी व्यवसायीहरूलाई आआफना क्षेत्रका धारणा राख्न आग्रह गरे ।
सो क्रममा फ्लोरीकल्चर एसोसिएनका अध्यक्ष मीन बहादुर तामाङले कोभिडकाकारण पुुष्प व्यवसाय क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेकाले राहत उपलव्ध गराउनुपर्ने, स्वदेशी पुष्प प्रवद्र्धनका लागि आयातित फूल प्रतिवन्ध लगाउनुु पर्ने, पुुष्प नीतिलाई संघीय संरचना अनुसार परिमार्जन गर्न महासंघले सहयोग गर्नुुपर्ने सुुझाव राखे । नेपाली पुष्पको आन्तरिक उत्पादनले करिब ९१ प्रतिशतको हाराहारीमा आन्तरिक बजार माग पुरा गरिरहेको र आत्मनिर्भर उन्मुख रहेको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले ठूलो लगानी रहेको एलपी ग्यास उद्योगहरूलाई राज्यले हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने, केवल खाना पकाउने इन्धनको रुपमा मात्र नलिई अन्य औद्योगिक प्रयोजनका उपायहरू पनि पहिल्याउनुु पर्ने लगायतका सुुझाव राखे । संघमा हाल ५८ वटा ग्यास उद्योगहरू आबद्ध रहेका छन् । एलपी ग्यास उद्योगमा करिब ११ सय करोड लगानी रहेको छ भने करिव २२ देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।
हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले उत्तरी छिमेकी देशसंग जोडिएका खासगरी तातोपानी र रसुवाका व्यापारिक नाकाहरू सुुचारु नभएको र चीनसंगको व्यापार पूर्वावस्थामै फर्कन नसक्दा चीनसंग व्यापार गर्ने व्यवसायीहरू निकै ठूलो आर्थिक मारमा परेकाले महासंघले तत्काल नेपाल सरकार तथा चिनियाँ राजदूतावासमा यस सम्बन्धमा अविलम्व पहल गरी समस्या समाधानमा सहयोग गर्नुपर्ने सुझाव दिए ।