काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले २०७८ भदौ १५ गतेसम्मको नाफा–नोक्सान हिसाबलाई आधार मानेर गत वर्षको लाभांश घोषणा गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले ‘इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७’ मा पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
लाभांश घोषणा गर्ने प्रयोजनका लागि २०७८ भदौ १५ गते भित्रका र बाह्य लेखापरीक्षकद्वारा एडजस्टिङ इभेन्ट्स हो भनी प्रमाणित गरेका इभेन्ट्सलाई समायोजन गरी हुन आउने नाफा–नोक्सान हिसाबलाई आधार लिई लाभांश स्वीकृति प्रदान गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तर, कर्जा नोक्सानी व्यवस्था फिर्ता रकम समायोजन गर्ने हकमा धितोमा रहेको सम्पत्ति विक्री तथा ऋणीको आन्तरिक नगद प्रवाहबाट कर्जा चुक्ता गरेको अवस्थामा मात्रै सो कर्जामा कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकमलाई समायोजन गर्न सकिने ।
यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले आव २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको छ ।
तर, यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुन नहुने र खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश पाउने छैनन् ।
यस्तै, राष्ट्र बैंकले तोके बमोजिम मासिक रुपमा औसत ब्याजदर अन्तर कायम गर्न नसक्ने बैंक/वित्तीय संस्थालाई उक्त आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजन बाहेकको नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने जनाएको छ ।