सपिङ मलमा छैन चहलपहल, ल्याएनन् दशैंको अफर

काठमाडौं । चाडवाड नजिकिएसँगै किनमेलका लागि सपिङ मलहरुमा चहलपहल बाक्लै हुने गर्थ्यो । व्यापारिक रौनक राम्रैसँग जम्थ्यो । तर यसपाली त्यस्तो देखिएको छैन ।

 

सामान्यतः मानिसहरूको भीडभाड र किनमेल सामान्य अवस्थाभन्दा बढी हुने समय हो यो । ग्राहकलाई आकर्षित गर्न विगतमा व्यापारीक कम्पलेक्सहरूले चाडवाडमा थरिथरी छुटका अफरहरू ल्याउने गरेका थिए ।

 

तर, यसपाली भने दशैं सुरू हुन केही दिन मात्रै बाँकी भए पनि सपिङ मलहरू सुनसान देखन्छन् । यो वर्ष पनि सपिङ मलहरूमा दशैंको खासै माहोल देखिएको छैन । नयाँ वर्ष सुरू हुनासाथ कोभिडको दोस्रो लहर आएपछि सरकारले गत वैशाख १६ देखि लकडाउन गर्याे । महामारीले आक्रान्त बनेको देश लकडाउन पछि ठप्पप्रायः भयो ।

जसको कारण उपत्यका छोड्ने मानिस बढे पनि शैक्षिक संस्था, रेष्टुरेन्टलगायत संस्थाहरु राम्रोसँग सञ्चालन हुन नसक्दा आवागमन भने बढेन ।सरकारले पछिल्लो समय लकडाउन हटाए पनि यो वर्ष मानिसहरूको चहलपहल देखिएको छैन । अहिलेसम्म लकडाउनको असर व्यापारमा कायमै रहेको व्यापारीहरू बताउँछन् ।

 

विशेषगरी यो बेला किनमेलमा भीडभाड देखिने सपिङ मलहरू अहिले सुनसान रहँदा व्यापार समेत शून्य जस्तै रहेको उनीहरूको भनाइ छ ।‘दशैं लागे पनि व्यापार छैन । अहिले सबै जस्तो पसलहरू सुनसान छन्,’ काठमाडौं मलस्थित फेन्सी पसल सञ्चालन गर्दै आएका निराजन श्रेष्ठले भने, ‘यो वर्ष यसै जान्छ जस्तो छ । दशैं अफर भनेरै त अहिलेसम्म केही ल्याएको पनि छैन । मानिहरूको चहलपहल नै नभएपछि के अफर ल्याउनु ?’

विगतका वर्षहरूमा दैनिक ५० देखि ६० हजार रूपैयाँको व्यापार गर्दै आएका श्रेष्ठ लकडाउन यता भाडा तिर्न समेत नपुग्ने बताउँछन् ।दशैं नजिकिए पनि मानिसहरु नआउँदा सपिङ मल सुनसान बनेको बानेश्वरस्थित आइप्लेक्स मलमा फेन्सी पसल सञ्चालन गर्दै आएका व्यापारी शेख पौडेल बताउँछन् ।‘राम्रै व्यापार हुने समय हो । तर मान्छे कोही छैनन् । मल जस्तै लाग्दैन्,’ उनले भने ।’

 

कोरोना महामारीका कारण गत वर्षको दशैं तिहार समेत सुनसान बनेको थियो । विशेषगरी, काठमाडौंका सुन्धारा, न्युरोड, नयाँ बसपार्क, कोटेश्वर, बानेश्वर, चाबहिल लगायतका स्थानमा रहेका ठूला सपिङ मलहरूले दशैं तिहारको अवसर पारेर सामान्य अवस्थामा विभिन्न छुट अफर ल्याउने गरेका थिए ।

सपिङ सेन्टरले नगद छुट सहित सुनचाँदी, मोबाइल, ल्यापटपदेखि मोटरसाइकलसम्म जित्न सक्ने अफर ल्याउने गरेका थिए ।यस्ता अफरहरूले मलमा किनमेलका लागि ग्राहकहरुलाई आकर्षित गर्ने गरेको थियो । वर्षभरी महङ्गोमा कपडा किन्ने ग्राहकलाई दशैंमा मलहरुले केही सहुलियत दिँदै आइरहेका थिए ।

 

आइप्लेक्स मलका सञ्चालक धनवीर श्रेष्ठ कोरोनाका कारण मानिसहरुको आवतजावत र व्यवसायमा कमी आएको बताउँछन् ।‘कोरोनाका कारण धेरैले रोजगारी गुमाए । मानिसहरुसँग खर्च गर्ने पैसा छैन । रेमिट्यान्स पनि राम्ररी आएको छैन,’ उनले भने, ‘त्यसैले अहिले दशैं तिहार आए पनि पसलहरू सुनसान छन् । अहिले दशैं तिहारको लागि केही अफर ल्याएका छैनौं । एकदुई दिनपछि ल्याउने तयारीमा छौं ।’

सरकारले पछिल्लो समय लकडाउन हटाए पनि मानिसको चहलपहल बढेको देखिँदैन । कोरोना महामारीले करिब २ वर्षदेखि व्यापार व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

तरलता अभाव चुलिएपछि ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक Read Previous

तरलता अभाव चुलिएपछि ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी