काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विगतमा झैं दशैँ, तिहार जस्ता चाडवाड नजिकिएसँगै बजार अनुगमनमा सक्रियता देखाउन थालेको छ । विभागले मंगलबार (आज)देखि बजार अनुगमन तीव्र बनाउने जनाएको छ ।
अन्य समयमा अनुगमनमा खासै सक्रियता नदेखाउने विभाग दशैंका बेला भने सक्रिय हुने गर्छ । तर, मौसमी अनुगमनले बजारमा हुने कालोबजारी र मूल्य वृद्धि नियन्त्रणमा अनुगमनको भूमिका साखै देखिँदैन ।
विभागले चाडवाडको बेला केही ठाउँका सीमित पसलमा छापा मार्ने र सामान्य कारबाही गर्ने बाहेक अरु काम गर्न नसकेको देखिन्छ । चाडवाडको मौका खाद्यान्न लगायत उपभोग्य वस्तुको मूल्य अस्वभाविक वृद्धि हुने भए पनि अनुगमनले त्यसको नियन्त्रण गर्न सकेको देखिँदैन ।
पछिल्लो समय चिनी, खानेतेल लगायत उपभोग्य वस्तुको मूल्य अचाक्ली वृद्धि भए पनि त्यो नियन्त्रण हुन सकेको छैन । बढी मूल्य बेचे कारबाही गर्छौं भन्ने बाहेक विभागको कारबाही परिणाममुखी हुन सकेको छैन् ।
‘उपभोक्ताले अनुगमनको अनुभूत गरेका छैनन्’
उपभोक्ता अधिकारका लागि सक्रिय रहदै आएको संस्था कन्जुमर आईकी अध्यक्ष विमला खनालले प्रत्येक वर्ष अनुगमन हुने गरे पनि उपभोक्तालाई अनुभूत हुने गरी अनुगमन प्रभावकारी हुन नसकेको बताइन् । उनले मूल्य वृद्धि नियन्त्रण हुन र कालोबजारी रोकिने गरी अनुगमनका हुनुपर्ने बताइन् ।
‘विभागले यत्रो अनुगमन बढाएपछि उपभोक्ताले सही मूल्यमा वस्तु उपभोग गर्न पाउनुपर्यो, उपभोक्ताले अनुगमनको अनुभूती गर्न पाउनु पर्यो, प्रभावकारी अनुगमन हुन सकेको छैन, अनुगमनको नाममा केही हल्ला मात्रै हुने गरेको छ,’ खनालले चाणक्य पोष्टसँग भनिन् ।
उजुरी अनुसार अनुगमन गर्छौं : विभाग
विभागमा आउने उजुरी अनुसार दैनिक अनुगमन गर्ने गरेको छ । दैनिक सरदरमा २÷३ वटा उजुरी आउने गरेको छ । विभागका प्रवक्ता शिवराज सेढाईले चाडपर्वमा अनुगमन तीव्रगतिमा बढाइएको बताए । उनले दैनिक ५ देखि १० वटासम्म अनुगमन भइरहेको जानकारी दिए ।
‘हामीले चाडपर्वमा मात्र अनुगमन गर्ने हैन, हामी समयअनुकूल हरेक समयमा अनुगमन गरिरहेका हुन्छौं, दशैँमा खपत र आपूर्ति बढी हुने भएकाले झन धेरै अनुगम गर्नुपर्ने भएको हो,’ सेढाईंले भने ।
अनुगमनका लागि थपिए १२ जनशक्ति
वाणिज्य , आपूर्ति तथा उपभोक्त संरक्षण विभागले दशैँमा अनुगमन बढाउन १२ जना जनशक्ति थपेको छ । विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग २५ जना जनशक्ति थप गर्न माग गरे पनि हाल १२ जना मात्र जनशक्ति थपिएका हुन् ।
मन्त्रालयसँग २५ जना जनशक्ति मागे पनि १२ जना मात्र आएको ४ जना नआएको बताए । उनले संख्यागत रुपमा अनुगमन टोली नपुगेको भन्दै जनशक्ति थपिएको सेढाईंले बताए ।
हामीले २५ जना जनशक्ति मागेका थियौँ, १२ जना आएका छन्, ४ जना आएनन्, अब त्यही टोलीले अनुगमन गर्ने छन्,’ प्रवक्ता सेढाईले चाणक्य पोष्टसँग भने ।
उनले चाडपर्वमा हुने आवतजावत र आपूर्ति तथा उपभोग्य वस्तुमा अनुगमन तीव्र बढाइने बताए । विगतमा सामान्य समयमा २/३ वटा अनुगमन हुने गर्थ्यो । हाल विभागले दैनिक ६ वटासम्म अनुगमन गरिरहेको उनले बताए । एउटा टोलीमा ४/६ जना हुन्छन् । एउटा टोलीले न्यूनतम ५ देखि ९ वटासम्म अनुगमन गर्ने गरेको उनले बताए ।
विभागले १० जना बजार निरीक्षण अधिकारी र बाँकी १५ जना सहायक कर्मचारी माग गरेको थियो । उनले वस्तु केन्द्रित अनुगमन गरिरहेको बताए । उनले बसपार्क वरपर पाइने खाद्य तथा उपभोग्य वस्तुहरुमा समेत कडाइका साथ अनुगमन गरिरहेको बताए ।