काठमाडौं । चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणले अब गति लिने संकेत देखिएको छ । २ वर्ष अघि नै शिलान्यासको तयारी गरिएको भए पनि विविध कारणले अघि बढ्न नसकेको उक्त औद्यागिक क्षेत्र निर्माणमा प्रधानमन्त्री शेरबहादुर देउवाले चासो लिएसँगै निर्माण अघि बढ्ने भएको हो ।
औद्योगिक क्षेत्र निर्माणको नेतृत्व गरिरहेको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले औद्योगिक क्षेत्र निमाणले चाँडै गति लिने बताए । ‘२ वर्ष अघि नै पर्यावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन बने पनि सरकारको प्राथमिकतामा नपर्दा काम अघि बढ्न सकेको थिएन,’ उनले चाणक्य पोष्टसँग भने, ‘अहिले आएर प्रधानमन्त्रीले चासो देखाउनु भएको छ । उहाँले डीपीआर, ईआइए लगायत प्रतिवेदन मागेर हेरिसक्नु भयो । सकारात्मक संकेत दिनुभएको छ । अब चाँडै शिलान्यास हुन्छ ।’
आफूहरुले वर्षौंदेखि नै औद्योगिक क्षेत्र निर्माणका लागि हरप्रयास गर्दा पनि सफल हुन नसकेको पौडेलले बताए । ‘हामीले यस औद्योगिक क्षेत्र बनाउन वर्षौंदेखि राज्यका निकायहरुलाई ढकढक्याउने काम गर्दै आएका छौं । हामी गर्ने सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘तर, जति प्रयास गरे पनि अहिलेसम्म शिलान्यस समेत गराउन सकेका छैनौं । दुःख लागेको छ । अब आश गरौं चाँडै काम अघि बढ्ने छ ।’

चितवनबाट नेपालका मुख्य सहरहरू काठमाडौं, पोखरा, वीरगञ्ज, बुटवल, भैरहवा सबै स्थान समान दुरीमा रहेकाले समग्र ढुवानीका हिसाबले पनि यो औद्योगिक क्षेत्र उपयुक्त देखिएको उनको भनाइ छ ।
उक्त औद्योगिक क्षेत्रमा साना ठूलागरी करिब ७०० उद्योग संचालनमा आउने अनुमान गरिएको छ । चितवन जिल्लाको कालिका नगरपालिकामा पर्ने यो औद्योगिक क्षेत्रले झण्डै १ हजार ७४१ बिगाहा जमिन ओगटेको छ । यसको जम्मा क्षेत्रफल करिब १७० किलोमिटर रहेको छ ।
प्रारम्भिक अनुमान अनुसार यहाँ खुल्ने उद्योगहरूले करिब १६५ मेघावाट विद्युत खपत गर्ने र करिब १ लाख ५० हजारभन्दा बढीले रोजगारी पाउने सम्भावना रहेको जानकारहरू बताउँछन् ।
उक्त औद्योगिक क्षेत्रमा कृषि औजार, विद्युतिय सामाग्री, इन्जिनियरिङ र फ्याब्रिकेटिङ, नविकरणीय उर्जा, अस्पतालका फर्निचर, अटोमोटिभ, सेवा, मासु प्रशोधन, छाला प्रशोधन, रसायनिक उत्पादन, औषधी, उत्पादन, निर्माण, काष्ठ प्रशोधन, ह्यान्डिक्राफ्ट, पर्यटकिय उत्पादन र कृषिजन्य प्रशोधनका उद्योगहरू सञ्चालनमा आउने पौडेलको अनुमान छ ।
यहाँ जम्मा ५९८ सानो (५०० वर्गमिटर) का र १२४ ठूलो (१२००० वर्गमिटर) का उद्योगहरूलाई स्थान छुट्याइएको छ जसले जम्मा ७२३ विगाहा क्षेत्रफल ओगट्छ ।
करिब ६ लाख जनसंख्या रहेको चितवन र ३० हजार जनसंख्या रहेको कालिका नगरपालीकाका जनताले प्रत्यक्ष रोगगारी पाउने संभावना प्रचुर रहेको पौडेलको दाबी छ ।