काठमाडौं। काठमाडौं उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको छ। उपत्यकामा ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले बुधबारदेखि मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको हो ।
मेट्रो अनलाइन ट्याक्सी एपमार्फत अनलाइन बुक गरेर यो सेवा लिन सकिन्छ। कम्पनीका अनुसार सेवाग्राहीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् ।
यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध छ । मेट्रो ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरु समावेश रहेको जानकारी दिँदै कम्पनीले चालकलाइ तालिम समेत दिइसकेको बताएको छ।
तालिममा अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्ने, एपको प्रयोग गर्ने तरिका, ग्राहकहरूसँग गरिने व्यवहार लगायतका विषयहरुमा ट्याक्सी चालकहरुलाई तालिम प्रदान गरिएको छ ।
सो तालिमले आगामी दिनमा काठमाडौं उपत्यकाका सञ्चालनमा रहेका ट्याक्सी चालकहरूको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने र यसले ट्याक्सी सेवालाई मर्यादित तथा व्यवस्थित बनाउने कम्पनीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङले जानकारी दिए ।
मेट्रो अनलाइन ट्याक्सीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै ट्याक्सी धनी र चालकहरूसँगको सहकार्यमा ट्याक्सीहरूलाई अत्याधुनिक प्रविधियुक्त बनाउने, डिजिटल प्लेटफर्महरूको अधिकतम उपयोग गर्ने उद्देश्यले काम गरिरहेको छ ।
आगामी दिनमा मेट्रो अनलाइन ट्याक्सीमा थप ट्याक्सीहरुलाई सहभागी गराउने र सेवा क्षेत्र विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ।
मेट्रो अनलाइन ट्याक्सीमार्फत सेवा लिन चाहने यात्रुहरुले एपमा रजिस्टर गरेर मात्र सेवा लिन भनिएको छ। ट्याक्सी स्ट्याण्डमा आएका यात्रुलाई सेवा दिनुपर्दा चालकले एपमा रजिस्टर गराई मात्र सेवा दिनेछन् । यसले गर्दा यात्रु र चालक दुवै सुरक्षित हुनेछन् ।
मेट्रो अनलाइन ट्याक्सी एपमा आबद्ध हुने ट्याक्सीहरुलाई कम्पनीको निश्चित मापदण्डअनुसार निःशुल्क ट्याक्सी बीमा गर्दै आएको कम्पनीले जनाएको छ।