काठमाडौं । यसपटक चाडपर्वमा चिनीको मूल्य नबढ्ने भएको छ । व्यापारीहरुले पर्याप्त चिनी आयात गरेकाले बजारमा अभाव नहुने भएकाले भाउ नबढ्ने भएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले चिनीको मूल्य बढाउन नदिने बताए । उनले चिनीको मूल्य बढाए व्यापारीलाई कडाभन्दा कडा कारबाही गरिने बताए । उनले गोदाममा वस्तु मौज्दात हुँदा हुँदै बजारमा नपठाई कृतिम मूल्य वृद्धि गर्न खोजे ऐन बमोजिम हदैसम्मको दण्ड सजाय हुने बताए ।
उनले हाल उद्योगीका गोदाम तथा ठूला आयातकर्ताहरुसँग पर्याप्त रुपमा चिनी मौज्दात भएको दाबी गरे । हाल सरकारी संस्थान र व्यापारीहरुसँग ७५ हजारदेखि ८० हजार मेट्रिकटन चिनी मौज्दात रहेको उनले जानकारी दिए । यो परिमाण चिनीले मंसिरसम्म पुग्ने उनको भनाइ छ ।
‘हाल बजारमा पर्याप्त चिनी छ । व्यापारीहरुले ३ महिनालाई पुग्ने चिनी आयात गरिसकेका छन्,’ सेढाईले चाणक्य पोष्टसँग भने, ‘बजारमा चिनी पर्याप्त भएकाले मूल्य अहिले जति छ त्यही नै कायम हुन्छ । कसैले चाडवाडको मौका छोपी बढाएर बेचेको पाइएका हामी व्यापारीलाई हदैसम्म कारबाही गर्छौं ।’
प्रतिकेजी ८७ रुपैयाँभन्दा बढीमा बेचे कारबाही हुने
विभागले प्रतिकेजी ८७ रुपैयाँ प्रतिकेजीभन्दा बढी मूल्यमा चिनी विक्री गरेमा कारबाही गर्ने जनाएको छ । हाल साल्ट ट्रेडिङले प्रतिकेजी ७८ रुपैयाँमै चिनी विक्री गरिरहेको छ भने व्यापारीहरुले ८० देखि ८५ रुपैयाँ थोक व्यपारीलाई विक्री गर्ने गरेका छन् ।
नेपालमा देशभर वार्षिक २ लाख ५० हजार मेट्रिक टन माग रहेको छ । सामान्यतया १ महिनामा २० हजार टन चिनी खपत हुने गर्थ्यो भने चाडपर्वमा ३० मेट्रिकटन चिनी खपत हुने गरेको छ ।
नेपालमा १ लाख ५ हजार मेट्रिकटन चिनी उत्पादन हुनेगर्छ, पछिल्लो समय उखु किसानहरुले भुक्तानी पाउन नसकेपछि व्यवसायबाट पलायन हुन थाले लगतै चिनीको उत्पादन समेत घटेको छ ।
यसरी हेर्दा वार्षिक १ लाख ३० हजार मेट्रिकटन चिनी अभाव हुने गरेको छ । सो अभावलाई पूर्ति गर्न सधैं साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी आयात गर्ने गरेका थिए । यसपटक भने यी संस्थालाई चिनी आयात गर्न सरकारले अहिलेसम्म अनुमति दिएको छैन । सरकारी संस्थाले अनुमति नपाएपछि हाल निजी क्षेत्रका व्यापारीहरुले धमाधम चिनी आयात गरिरहेका छन् ।