काठमाडौं । सरकारले सुरु गरेको सहुलीयत पसलमा उपभोक्ताको आकर्षण देखिएको छ ।असोज १ गतेबाट सुरु भएको सहुलियत पसलमा २ दिनमै करिब साढे २ लाखको खाध्य सामग्रीको कारोबार भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रादेशिक केन्द्र थापाथलीले जानकारी दिएको छ ।
शुक्रबारदेखि सुरु भएको सहुलियत पसलबाट सबभन्दा धेरै चामलको व्यापार भएको छ भने चामलसंगै दाल, तेलको खपत धेरै भएको लिमिटेडका वरिष्ठ सहायक ललित कुमार यादवले चाणक्य पोष्टलाई जानकारी दिए ।
यादवका अनुसार दुई दिनमा कुल २ लाख ४४ हजार २१५ रुपैयाँको कारोबार मध्ये सबैभन्दा धेरै स्टिम जिरा र बासमति चामलको कारोबार भएको छ ।
स्टिम जिरा र बासमति चामलको व्यापार धेरै भएको छ,कुल कारोबार मद्री चामल २ लाख १५ हजार मूल्य बराबरको व्यापार भएको छ ।त्यसैगरी १५ हजार मूल्य बराबरको दाल र बाँकी दालतेलको कारोबार भएको यादवले जानकारी दिए ।
शुक्रबार सुरु भएको हो सहुलियत पसल,सुरुको दिन खासै कारोबार भएन, शनिबार बिदा नै थियो,आइतबारसम्म २ लाख माथि कारोबार हुनु सन्तोषजनक नै हो, यादवले भने ।
यादवका अनुसार दैनिक १०० देखि १२५ जना उपभोक्ता थापाथलीको सहुलियत पसलमा आउने गरेका छन । कम्पनीका अनुसार आगामी कार्तिक २४ गते सम्म संचालन हुने छ । सहुलियत पसलमा उपत्यकामा मात्र चामल ४५ सयक्वीन्टल चामल, १० हजार लिटर तेल र ५०० क्वीन्टल दाल विक्री हुने अनुमान गरिएको छ ।
कुन सामाग्रीमा कति छ छुट ?
चाडपर्वमा बजारमा उपभोक्ता मूल्य नियन्त्रण गर्न सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा बजार भन्दा कम्तीमा २ रुपैयाँमा सस्तोमा खाद्य वस्तु उपभोक्ताले खरिद गरिरहेका छन् । सहुलियत पसलमा उपभोक्ताले सबैखाले खाद्य वस्तुमा कम्तीमा दुई रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुटको व्यवस्था गरिएको छ ।
खाद्य र साल्टको दुवै पसलहरुमा नुन प्रतिकिलोमा २ रुपैयाँ, चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो ५ रुपैयाँ छुट गरिएको छ । यस्तै तोरी र सूर्यमुखीको तेलमा प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट छ ।
घटस्थापनको दिनबाट विक्री सुरु हुने जिउँदो खसीबोकामा भने प्रतिकिलोमा १० रुपैयाँ सहुलियतको व्यवस्था गरिएको छ ।