उद्योगीले हैरान बनाएका उखु किसानलाई सरकारले पनि झुक्यायो, पाएनन् अनुदान

काठमाडौं । भन्नलाइ नेपाल कृषि प्रधान देश भनिन्छ । त्यसमा पनि उखु त झन नगदे बाली । तर, भुक्तानी नपाएर गुुलियो चिनी भित्रको कृषकहरुको तितो कथा भने बारम्बार आइ नै रहन्छ । चिनी उद्योगिहरु कहिले भुक्तानी नपाएर सडक चर्हाछन् त कहिले सरकार खोज्न सिंहदरबारका ढोकाहरु ढक्ढक्याउँछन्।

 

आफैंले पाखुरा बजारेको मूल्य समेत नपाउनु किसानका लागि नौलो कुरा होइन । कहिले सरकार आफैंले त कहिले उद्योगीहरुले उखु किसानको भुक्तानी नदिएर अल्झाइ रहन्छन् । यस वर्ष पनि उखु किसानहरुले सरकारी अनुदानबापत पाउनु पर्ने गत आवकै रकम अहिले सम्म पाएका छैनन् ।

 

चिनी उद्योगिहरुले यो वर्ष भुक्तानी दिए पनि सरकारबाट पाउने १ अर्ब २६ करोड रुपैयाँ उखु किसानले पाउन बाँकी रहेको उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनाली बताउँछन् ।

 

‘सरकारले प्रति क्वीन्टल अनुदान बापत दिने रकम १ अर्ब २६ करोड रुपैयाँ पाउन बाँकी छ,’ उनले भने, ‘पहिले सरकारले दिएको अनुदान रकम उद्योगहरुले नै दिने गरेका थिए । केही उद्योगीहरुले अनियमितता गरेपछि हाम्रो माग अनुसार सरकारले नै भुक्तानी दिने व्यवस्था गरिएकोे हो ।’

 

सरकारले उखु किसानका लागि प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदानको व्यवस्था गरेको छ । हाल चिनी उद्योगीहरुले भने बक्यौता रकम भुक्तानी गरिसकेको उनले बताए ।

 

‘उद्योगपति र सरकारकै मिलेमतोमा गत साल २ महिनामा उखु किसानको भुक्तानी दिने भनेपछि हामीले असहमति जनायौं । पछि १५ दिन भित्र भुक्तानी दिने सहमति अनुसार नै हामीले भुक्तानी पाएका थियौं,’ उनले भने ।

 

यता कृषि मन्त्रालयका प्रवक्ता प्र्रकाश कुमार संञजेलले उखु किसानलाई सरकारले दिनुपर्ने रकम सम्बनधीत जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय पठाइसकेको बताए ।

 

‘नेपाल सरकारले दिनुपर्ने रकम हामीले कोष तथा लेखा नियन्त्रण कार्यालयमा ७८ करोड पठाइसकेका छौं,’ उनले भने, ‘कुनै जिल्लामा किसानहरुले सम्बन्धित कृषि ज्ञान केन्द्रमा गएर पाइसकेका छन् । बाँकी रहेका जिल्लामा समितिको बैठक बसेर भुक्तानी हुने प्रकृयामा छ ।’ हरेक जिल्लामा सहायक जिल्ला प्रमुखको प्रतिनिधित्वमा कमिटी बनाएर किसानहरुको विवरण संकलन गरिएको उनले बताए ।

 

‘त्यसमा हामीले पहिले नै सूचना प्रकाशित गरिसकेका छौं । सोही अनुसार उनीहरुको विवरण संकलन गरेर यकिन भएपछि खातामा पठाइन्छ,’ प्रवक्ता सञ्जेलले भने ।

 

उखु खेतीबाट किसान पलायन हुँदै

 

समयमा भुक्तानी नपाउने भएपछि कृषकहरुले निराश भएर उखु खेती छोड्न थालको अध्यक्ष मैनाली बताउँछन् । यसकारण उत्त्पादन घटेपछि अहिले चिनी उद्योगलाई समेत उखुको समस्या हुन थालेको उनले बताए ।

‘अहिले हामीलाई भन्दा उघोगलाई उखुको समस्या छ । चिनीको माग बढेर गयो, उत्पादन कम भयो । त्यसपछि मूल्य बढ्दै गयो,’ उनले भने, ‘भारतको महाराष्ट्र«, पन्जाव, र पाकिस्तानबाट व्यापारीहरुले सस्तोमा चिनी ल्याउन थाले । उखु राम्रो उत्पादन हुने भएकाले त्यहाँ चिनी सस्तो पाइन थाल्यो ।’

 

उखु नगदे बाली भएपनि यसको विकल्पमा धान, गहुँ र मकै उत्पादन गर्न थालिएको उनले बताए । ‘केही समय पहिले एउटा व्यापारी समूहले सरकारको समेत मिलेमतोमा पाकिस्तानबाट ३ लाख मेट्रिक टन चिनी ल्याएर विक्री गर्यो । त्यसपछि चिनी विक्री छोड्यो भनेर बहाना बनाए । पैसा पनि नपाउने अनी विक्री पनि नहुने भयो भन्दै किसानहरुले उखु खेती गर्न छाडे,’ मैनालीले भने ।

 

उखु उत्पादन केही क्षेत्रमा घट्ने क्रममा रहेको एकाध अध्ययन प्रतिवेदनले देखाएको मन्त्रालयका प्रवक्ता सञ्जेलले सुनाए । ‘विस्तृत अध्ययन भएको छैन । विगतको तुलनामा उखु उत्पादन केही क्षेत्रमा घट्ने क्रममा होकी भन्ने एकदुई अध्ययन प्रतिवेदनले देखाएको छ,’ उनले थपे, ‘उखु उत्पादन गर्ने किसानहरु थप नाफामुखी क्षेत्रतिर सिफ्ट हुँदै गएको देखिन्छ । त्यसकारण अलि घट्दो ट्रेन्डमा गएको देखिन्छ । हामी आफैले विस्तृत अध्धययन गरेका छैनौं ।’

 

किसानले भुक्तानी नपाउनु मात्र उखु उत्पादन घट्नुको कारण नभएको उनले बताए । डेढ लाख बढी किसानले उखुखेती गर्ने गरेकोमा पछिल्ला वर्षहरुमा त्यो संख्या घट्दै गएको उनको भनाइ छ ।

 

घट्दैे उखु उत्पादन

 

कृषकहरु उखुखेतीबाटै पलायन हुन थालेपछि उत्पादन समेत घट्दै गएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालमा उखु खेती ७८ हजार ६०९ हेक्टर क्षेत्रफल जमिनमा गरिएकोमा दुई वर्षयता १० हजार हेक्टरले घटेको छ । आव २०७६/७७ मा ६८ हजार ५६५ हेक्टर क्षेत्रफल जमिनमा उखु खेती गरिएको कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ ।

 

। यस्तै, आव २०७४/७५ मा ३६ लाख ७९ हजार मेट्रिक टन उखु उत्पादन भएकोमा आव २०७६/७७ आइपुग्दा २ लाख मेट्रिक टनले उत्तपादन घटेर ३४ लाख मेट्रिक टनमा आइपुगेको छ ।यस्तै, आव २०७५/७६ मा ७१ हजार ६२५ हेक्टर क्षेत्रफल जमिनमा उखु खेती गरिएको थियो । सो अवधिमा ३५ लाख ५७ हजार मेट्रिक टन उखु उत्पादन भएको मन्त्रालयको तथ्यांक छ ।

 

बढेन उखुको मूल्य

 

सरकारले ४ वर्ष अघि तोकेको उखुको मूल्य हालसम्म बढेको छैन । हाल प्रति क्वीन्टल उखुको मूल्य ५३६ रुपैयाँ रहेको छ । जसमा ४७१ रुपैयाँ उद्योगिले दिन्छन् भने बाँकी ६५ रुपैयाँ सरकारले अनुदान बापत दिँदै आएको छ ।

 

वार्षिक रुपमा चिनीको मूल्य बढ्दो क्रममा रहेको छ । तर चिनी उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थको मूल्य भने एउटै रहेको छ । त्यसमाथि किसानले उत्पादन गरेको उखुको मूल्य समयमा नपाउने, उद्योगिहरुले भुक्तानी नदिने जस्ता समस्या झेल्नु परेको छ ।

 

वेस्टर्न युनियनको 'क्यास उत्सव' योजना, 'लक्की ड्र'मा ५ लाख जित्ने मौका Read Previous

वेस्टर्न युनियनको 'क्यास उत्सव' योजना, 'लक्की ड्र'मा ५ लाख जित्ने मौका

सहुलीयत पसलमा उपभोक्ताको आकर्षण, कुन सामनमा कति पाइन्छ छुट ? Read Next

सहुलीयत पसलमा उपभोक्ताको आकर्षण, कुन सामनमा कति पाइन्छ छुट ?