काठमाडौं । नेपालमा वर्षेनी करोडौँ मूल्य बराबरका विद्युतीय सवारी भित्रिने क्रम बढ्दै गएको छ । सरकारले विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्दै चालू आवको बजेटमार्फत भन्सार छुटको व्यवस्था गरेपछि यसको आयात ह्वात्तै बढेको छ ।
विद्युतीय सवारीको आयात र प्रयोग बढ्दै गए पनि सरकारले हालसम्म विद्युतीय सवारी परीक्षणका लागि कुनै नीतिगत तथा प्राविधिक सुरक्षाको व्यवस्था भने गरेको छैन ।
यातायात व्यवस्थापन विभागका निर्देशक रामचन्द्र पौडेलले ‘रोड वर्दिनेस’ (उकालो चढ्ने क्षमता) परीक्षण गर्ने व्यवस्था रहेको बताए । डाइमेन्सन मेसिन राखेर त्यस अनुसारको रिपोर्ट पछि दर्ता गर्ने व्यवस्था रहेको बताए ।
‘विद्युतीय सवारी जाँच गर्ने भनेर नै भनेर हाम्रोमार ठूलो ल्याब चाहिँ बनाइएको छैन, डाइमेन्सन, रोड वर्दिनेस लगायतका परीक्षणको रिपोर्ट पछि मात्र दर्ता दिने गरेका छौ,’ पौडेलले चाणक्य पोष्टसँग भने ।
विभागले बाटोमा लगेर गुडाएर चार्ज गरेपछि कति गुड्छ, कति उकालो तान्छ भन्ने परीक्षण गर्ने गरेको छ । उनले नेपालमै उत्पादनको व्यवस्था नभएकाले अहिलेसम्म कुनै मापदण्ड समेत तयार नभएको बताए । हालसम्म सरकारले विद्युतीय सवारीका मापदण्ड तथा सुरक्षा परीक्षण नीतिमा कुनै चासो नदेखाएको पाइन्छ ।
विद्युतीय सवारीमा परीक्षण गर्ने तरिका
विद्युतीय सवारी आयात पछि कम्पीले दर्ताका लागि प्रकृया सुरु गर्छन् । दर्ता प्रकृयाका क्रममा विभिन्न टेष्ट गरिन्छ । टेष्ट पछिको रिपोर्ट अनुसार दर्ता नम्बर सवारी उद्योगीले पाउने गर्छन् ।
परीक्षणका क्रममा सवारीको उकालो चढ्न सक्ने क्यापासिटि चेक गरिन्छ । नेपालमा आउने सवारीहरु सामान्यतया राम्रै पाइएको उनले बताए । उनले हालसम्म विद्युतीय सवारी परीक्षणका क्रममा खासै समस्या नदेखिएको बताए ।
‘आधिकारिक कम्पनीबाट आउने सवारीमा समस्या देखिएको छैन, चिनले उपभोक्ता अनुसार जति मूल्यको पनि सवारी बनाउन सक्ने भएकाले त्यसमा अलि विश्वास्नीय हुन सकिदैन,’ पौडेलले भने ।
विद्युतीय परीक्षण गर्दा सर्वप्रथम त्यसको पिकअपको अवस्था र एक पटक चार्ज भएपछि गुड्न सक्ने पाइलेज परीक्षण गरिन्छ । त्यस्तै ब्याकअप सेफ्टीका लागि ब्रेक परफमेन्स पनि परीक्षण हुनेगर्छ । डाइनामो मिटर हो मोटरको क्यापासिटि टेष्ट गरिन्छ ।
विद्युतीय सवारी परीक्षण गर्न एउटा ठूलो ल्याब नै चाहिने भए पनि नेपालमा हालसम्म त्यस्तो व्यवस्था नभएको पौडेलले बताए ।‘विद्युतीय सवारी सुरक्षाका लागि परीक्षण गर्ने हो भने ठूलो ल्याब नै चाहिन्छ, ल्याबाट लाइट टेष्ट गर्नु पर्यो, स्ट्याबीलटी टेष्ट गर्नुपर्छ, ब्याट्रि चेक गर्नु पर्यो, यी सबका लागि त्यस अनुसारको क्षमता भएको ल्याब हामीसँग छैन,’ उनले भने ।
विद्युतीय सवारी परीक्षण विषय प्राथमिकतामा नपरेका स्वीकारे । अहिले नयाँ सरकार, नयाँ विषयले गर्दा विद्युतीय सवारी सुरक्षाका कुरा अल्झिएको उनले बताए ।
विद्युतीय सवारीमा हुने समस्या
विद्युतीय सवारीमा विशेष गरी, ब्याट्री, मोटरहरु र वायरीङमा समस्या हुने पौडेल बताउँछन् । विद्युतीय सवारीमा कनेक्ट हुने वायरिङ राम्रो भएन भने तार तात्ने, आगलागी हुन सक्ने, विस्फोट समेत हुन सक्नेलगायतका दुर्घटनाको सम्भावना हुन्छ । उनले मोबाइलमा पनि यस्ता रिक्स हुने गरेको बताए ।
उनले विद्यृतीय सवारी सुरक्षित नै बनाइने बताउँदै लोकल मान्छेहरुले बनाएका सवारीमा यस्ता रिक्स हुने गरेको बताए । उनले यस्ता खतराका घटना हुन नदिन आधिकारिक कम्पनीले बनाएका विद्युतीय सवारी मात्र किन्न अनुरोध गरे ।
‘हरेक चिजमा डिफेक्ट त आउन सक्छ, राम्रो कम्पनीबाट बनेको विद्युतीय सवारी पनि निकै राम्रा हुन्छन् तर, लोकल भेन्डरबाट बनेकामा तार डिस्प्लेस हुन सक्छन्, त्यो किन्दा खेरी होस पुर्याउनु पर्छ,’ पौडेलले भने ।
उनले विदेशबाट आउने आधिकारिक कम्पनीका सवारीहरु उनीहरुको मापदण्ड अनुसार बन्ने भएकाले विशेष ध्यान पुर्याउन आग्रह गरे । ‘हरेक देशमा विद्युतीय सवारीका लागि मापदण्ड बनाइएको छ, उनीहरुको नियम पनि कडा भएकाले कडाइकासाथ अनुसाशित भएर सवारीको निरिक्षण गरिएको हुन्छ, वल्ड वाईड स्ट्यान्डर्डअनुसार सर्टिफाइ भएका गाडी सुरक्षित हुन्छन्,’ उनले भने ।
उनले विभागले आयात भएका सवारीहरु आधिकारिक कम्पनीको हो होइन हेरेर दर्ता परीक्षण गरी दर्ता अनुमती दिने गरेको बताए ।
विद्युतीय सवारी किन्दा ध्यान दिनु पर्ने कुराहरु
पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारी गुडाउन सजिलो र सस्तो हुने भएकाले यो सबैको रुचीमा पर्न थालेको छ । तर, विद्युतीय सवारी किन्न जादा त्यसका बारेमा धेरै जानकारी नहुँदा हामी फस्न पनि सक्छौं ।
विद्युतीय सवारी किन्न जादा सबैभन्दा ध्यान दिनुपर्ने कुरा मोटर र ब्याट्री नै हो । विद्युतीय सवारीमा ब्याट्री म्यानेजिङ सिस्टममा समेत समस्या आउने गर्छ । त्यसैले उपभोक्ता सधैं सचेत हुनुपर्छ ।
विद्युतीय सवारी चार्ज गर्दा कति समयमा कट अफ गर्ने, आधिकारिक विक्रेता कम्पनीले बनाएको हो कि होइन जस्ता कुराहरु ध्यान दिनुपर्छ । सवारीको पिकअपको अवस्था र एक पटक चार्ज भएपछि गुड्न सक्ने माइलेज बारे राम्रो जानकारि लिनु जरुी छ । गाडीको ब्रेक क्षमता सम्बन्धी पनि उपभोक्ता जानकार हुनुपर्छ ।
नेपालमा प्राय आयात हुने विद्युतीय सवारी भारत र चीनका हुने गर्छन । भारत र चीनमा २५० वाटका विद्युतीय सवारी दर्ता गर्नुपर्दैन । सहजै किनेर गुडाउन पाइन्छ । नेपालमा मोटर हुने वितिकै विद्युतीय सवारी दर्ता गर्नुपर्छ र लाइसेन्स पनि चाहिन्छ ।