काठमाडौं । मार्बल, ग्रेनाइड, टायल लगायतका वस्तुहरु घर बनाउँदा भान्छा, बाथरुम, भर्याङ तथा जमिनमा लगाइने गरिन्छ । लामो समयदेखि निकै प्रयोगमा रहेको मार्बललाई पछिल्लो समय ग्रेनाइडले विस्थापन गर्न थालेको छ ।
मार्बलको माग ४० प्रतिशत हाराहारीले घटेको नेपाल मार्बल एण्ड सेनिटेसनका सञ्चालक विकास अग्रवालले जानकारी दिए । उनले मार्बलको माग घट्न थालेको झण्डै ५ वर्ष हुन लागेको बताए । २०७४ सालदेखि नै मार्बलको माग घट्न थालेको उनको भनाइ छ ।
मार्बलमा छिट्टै क्रयाक आउने भएकाले मानिसहरमा मार्बल प्रतिको रुची घट्दै गएको उनले बताए । ‘ग्रेनाइडको तुलनामा मार्बल पातलो हुने भएकाले छिट्टै चर्किने गर्छ, ५ वर्ष अघि घरहरुमा मार्बल लगाउने फेसन जस्तै बनेको थियो, अहिले मान्छेहरु ग्रेनाइड खोज्दै आउँछन्,’ अग्रवालले चाणक्य पोष्टसँग भने ।

नेपालमा ३०० बढी मार्बल तथा ग्रेनाइड पसलहरु रहेका छन् । उपत्यकामा मात्र १७० वटा मार्बल तथा ग्रेनाइड पसल रहेको छ । उपत्यकामा रहेका मार्बल तथा ग्रेनाइडपसलहरु ५० लाख माथि लगानीमा सञ्चालनमा रहेका छन् ।
विगतमा नेपालमा गोदावरी मार्बल उद्योग रहे पनि वातारवण प्रदूषलाई लिएर उक्त उद्योग बन्द गरिएको थियो । नेपालमा हाल सबै मार्बल तथा ग्रेनाइड भारतबाट आयात हुने गर्छ ।
मार्बल
हाल मार्बलको मूल्य प्रतिस्क्वायर १४० रुपैयाँदेखि २२५ रुपैयाँसम्म रहेको छ । मार्बलमा छिट्टै क्रयाक आउने र पोलिसिङ समेत लगाउनु पर्ने भएकाले यसको प्रयोग घट्दै गएको उनले बताए । मार्बल फिटिङ गर्न १ महिना लाग्ने गर्छ ।

मार्बल घरमा लगेर फिटिङ गर्दा प्रतिस्क्वायर ५०–५५ रुपैयाँ शुल्क लाग्ने गर्छ । मार्बल भारतबाट ७० प्रतिशत हाराहारीमा आयात हुने गरेको अग्रवालले बताए । मार्बलको मोटाई १० एमएमको हुन्छ जस कारण छिटो क्रयाक आउने गर्छ ।
मार्बल विशेष गरी विक्री गर्न बनाइने घर बनाउदा प्रयोग गरिने गरेको अग्रवालले बताए । मार्बल सस्तो हुने भएकाले त्यसै अनुसार खपत हुने गरेको उनले बताए ।
ग्रेनाइड

ग्रेनाइड प्रयोग गर्दा डबल पोलिस गर्नुपर्ने हुन्छ । ग्रेनाइटको मूल्य १९० रुपैयाँदेखि ५०० रुपैयाँ प्रतिस्क्वार रहेको छ । यो फिटिङ गर्दा १५ दिन लाग्ने गर्छ । ग्रेनाइड फिटिङ गर्दा प्रतिस्क्वायर ६५ रुपैयाँदेखि ७० रुपैयाँ फिटिङ शुल्क लाग्ने गरेको अग्रवालले बताए ।
ग्रेनाइड भारतबाट ८० प्रतिशतको हाराहारीमा आयात हुने गरेको छ । ग्रेनाइड १६ एमएमको हुन्छ । जस कारण हत्तपत्त क्रयाकहरु आउने गर्दैन । प्राय आफै बस्न बनाइने घरहरुमा ग्रेनाइडकै प्रयोग हुने गरेको उनको भनाइ छ ।
टायल
मार्बल, ग्रेनाइड जस्तै किचन, बाथरुप, जमिन तथा पर्खालमा लगाइने टायलहरु समेत भारतबाट आयात हुनेगर्छन् । भारतका १०० बढी उद्योगहरुबाट टायल आयात हुने गरेको छ । टायलको मूल्य प्रतिस्क्वायर ७० रुपैयाँदेखि २०० रुपैयाँ रहेको छ । पछिल्लो समय टायल घरका पर्खालहरुमा समेत लगाउने प्रचन बढेर आएसँगै माग बढेको उनले बताए ।

२० वर्षदेखि मार्बल तथा ग्रेनाइड विक्री गर्दै यसै व्यवसायमा लागेको अग्रवालले ग्रेनाइडको प्रयोग वितगमा धेरै कम भए पनि पछिल्लो समय वृद्धि भएको बताए । ग्रेनाइडको मूल्यमा धेरै अन्तर नपाइए पनि मार्बलको मूल्यभने निकै फरक भएको उनले बताए ।
१६ वर्षअघि ११० रुपैयाँ प्रतिस्क्वायरदेखि विक्री हुने गरेको मार्बलको मूल्य पछिल्लो समय केही महंगो हुन गएको उनको भनाइ छ ।
मार्बल तथा ग्रेनाइडको आयात अवस्था
नेपालमा विगत केही समय मार्बल तथा ग्रेनाइडको आयात घट्दो क्रममा रहेको छ । माग घटेसँगै मार्बल आयात घटेको हो । चालु आर्थिक वर्षको २०७८/७९ को साउन महिनामा कुल ७७ करोड २१ लाख ४३ हजार रुपैयाँ बराबरको मार्बल तथा ग्रेनाइड आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो आयातका क्रममा ३१ करोड २३ लाख ९ हजार रुपैयाँ राजश्व सरकारले उठाएको थियो ।

गत आर्थिक वर्ष २०७७/७८ मा कुल ६ अर्ब ७८ करोड १९ लाख रुपैयाँ बराबरको मार्बल तथा ग्रेनाइड आयात भएको थियो । उक्त आयातका क्रममा सरकारले २ अर्ब ६४ करोड ७२ लाख रुपैयाँ भन्सार राजश्व संकलन गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा कुल ४ अर्ब ७३ करोड १४ लाख रुपैयाँ बराबरको मार्बल तथा ग्रेनाइड आयात भएको तथ्यांकमा उल्लेख छ । सो आयातका क्रममा १ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ भन्सार कर सरकारले उठाएको थियो ।
