सहुलियत पसल आजबाट सुरू, कुन सामानमा कति छुट ?

काठमाडौं । सरकारले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी ल्याएको सुपथमूल्य पसल आजबाट संचालनमा आएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान सहितको सहभागितामा उपत्यकामा १३ सहित ६२ वटा सुपथ मूल्य पसल आजबाट संचालनमा आएका हुन् ।

 

सरकारले संचालमा ल्याएको सहुलीयत पसलले राहत महशुस भएको बताएका छन् ।

 

चाणक्य पोष्टसंगको कुराकानीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा राखिएको सहुलीयत पसलमा आएका भक्तमान श्रेष्ठले सरकारले हरेक वर्ष चाडपर्व लक्षित संचालन गर्दै आएको सहुलीयत पसलले राहत भएको बताए ।

 

‘म इमाडोलबाट खाद्य सामग्री किन्न आएको हुँ । यो वर्ष मात्र नभएर म हरेक वर्ष सहुलीयत पसलमा सामान किन्छु । बजारमा व्यापारीले चाडपर्वको मौका छोपेर मनलागी मूल्य लिन्छन्,कम्तीमा सामानको एकरुप मूल्य पाईन्छ र थोरै भए पनि छुटको व्यवस्था छ त्यसैले पनि राहत महशुस हुन्छ,’ उनले भने ।

 

सरकारले संचालन गर्दैआएको सहुलीयत पसलबाट राहत महशुस गर्ने भक्तमान मात्र होईनन । धेरै उपभोक्ताले राहत महशुस गरेका छन् । यता पुल्चोकबाट सहुलीयत पसलमा आएकी कविता न्यौपानेको भनाई पनि उस्तै छ । आफूलाई आवश्यक पर्ने सबै खाद्य सामाग्रीहरु सहुलीयत पसलबाट लाने गरेको उनले बताईन ।

 

 

‘सहुलीयत पसलबाट खाद्य सामाग्रीसँगै खसी समेत लाने गरेकी छु, चाडपर्वमा मात्र नभएर सरकारले यस्ता सहुलीयत पसल बाह्रै महिना खोले उपभोक्ता ठगिनबाट बच्ने थिए,’ न्यौपाने बताउँछिन् ।

 

आजैबाट सुरु भएको सहुलीयत पसलमा उपभोक्ताको उपस्थिती बाक्लै छ । यसले पनि बताउँछ कि सहुलीयत पसलले उपभोक्तालाई राहत महशुस गराएको छ ।

 

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्ताले थोरै भए पनि राहत महशुस गरुन् भनेर सस्तो पसल संचालमा ल्याएको बताएको छ । असोज १ गतेदेखि कात्तिक २४ गते सम्म संचालन हुने सहुलीयत पसलको लागि आवश्यक सबै सामाग्रीको उचित व्यवस्था तथा स्कट गरिएको लिमिटेडले जानकारी दिएको छ ।

 

चाणक्य पोष्टसंग कुरा गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका वरिष्ठ सहायक ललित कुमार यादवले सहुलीयत पसलमा उपलब्ध सबै खाद्य सामाग्रीहरुको मौज्दात रहेको बताए । सहुलीयत पसलको लागि बासमती ब्राउन बासमती, मकवानपुरे , सावा, सोना मंसुली, स्टिम जीरा लगायत सबैथरी चामलका कुल १० हजार क्विन्टल , दलहन ८१ क्विन्टल, तेल १२ सय लिटर, मौज्दात भएको यादवले जानकारी दिए । यादवका अनुसार यो भन्दा धेरै माग भए तराईका कार्यालयबाट ल्याइने प्रवन्ध गरिएको छ ।

 

चिनी अभाव

 

सरकारले संचालन गरेको चाडपर्व लक्षित सहुलीयत पसलमा यो वर्ष चिनी भने अभाव देखिएको छ । हरेक वर्ष साल्ट टे«डिङ कर्पोरेसनले सहुलीयत पसलको लागि चिनी उपलब्ध गराउने भएता पनि यो वर्ष मौज्दात कम भएको भन्दै कर्पोरेसनले चिनी उपलब्ध गराउन नसक्ने जनाएको छ । जस कारण सहुलीयत पसलमा उपभोक्ताले चिनी किन्न नपाउने यादवले जानकारी दिए ।

 

कुन सामानमा कति छुट

 

सरकारले सुरु गरेको सहुलीयत पसलमा खाद्य सामाग्रीहरुमा प्रतिकिलो ५ रुपैयाँदेखी १० रुपैयाँ सम्म छुटको व्यवस्था गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार सहुलीयत पसलमा चामल र दालमा प्रतिकिलो ५ रुपैयाँ, खानेतेलमा प्रतिलिटर ५ रुपैयाँ, कर्णालीको सिमी र फापरको दानामा प्रतिकिलो १० रुपैयाँ र जिउँदो खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरेको छ ।
कहाँ कहाँ छन् सहुलियत पसल

 

कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक विक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री विक्री वितरण गरिरहेको छ । यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु विक्री वितरणको व्यवस्था गरिएको छ ।

 

चाडपर्वको लागि आवश्यक खसीबोका तथा च्याङ्ग्रा भने घटस्थापनाको दिनबाट बिक्रि सुरु गरिने जनाइएको छ । काठमाडौं उपत्यकाको लागि मकवानपुर र दाङबाट २ हजार वटा खसीबोका ल्याइनेछन् भने मुस्ताङ्बाट १ हजार वटा च्याङ्ग्रा मगाइएको छ । जसको लागि प्रतिकिलो (जिउँदो) १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

 

४० वर्ष पछिको कोलम्बो–काठमाडौं सिधा उडान : एक महिना नपुग्दै सातामा दुई उडान थप Read Previous

४० वर्ष पछिको कोलम्बो–काठमाडौं सिधा उडान : एक महिना नपुग्दै सातामा दुई उडान थप

मार्बललाई विस्थापन गर्दै ग्रेनाइड, ४० प्रतिशतले घट्यो मार्बलको माग Read Next

मार्बललाई विस्थापन गर्दै ग्रेनाइड, ४० प्रतिशतले घट्यो मार्बलको माग