काठमाडौं । श्रीलंकाको राष्ट्रिय वायुसेवा कम्पनी श्रीलंकन एयरलाइन्सले कोलम्बो–काठमाडौं उडान थप्ने भएको छ । एयरलाइन्सले कोलम्बो–काठमाडौं उडान थालेको एक महिना नपुग्दै २७ सेप्टेम्बरदेखि हप्तामा थप दुई उडान थाल्ने भएको हो ।
यसअघि १५ भदौ देखि एयरलाइन्सले मंगलबार र शनिबार गरी हप्तामा दुईवटा उडान सुरु गरेकोे थियो । योसँगै श्रीलंकन एयरले कोलम्बो–काठमाडौं उडान सोेमबार, मंगलबार, बिहिबार र शनिबार गरी सातामा ४ वटा उडान गर्ने भएको छ ।
यात्रुहरुको संख्या बढि भएका कारण सातामा दुई उडान थप गरेको श्रीलंकन एयरलाइन्सको नेपाल स्थित जनरल सेल्स एजेन्ट जेनिथ ट्राभल्सका प्रबन्धक दीपक मैनालीले बताए ।
‘दुबै ठाउँबाट आवतजावत गर्ने यात्रुहरुको संख्या उल्लेख्य रहेको छ,’ मैनालीले चाणक्य पोष्टसँग भने, ‘आवतजावत गर्नेहरुको संख्या बढेर नै दुइवटा उडान थप गरिएको हो, अब सातामा चारवटा उडान हुनेछन् ।’
एयरलाइन्सले १५० वटा सिट क्षमताका जहाज उडान गरिरहेको छ । अब सातामा चारवटा उडान मार्फत ६ सय यात्रु आवतजावत गर्न सक्ने उनले बताए ।
हाल धेरै जसो नेपालीहरु नै श्रीलंकन एयरलाइन्स मार्फत तेस्रो मुलुक आवतजावत गरिरहेका छन् । एयरलाइन्सले श्रीलंकाबाट नेपाल आउने बौद्ध मार्गिहरुलाई लक्षित गरेर कोलम्बो–काठमाडौं सिधा उडान थालेको थियो ।
उक्त उडानसँगैै नेपाल–श्रीलंका सिधा हवाई सम्पर्क संञ्चालनमा आएको होे । करिब ४० वर्ष अघि काठमाडौं–कोलम्बो उडान तत्कालीन शाही नेपाल वायुसेवा निगम (हाल नेपाल एयरलाइन्स)ले गर्ने गरेको थियो । तर, श्रीलंका गृहयुद्धमा फसेसँगै र यात्रुहरूको अभाव भएसँगै उक्त उडान बन्द भएको थियो । त्यसपछि लामो समय नेपाल र श्रीलंका बिच सिधा हवाई सम्पर्क बन्द रहेको थियो ।
केही समयअघि हिमालयन एयरलाइन्सले काठमाडौं–कोलम्बो सिधा उडान गर्ने प्रयास गरेपनि व्यवसायीक कारणले सफल हुन सकेन ।
श्रीलंकामा ७० प्रतिशत जनसंख्याले बौद्ध धर्म मान्न्छन् । त्यसकारण उनीहरुको रोजाइमा नेपाल पर्ने गरेको छ । श्रीलंकनहरु विगतका वर्षहरुमा तेसा्रे मुुलुक भारत हुँदै नेपालको लुम्बिनी दर्शन गर्न आउने गरेका थिए । तर, यस वर्षदेखि सिधा उडाले दुई देशका पर्यटकहरु जोडेको छ ।
उडान थालेदेखि नै यात्रुहरुको चाप धेरे रहेको एयरलाइन्सको नेपाली एजेन्टको भनाइ छ । उक्त अवस्थालाई मध्येनजर गदै केही समयमै उडान थपिनुले नेपालको पर्यटन तथा आर्थिक क्षेत्रमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
श्रीलंकाबाट नेपाल आउन प्रतिव्यक्ति बढीमा ५०० डलर भाडा लाग्ने गरेको छ । पछिल्लो समय कोरोना महामारीको संक्रमण घट्न थालेपछि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर श्रीलंकाले सबै क्षेत्र खुला गरेको छ । यस्तै, श्रीलंकाबाट नेपाल आउँदा भ्याक्सिन नलगाएकाहरूले शुरूमै ७ दिनको लागि होटल बुकिङ, पीसीआर परिक्षण रिपोर्ट देखाउनु पर्ने लगायत स्वास्थ्य मापदण्ड पालना गनुपर्ने व्यवस्था गरिएको छ ।