नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएको छ । परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै यसका लागि खोपको पूर्ण मात्रा लगाएका र पिसिआर नेगेटिभ रिपोर्ट भएका व्यक्तिहरुलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न जोड दिएको हो ।
पर्यटन क्षेत्रको विकास र नेपालमा प्रवद्र्धनका लागि पर्यटन समिति गठन गर्दै परिसंघले यस क्षेत्रको शीघ्र पुनरोत्थाका लागि सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्नेमा पनि जोड दिएको छ । परिसंघकी राष्ट्रिय परिषद सदस्य पम्फा धमलाको सभापतित्वमा गठित समितिको पहिलो बैठकले पर्यटन क्षेत्रमा सक्रिय सम्पूर्ण व्यवसायी एवं श्रमिक तथा मजदूरहरुलाई पूर्णरुपमा खोप उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी नेपाल आउन चाहने पर्यटकलाई अन अराइभल भिसा उपलब्ध गराउन पहल गर्ने र विभिन्न देशहरुले अझै पनि नेपाल भ्रमणका लागि जोखिमयुक्त मुलुकको सूचीमा राखेकाले त्यसलाई हटाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
पर्यटन समिति गठन कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले कोभिड–१९ बाट प्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि सरोकारवाला सबै एक ठाउँमा उभिनुपर्ने बताए । पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सहजीकरण आवश्यक पर्ने भन्दै उनले परिसंघले त्यसको नेतृत्व लिने बताए ।
उनले विभिन्न देशले आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि खुला नगरेको भन्दै नेपालमा विदेशी पर्यटक आउन सक्ने वातावरण बनाउन परिसंघमार्फत कुटनीतिक पहल अघि बढाउने उल्लेख गरे । उपाध्यक्ष शाहले नेपाल भ्रमणका लगि सुरक्षित गन्तव्य भएको सन्देश विश्वभर दिनुपर्ने बताए । “भ्याक्सिनको तीव्र वितरणमार्फत् नेपाललाई सुरक्षित गन्तव्यको पहिचान दिन आवश्यक छ,” उनले भने , “त्यसको पहल परिसंघले गर्नेछ ।”
समितिकी सभापति पम्फा धमलाले कोभिडले पर्यटन क्षेत्रमा गम्भीर संकट परेको भन्दै यस क्षेत्रलाई पुरानै लयमा फर्काउन धेरै काम गर्नुपर्ने बताइन् । उनले यो वर्षको पर्यटन आवागमनको सिजन सुरु हुन लागेको भन्दै यसलाई पर्यटन पुनरोत्थानको अवसरको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।
बैठकमा भर्चुअलरुपमा सहभागी भएकी समिति सदस्यहरु राहुल चौधरी, अशोक पोखरेल, प्रविण पाण्डे र शारिक लारीले पर्यटन क्षेत्रमा कोभिडबाट समस्याग्रस्त पर्यटन पुनरोत्थानका लाथि परिसंघले नेतृत्वदायी भूमिकामा काम गर्न सक्ने उल्लेख गरे । यस्तै बैठकमा उपस्थित भएका समिति सदस्यहरु तिलक लामा, शेखर प्रसाईँ, लाक्फुली शेर्पा र हिक्मतसिंह ऐरले समितिले निश्चित उद्देश्य लिएर काम गर्नुपर्नेमा जोड दिँदै ती उद्देश्य हासिल गर्नेगरी काम गर्न सुझाव दिए । उनले कोभिडबाट जोगिन तल्लो तहसम्म जनचेतना जगाउन आवश्यक रहेको उल्लेख गरे ।
परिसंघले गठन गरेको यस समितिमा छाँया शर्मा, राहुल चौधरी, शारिक लारी, अशोक पोखरेल, प्रविण पाण्डे, तिलक लामा, शेखर प्रसाईँ, लाक्फुली शेर्पा र हिक्मत सिंह ऐर सदस्य छन्।