चाडपर्व नजिकिएसँगै कपडाको व्यापार बढ्दै, आयात दोब्बरले बढ्यो

काठमाडौँ । ओखलढुङ्गाका गौरव बस्नेत विगत ८ वर्षदेखि काठमाडौँको महाबौद्धमा कपडा पसल सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय व्यापार बढेसँगै चीनबाट नयाँ कपडा आयात गरिन थालेको उनले बताए ।

 

‘यसअघि कोरोनाका कारण विदेशबाट कपडा ल्याउन बन्द नै थियो,’ उनले भने, ‘अहिले चाडपर्व नजिकिदंै छ, मान्छेको चहलपहल पनि बढेको छ । त्यसैले चीनबाट नयाँ कपडा आयात गरिन थालिएको छ ।’

 

सामान्य अवस्थामा दैनिक २ लाखसम्मको व्यापार हुने गरेकोमा लकडाउनमा शून्य अवस्थामा पुगेको बस्नेत बताउँछन् । अहिले भने व्यापार विस्तारै बढ्न थालेको उनले बताए ।

 

 

दुई वर्षसम्म कोरोना महामारीको चपेटामा परेका व्यापार व्यवसाय केही सामान्य अवस्थामा फर्किन थालेका छन् । विशेषगरी दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिदैं गएका छन् । अहिले कपडा व्यापारको सिजन नै भएको व्यवसायीहरु बताउँछन् ।

 

गत वर्ष लकडाउनका कारण विदेशबाट कपडा आयात गर्न समस्या भएको थियो । अर्कोतिर लकडाउनले बजार नै ठप्प भएपछि ल्याएका सामान पनि बिक्री नहुने स्थिति बन्यो । जसकाकारण कतिपय व्यापारीले पुराना कपडा गोदाममै थन्क्याएर राखेको व्यापारीहरु बताउँछन् ।

 

‘पहिलेको लकडाउनमा कपडा घरभित्रै गोदाम बनाएर समेत राखियो । अहिले त्यस्तो स्थिति छैन,’ कपडा व्यापारी सुसान महर्जनले भने,‘पुराना कपडा सबै गइसके । अहिले चीनबाट नयाँ सामान आउन थालेको छ । चाइनाले जस्तो चाह्यो त्यस्तै बनाईहाल्छ ।’

 

अर्डर गरे अनुसार नै चिनियाँ व्यापारीहरूले सामान तातोपानि र केरुङ नाका सम्म ल्याइदिने गरेका छन् । पछिल्लो समय भारत र चीन दुवै देशबाट लत्ताकपडा चाहे जति आइरहेको व्यवसायहरूको भनाई छ ।

 

‘कपडाको मूल्य बढाउँछन् व्यापारी’, छैन् बजार अनुगमन

 

माग अनुसार भारत र चीनबाट कपडाको आयात भइराखेको व्यापारीहरू नै बताउँछन् । तर, बजार अनुगमन र स्पष्ट मुल्यको मापदण्ड नहुँदा व्यापारीले आफु खुसी कपडाको मूल्य असुलिरहेको उपभोक्ताको गुनासो छ ।

 

‘बजारमा कपडाको अभाव देखाएर केही व्यापारीहरूले बढि मूल्यमा बेच्ने गरेका छन्,’ बुधबार महाबौद्घ स्थित एक पसलमा भेटएका उपभोक्ता मानसिंह तामाङले भने, ‘यस्तै हो, जसले जे मन लाग्यो त्यही गर्छन् । सरकारले कहाँ हेर्छ हामी जस्ता मान्छेलाई ?’

 

विदेशबाट सस्तोमा आयात गरिने कपडा नेपाल आएपछि निकै महंगोमा किन्नु परेको उनको भनाइ छ । कपडाको अर्डर गर्ने र नाकाबाट ल्याउने बिचका व्यापारीले नै होलसेल पसलमा बेच्ने गरेका छन् । उनीहरूको पसलबाट सबै साना व्यपारीहरूले कपडा लिने गरेका छन् ।
यसरी सरकारी नियमनको अभावका कारण जसले जति मन लाग्यो त्यति मूल्य लिने गरेको तामाङ बताउँछन् ।

 

 

दोब्बरले बढ्यो आयात

 

दशैं केन्द्रित गरि चालु आर्थिक वर्षको साउन महिनामा ६८ करोेड ८८ लाख रुपैयाँको बराबरको लत्ताकपडा आयात भएको थियो । उक्त लागतमा ६३ लाख २० हजार पिस बराबर कपडा आयात भएको भन्सार विभागको तथ्यांंकले देखाएको छ । सो कपडा आयातका क्रममा सरकारले २५ करोेड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

 

यस्तै गत आव २०७७÷७८ को साउन महिनामा कुल ३३ करोड २३ लाख रुपैयाँ बढिको लत्ताकपडा आयात भएको थियो । सो लागतमा ३५ लाख ४४ हजार पिस बढि कपडा आयात भएका थिए । उक्त कपडा आयातका क्रममा १२ करोड २२ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

आर्थिक वर्ष २०७७÷७८ मा ८ अर्ब ९६ करोड रुपैयाँ बराबरको लत्ताकपडा आयात भएको थियो । उक्त लागतमा १ करोड ६३ लाख २० हजार पिस कपडा आयात भएको भन्सारको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा कुल ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको १ करोड ६३ लाख पिस लत्ताकपडा आयात भएको थियो ।

 

आँखै अगाडिका तमाम बेथिति र रमिते सरकार Read Previous

आँखै अगाडिका तमाम बेथिति र रमिते सरकार

रोकिएन नेप्सेमा पहिरो जाने क्रम, ७६ अंकको भारी गिरावट Read Next

रोकिएन नेप्सेमा पहिरो जाने क्रम, ७६ अंकको भारी गिरावट