आँखै अगाडिका तमाम बेथिति र रमिते सरकार

काठमाडौं । म आफ्नो कार्यालय (बानेश्वर)को झ्यालबाट बाहिरी सुन्दर दृश्य नियाली रहेको छु । मन्दमन्द चलेको बतास, पानी पर्ला पर्ला झैँ भएको आकाश । बादल र कुहीरोको छानो मुनिको काठमाडौं । अनि मनै लोभ्याउने क्षितज तल देखिएका हरियाली वनजंगल । लाग्दै छ कोठा भित्रैबाट पनि प्रकृतिका अनेक दृश्य हेर्दै आन्दित हुने उत्कृष्ट समय हो यो ।

 

फेरि सोच्छु यति सुन्दर र रमणीय स्थान भित्र बेथितिका पोकाहरु खोतल्ने हो भने कति होलान् । किनभने हरेक चिजका राम्रा र नराम्रा पाटा हुन्छन् नि । सुन्दर दृश्य देखिने सहर भित्रै भने यति धेरै बेथिति र समस्याका चाङ छन् कि वयान गरी साध्य छैन ।

 

प्रकृतिमा लठ्ठ मेरा सुन्दर नयँन एकाएक छरपस्ट भएर घरका कौशिमा कालै भएर बसेका पानीका ट्याङ्कीमा पुग्यो । एकनासका घर छैन्न, कुनै गगन नै चुमुला झैँ अग्ला त कुनै भुईमै टाँसिएका जस्ता देखिने यी घरले सुन्दरता यसरी हरायोकी कुरा गरेर साध्य नै छैन । सोचे सहरी क्षेत्रमा बनेका या बन्दै गरेका भवनहरु एकनाका भएका भए यसले छुट्टै सुन्दरता दिन्थ्यो होला नि । झ्यिालबाट मैलै नियाल्दा अव्यवस्थित घरका कौशिमा रोखिएका पानीका ट्याङ्कीले झन सुन्दरता यस्तो विगारेको छ कि झ्यालबाट नियाल्दा काला ट्याङ्की बाहेक अरु दृश्य नै देखिँदैन ।

 

देशमा सरकार छ । देशलाई विकास गरी समृद्धि बनाउने हाँक दिने नेतैनेता छन् । नेताको थान्को र रोजीरोटीका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा सरकार छन् । ती मातहत तमाम मन्त्रालय, विभाग, डिभिजन लगायत निकाय छन् । त्यहाँ (अपवाद बाहेक) देश र जनताका समस्याका समाधानभन्दा पनि आफ्नो र आफ्ना मान्छेको विकास र भलो गर्ने व्यक्ति आसिन छन् ।

 

त्यहाँ बस्ने व्यक्तिका आँखाले पनि मेरो आँखाले जस्तै प्रकृतिका मनोरम दृश्य त देख्छ । तर, मेरा आँखाले देख्ने सहरका तमामा समस्या, विकृति, बेथिति देख्दैन । कदापि देखिहाले पनि नदेखै झैं गर्छ । म भने सधैं समस्या र बेथिति भित्रै दैडिरहेको हुन्छु । लाग्छ यी समस्या कहिले समाधान होलान् । कहिलेदेखि देख्न नपर्ला ? यी प्रश्नहरु अनुत्तरित छन् । किनकी यी प्रश्नको उत्तर दिने राज्य सधैं मूकदर्शक थियो, छ र हुनेछ । म भने यी समस्या र बेथिति हेर्न, भोग्न अभ्यस्त भइसकेँ ।मैले दैनिक देख्ने र भोग्ने केही समस्या र बेथिति यस्ता छन्, जुन नदेखी, नभोगी सुखै छैन ।

 

फोहर : अफिस सकेर घर फर्किन लाग्दा अफिस अगाडि नै र घर आउँदा घर अगाडि नै फोेहरको डंगुर यस्तो छ कि दुईवटा मास्क खप्टेर लगाउँदा पनि फोहरको गन्ध नाक सम्म पुग्छ । महिनौं दिनसम्म काठमाडौं महानगरले फोहर व्यवस्थापन गर्न नसक्दा श्वास फेर्न नै असहज हुने भएको छ । विगतको सुन्दर काठमाडौं अहिले फोहरमाण्डुको नामले समेत चिनिन थालिएको छ । तर, फोहरको दीर्घकालीन व्यवस्थापन गर्न न महानरले सकेको छ, न सरकारले नै । हामी सधैं फोहरको थु्रपोलाई नजर अन्दाज गर्दै दैनिकी चलाउन विवश छौं ।

यात्रा र जाम : म सामान्य परिवारको सदस्य हुँ । मसंग आफ्नो कुनै सवारीसाधन छैन । त्यसैले म सधैँ आवतजावतको लागि सार्वजनिक यातायात नै प्रयोग गर्छु । तर आफू चढेको बसको चालकले यस्तो गरी सवारी चलाउँछन् कि सिटमा बसेको मान्छे नै तल झर्ला जस्तो हुन्छ । ओभरट्याग गरेर उछिन्न खोज्दा दुर्घटनाको सम्भावना उत्तिकै छ । धेरै पटक चालकसँग दाई यस्तो अभद्र तरीकाले गाडी किन चलाउनु ुहन्छ भनेर प्रश्न गरे उत्तर आयो, “हाम्रो समयसीमा हुन्छ कहिले काहीँ यस्तै हो ।

 

हतारमा हुँइकिने त्यही गाडी केही बेरमै जाममा फस्छ । अफिस जाँदा होस या घर फर्किदा जाममा नपरेको दिन हुँदैन । त्यही जाममा फस्ने गाडीहरुले मात्रै वर्षमा अर्बौं कर तिर्छन् । तर, सरकारले जाम र सडक व्यवस्थि बनाउन होइन त्यो पैसा आफ्नो तलब, भत्ता र सुविधाका लागि खर्च गर्छ । बचेकुचेको केही रकम सडकका लागि आउँछ । त्यो पनि ठेकेदारले झाराटार काम गरेर आफ्नो गोजीमा पार्छ । तर, म र मजस्ता लाखौं मानिस भने उही जाम भोग्न बाध्य छौं ।

 

जेब्रा क्रस : मेरो बासस्थान पुग्न गाडीबाट झरेर केही समय हिँड्नु पर्छ । जेब्राक्रसबाट बाटो काट्न खोज्यो कुनै सवारी साधनले रोक्दैन्न, बरु आँखा छैन, मर्न मन लागेको छ कि के हो भनेर उल्टै थर्काउँछन । यस्तो लाग्छ कि पैदल यात्रु मान्छे नै होइन्न भन्ने सोच्छन् सायद । सबै जेब्राक्रसमा ट्राफिक लाइट नभएकाले पति पैदन यात्रुलाई बाटो काट्न धेरै समस्या छ । त्यसैगरी, आकासेपुलको संख्या कम भएकाले पनि बाटो काट्न समस्या देखिएको छ ।

 

हिलाम्मे र खाल्डाखुल्डी सडक : भदौ महिना सकिँन लाग्दा पनि भारी वर्षाको क्रम जारी छ । राजधानीका सडकको अवस्था विगत देखि नै दयनीय छ । महानगरकै कतिपय सडक यस्ता छन् कि वर्षौदेखी वर्षा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् । खाल्डाखुल्डी उस्तै छन् । पानी परेपछि बाटो हो कि खाल्टो हो छुट्याउन नसकेर धेरै दुर्घटना हुने गरेका छन् ।

त्यसैमाथि पैदल हिँडिरहेका मान्छेलाई हुँत्तिदै आएका सवारी साधनले हिलो पानी छेपेर जान्छन् । पैदल यात्रुलाइृ सहज रुपमा हिड्न दिएर आफू जाँदा हुन्छ भन्ने सोँच कुनै पनि सवारी चालकहरुमा देखिँदैन । फलतः घर जाँदै गर्दा होस् वा कार्यालय आउँदै गर्दा लुगामा फोहर पानीले राज गरिसकेको हुन्छ । यस्तो घटना म आफैले धेरै पटक भोगेकी छु ।

 

सडक व्यापार  : अस्तव्यस्त काठमाडौंको अर्को ठूलो समस्या भनेको सडक व्यापार पनि हो, फुटपाथमा समेत व्यापार गरेर पैदल यात्रुहरु सहज रुपमा हिँड्न सक्ने अवस्था नै छैन, कतिपय ठाउँमा सडक व्यापारकै कारण यतिसम्म हुन्छ कि बाटो काट्न पनि मन्दिरमा पूजा गर्न लाइन लागे झैँ लाइनमा बसेर बाटो काट्न् पर्छ ।

सडक मानव : काठमाडौंमा धेरै ठाउँमा सडकमा माग्नेको संख्या धेरै छन् । बिहान बिहानै गीत बजाउँदै घर. घरमा माग्न आउँनेदेखी सडकमा हिँड्दै गर्दा खुट्टा समातेर ढोग्ने सम्मका माग्नेले वाक्क दिक्क नै पार्छन । माग्लेलाई पनि आफ्नो खुसीले दिन पाए पो मनमा सन्तुष्टि हुन्छ,जबरजस्ती दिनै पर्ने अवस्था आउँदा कहाँ राम्रो लाग्छ र ।

दुई वर्ष अघि नै काठमाडौं महानरपालिकाले कामपालाई सडक मानवमुक्त सहर घोषणा गरेको थियो । तर, त्यो कागजमा यर्थाथ हो तर, व्यवहारमा कदापि होेइन । कार्यान्वयनको पाटो भने फितलो देखिएको छ । काठमाडौं महानगर नजिकै रत्नपार्क ,न्यूरोड र भृकुटीमण्डप लगाएतका ठाउँमा सडक मानवले घेरा नै हालेका छन् । मन्दिर जस्तो पवित्र ठाउँमा माग्ने कति छन् त्यो भनी साध्य नै छैन ।

 

यी केही मैले र मजस्ता काठमाडौंमा बस्ने अधिकांशले देख्ने भोग्ने समस्या हुन् । यी समस्या म जन्मेदेखि निरन्तर छन् । तर, समाधान कहिले ?

 

भोलिदेखि ४३ स्थानमा खाद्य कम्पनीको सुपथ मूल्य पसल, कुन कुन ठाउँमा ? Read Previous

भोलिदेखि ४३ स्थानमा खाद्य कम्पनीको सुपथ मूल्य पसल, कुन कुन ठाउँमा ?

चाडपर्व नजिकिएसँगै कपडाको व्यापार बढ्दै, आयात दोब्बरले बढ्यो Read Next

चाडपर्व नजिकिएसँगै कपडाको व्यापार बढ्दै, आयात दोब्बरले बढ्यो