काठमाडौं । भान्छामा दैनिक उपभोग हुने खाने तेल (तोरी, भटमास र सूर्यमुखी)को मूल्य पछिल्लो डेढ वर्षमा दोब्बरभन्दा धेरैले वृद्धि भएको छ । डेढ वर्षअघि औसतमा प्रतिलिटर १६० रुपैयाँ हाराहारीमा रहेको खानेतेलको मूल्य अहिले औसत ३२५ रुपैयाँ हाराहारी पुगेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको तथ्यांक अनुसार विभागका अनुसार २०७७ भदौमा तोरीको प्रतिलिटर १७७ रुपैयाँ, भटमासको १५२ र फ्लावर तेलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ रहेको थियो । हाल बजारमा खाने तेलको मूल्य बढेर प्रतिलिटर तोरी ३३५ रुपैयाँ, भटमासको २५० र सनफ्लावर प्रतिलिटर २५२ देखि ३७५ रुपैयाँसम्म पुगेको छ ।
मागमा कमी आइ खपत घटेको भन्दै उद्योगीले २०७७ भदौमा एकैपटक तेलको मूल्य ६० रुपैयाँसम्म बढाएका थिए । त्यसयता पनि महिनैपिच्छे लिटरमा १० देखि २० रुपैयाँसम्म भाउ बढाउँदै आएका छन् । यद्यपि, दुई महिना अघि भने तेलको भाउमा सामान्य गिरावट आएको थियो । तर, त्यसपछि फेरि तेल उद्योगीहरुले कच्चा पदार्थको मूल्य वृद्धि भएको भन्दै तेलमा मूल्य वृद्धि गरेका छन् ।दशैं तिहार जस्ता चाडवाड नजिएकाले खपत बढ्ने हुँदा अझै भाउ बढ्ने सम्भावना देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य अस्वभाविक बढेकाले नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको उत्पादकहरु बताउँछन् । एक तेल उद्योगीका अनुसार अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य बढेर प्रतिमेट्रिकटन १२ सय डलर हाराहारीमा पुगेको छ । ‘विगत डेढ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमै भाउ लगातारर बढीरहेको छ,’ उनले भने, ‘उतै महँगो भएपछि हामीले यता सस्तोमा कसरी बेच्नु ?’
यस्तै, पछिल्लो समय उद्योगीहरुले ठूलो परिमाणमा तेल विदेश निर्यात गर्न थालेका छन् । जसले स्वदेशी बजारमा मागभन्दा कम आपूर्ति गराई भाउ बढ्ने गरेको छ ।
उद्योगीले तेलको कच्चा पदार्थ क्रुड आयल (लेदो तेल) आयात गर्ने गर्छन् । त्यसलाई उद्योगमा ल्याएर रिफाइन गरी बजारसम्म पुर्याउने गरिन्छ ।
मूल्य बढ्नु स्वभाविक हो : विभाग
यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले भने खाने तेलको मूल्य बढ्नु स्वभाविक रहेको बताए । उनले उद्योगीले आयात गरेको मूल्यको विवरण हेर्दा तेलको मूल्य वृद्धि हुनु स्वभाविक देखिएको बताए ।
‘हामिले आजसम्म उद्योगीसँग लिएको डेटा हेर्दा यो नेचुरल हो, कुनै कैफियत देखिएको छैन, उनीहरुले आयात गर्ने मूल्य, यता ल्याएर रिफाइन गरेर बजारसम्म पुर्याउने एमआरपी प्रकृया अनुसार कुनै कैफियत भेटिएको छैन त्यसैले यो नेचुरल हो,’ सेढाईंले चाणक्य पोष्टसँग भने ‘उनीहरुले ल्याएकै लागत बढी भएपछि उनीहरुलाई किन महंगोमा बेचिस भन्न हामीले मिल्दैन ।’
उनले हाल मूल्य वृद्धि हुनु बीचमा भएको उत्पादको कारण नभएको भन्दै तेल उद्योगीको बचाउ गरेका छन् । बीचमा केही समस्या भए त्यसको अनुसन्धान भइरहेको उनले बताए । ‘अस्ति मात्रै हामीले नेपालका सबै २० वटा तेल उद्योगलाई बोलाएर सोधपुछ गरेका छौँ, बीचमा केही गल्ती पत्ता लगायौँ भने हामी कारबाही गरी हाल्छौं,’ उनले भने ।
उनलाई उद्योगीबाट पाइएको तथ्यांकका विषयमा आयातदेखि बजारसम्म पुग्दाको मूल्य माग गर्दा भने उनले मूल्यांकन भइरहेको बताए । उनले आजको मितिसम्म विभगाले अध्ययन गरी नसकेका भन्दै उद्योगीबाट प्राप्त तथ्यांक प्रकाशन भएपछि सबैले थाहा पाउने बताए ।
मागको आधा बढी आयातकै भर
नेपालमा खाने तेलको माग धान्न आधा बढी विदेशबाटै आयात भइरहेको तथ्यांकले देखाएको छ । कृषि मन्त्रालयका अनुसार नेपालमा वनस्पति तेलको माग सन् २०१९/२० मा २ करोड ५९ लाख २० हजार टन पुगेको छ । तर, स्वदेशी उत्पादन जम्मा १ करोड ६ लाख ५० टन मात्रै रहेको छ ।
स्वदेशी उत्पादनबाट तोरीको दाना, बदामको दाना, नरिवल, पाम तेल र राइस ब्रेन आयल, कटन सिड गरेर १ करोड ६ लाख ५० हजार लिटर तेल मात्रै प्रसोधन हुने गरेको हो । यस आधारमा नेपालमा खपत हुने मध्ये १ करोड ५२ लाख ७० हजार लिटर तेल आयात हुने गरेको छ । यसरी हेर्दा माग धान्नका लागि आयात गर्नै पर्ने देखिन्छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा ८० अर्ब ६५ करोड ४९ लाख रुपैयाँ बराबरका खाने तेल तथा कच्चा पदार्थहरु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो मूल्य बराबरको ६८ करोड ८३ लाख ८८ हजार केजी कच्चा पदार्थ तथा तेल आयात भएको थियो ।