नेपाल एयरलाइन्सले दैनिक नयाँ दिल्ली उडान गर्ने, भाडा सस्तिने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा १० उडान हुने भएका छन् ।

 

नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा साताका तीन दिन (आइतबार, मङ्गलबार र शुक्रबार) उडान अनुमति पाएको छ ।

 

एयर बबल सम्झौताअनुसार यसअघि नयाँ दिल्ली गन्तव्यमा सातामा तीन उडान हुँदै आएका थिए । बन्दाबन्दीपछि सुरुमा सातामा एक र दुई उडान गर्दै आएकामा अहिले एयर बबलअनुरुप नै दैनिक उडान तालिका बनाइएको हो ।

 

भारतका अन्य दुई महत्वपूर्ण गन्तव्य बैङ्लोर र मुम्बई गन्तव्यमा उडान सञ्चालनको अनिश्चितता कायमै छ । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

 

नयाँ दिल्ली गन्तव्यमा दैनिक उडानले दशैँको अवसरमा यात्रुलाई निकै राहत पुग्ने र यसले निगमको व्यापारमा पनि सकारात्मक प्रभाव पार्नेछ । साथै दैनिक उडान भएपछि हवाई भाडासमेत केही सस्तिने अनुमान गरिएको छ ।

 

हवाईमार्ग भएर दिल्लीबाट धेरै नेपाली तथा भारतीय आउने भएकाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । नेपालमा पर्यटकीय सिजनशुरु भएको छ । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउँछन् ।

तेह्रथुम पावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेनुहोस् नतिजा Read Previous

तेह्रथुम पावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेनुहोस् नतिजा

साधना लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

साधना लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?