काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित एक विशेष समारोहबीच सेनाकी परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ खुवाएकी हुन् ।
पूर्णचन्द्र थापाको कार्यकाल सकिएसँगै शर्माले प्रधान सेनापतिको कार्यभार सम्हालेका हुन् । सेनापती शर्माले अघिल्ला प्रधान सेनापति थापाको लिगेसीलाई निरन्तरता दिँदै यसअघिनै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
नव नियुक्त प्रधान सेनापति शर्माले रथी पदमा बहाली भई कामु प्रधान सेनापतिको जिम्मेवारी सम्हालेको अवस्थामा साउन २७ गते नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार काठमाडौं नागर्जुन नगरपालिकामा आमा शुभद्रा पौडेलको नाममा साढे दुई तल्लाको पैतृक घर छ। यसैगरी आमाकै नाममा नागर्जुन नगरपालिकको वडा नं ४ मा ८ रोपनी र वडा नम्बर ६ मा ४ रोपनी पैतृक जमिन रहेको छ।
यसैगरी, शर्माकी श्रीमती सुनिता शर्माको नाममा ललितपुर महानगर पालिका वडा नम्बर १५ मा २० लाख रुपैयाँको लागतमा खरिद गरिएको जमिन छ। जुन रकम सैनिक सहचारी रहँदा आर्जित रकमबाट किनेको प्रधान सेनापति शर्माले सम्पत्ति विवरणमा उल्लेख गरेका छन।
चल सम्पत्तिको विवरणमा चाँदीको सामान २० तोला र सुनका गहना साढे १३ तोला रहेको तथा ती पैतृक तथा केही तलब भत्ताबाट गरिद गरिएको जनाइएको छ।
प्रधान सेनापति शर्माको नाममा नबिल बैंक बानेश्वरमा रहेको ७ हजार अमेरिकी डलर सैनिक सहचारी हुँदा प्राप्त भएको, राष्ट्रिय वाणिज्य बैंक विशालबजारमा रहेको १६ लाख रुपैयाँ शाही सेनाको विदेश तालिमहरु तथा तलब भत्ताबाट प्राप्त भएको उल्लेख छ। यसैगरी उनकै नाममा नेपाल इन्भेष्टमेण्ट बैंक दरवारमार्गमा रहेको ५ लाख रुपैयाँ प्राप्तिको स्रोत तलब भत्ता उल्लेख गरिएको छ।
सम्पत्ति विवरणमा उनले कसैसँग पनि ऋण नलिएको तथा कसैलाई पनि ऋण दिएको उल्लेख गरिएको छैन।
प्रधानसेनापति शर्मा को हुन् ?
प्रधान सेनापति शर्माले सन् १९८४ मा श्री पुरानो गोरख गणबाट आफ्नो सैनिक जीवन आरम्भ गरेका थिए। भारतबाट नेशनल डिफेन्स कोर्स गरेका उनले अमेरिकाका विभिन्न शिक्षालयहरूबाट तालिमहरू गरेका छन्।
नेपाल(भारतबीच वार्षिक रूपमा सञ्चालन हुने सुरक्षासम्बन्धी उच्चस्तरीय बैठकहरूमा भाग लिएको अनुभव पनि उनमा छ।
युद्ध कार्य महानिर्देशक, संभाररथी महानिर्देशक र बलाध्यक्षजस्ता जङ्गी अड्डा भित्रका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै उनी नेपाली सेनाको दोस्रो उच्च पद बलाधिकृतमा नियुक्त भएका थिए।
राष्ट्र सङ्घको पूर्वी टिमोर र कङ्गोमा रहेको मिसनमा खटिने नेपाली फौजको कमान्ड गरेका उनी सन् २००८ देखि २०११ सम्म बंगलादेशको ढाकामा सैनिक सहचारी रहेका थिए।
त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका उनले भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफीलसम्म अध्ययन गरेका छन्।
यस्तो छ शर्माको सम्पत्ति विवरण