पार्टी प्यालेसमा गरिएको अर्बौं लगानी डुब्ने जोखिम, व्यवसायी भन्छन्-घरजग्गा लिलाम हुने दिन आइसक्यो

"८० हजारले गुमाए रोजगारी"

काठमाडौं । काठमाडौं सुकेधारस्थित नवदुर्गा पार्टी प्यालेस राजधानीमा नाम चलेकै पार्टी प्यालेस मध्ये एक हो । नारीहरुको महान् पर्व हरितालिका नजिकिँदै गर्दा नवदुर्गा पार्टी प्यालेसका संचालक रुपक बाँनियालाई भ्याइनभ्याइ हुन्थो । तीजको दर खानको लागि भीड हुने यो पार्टी प्यालेस यतिबेला सुनसान छ । विगत १७ महिनादेखि यो पार्टी प्यालेसमा मिठो मसिनो परिकार पाक्न सकेको छैन ।

 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले २०७६ चैत ११ गते देखि लकडाउन शुरु गर्यो , योसँगै धेरै व्यवसायहरु ठप्प भए । बीचमा सरकारले नै केही व्यवसायहरु खोल्न अनुमति दिए पनि होटल, पार्टी प्यालेस, क्याटरिङ व्यवसाय भने संचालनमा आउन अनुमति दिइएन । होटल, पार्टी प्यालेस जस्ता व्यवसाय बन्द नै रहे, र हाल सम्म पनि संचालनमा आउन सकेका छैनन् ।

 

स्तर र क्षमता अनुसार पार्टी प्यालेसहरु २ करोडदेखि १७ करोडसम्म लगानी भएको बताइएको छ ।  जसमध्ये ७० प्रतिशत भन्दा बढीले बैंकको ऋण लिएका छन् । बैंकको ऋण तिर्न नसक्दा घर, जग्गा नै लिलाम हुने अवस्था आएको व्यवसायीहरु बताउँछन् ।

 

विगत १९ वर्षदेखि संचालनमा आएको नवदुर्गा पार्टी प्यालेसका संचालक रुपक बाँनिया आफ्नो लगानी धरापमा परेकोमा चिन्तित छन् । ७ करोड लगानी गरेर संचालनमा ल्याएको व्यवसाय विगत १७ महिनादेखि ठप्प हुनु दुर्भाग्य भएको उनले बताए ।

 

‘करोडौं करोड खर्च गरेर केही आम्दानी गर्न सकिएला भनेर शुरु गरेको व्यवसाय धरापमा पर्यो भाडा, बत्ति ,पानी, फोहोर लगाएतको भाडा १७ महिनादेखि तिर्न बाँकी छ, कर्मचारीलाई तलब दिनै पर्छ, धेरै समस्या छ,’ उनले चाणक्य पोष्टसँग भने ।

बाँनियाका अनुसार नवदुर्गा पार्टी प्यालेसमा ४९ जना व्यक्तिले रोजगारी पाएका थिए, तीनको रोजगारी समेत धरापमा परेको छ । लामो समयको लकडाउनको बाबजुत कर्मचारी धान्न नसकेर हाल १७ जना कर्मचारीले मात्र रोजगारी पाएका छन् । ती १७ जना कर्मचारी भने पार्टी प्यालेसमा मिठा परिकार पकाउँन नभएर सरसफाइको काम र सामान्य खाजा, खाना पकाउने कार्यमा मात्र व्यस्त छन् । नवदुर्गा पार्टी प्यालेसले सिजमा दैनिक ५/७ वटा सम्म ठूला तथा साना कार्यक्रम संचालन गर्ने गरेका् थियो ।

 

‘गएको १७ महिना विवाह,भोज, वर्तमन, दर जस्ता कुनै कार्य संचालन गर्न नपाउँदा पार्टी प्यालेस पूरै ओरालो लागेको छ,’ बाँनिया भन्छन् ‘विगतका वर्षहरुमा तीजका दर खाने कार्यक्रममात्र दैनिक ७ वटा सम्म संचालन हुन्थे ।’

 

यता कपनस्थित कपन पार्टी प्यालेसका संचालक कुमार कुईंकेलको अवस्था पनि उस्तै छ । ९ वर्ष अघि साढे २ करोड लगानीमा संचालन भएको यो पार्टी विगत १७ महिनादेखि ठप्प छ । ७ जनालाई रोजगारी प्रदान गदै आएको यो पार्टी प्यालेसले हाल एक जनालाई मात्र रोजगारी प्रदान गरेको छ ।

 

यी त केही प्रतिनिधि पात्र मात्र हुन । लकडाउनकै कारण व्यवसाय धरापमा परेका र बेरोजार भएका धेरै व्यक्तिहरु छन् । जस मध्ये सबैभन्दा धेरै मारमा होटल व्यवसायी तथा पार्टी प्यालेस सञ्चालक परेका छन् । किनभने सरकारले गरेको दोस्रो चरणको लकडाउन खुकुलो पार्दा पनि होटल व्यवसाय, पार्टी प्यालेसलाई कुनै सम्बोधन गरेन ।

 

अर्बौं लगानी जोखिममा

 

देशभर ७ हजार पार्टी प्यालेस तथा क्याटरिङ संचालनमा रहेका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अनुसार हालसम्म एकदर्जन बढी पार्टी प्यालेसहरु सधैंको लागि बन्द भइसकेका छन् ।

अब पनि पार्टी प्यालेस खोल्न नसक्ने अवस्था भएको भए सबै लगानी डुब्ने खतरा थियो, तर सरकारले ढिलै भएपनि सुरक्षाका मापदण्ड पालना गरेर व्यवसाय संचालन गर्ने अनुमति दिएको छ । हाम्रो माग पनि यही थियो, महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले चाणक्य पोष्टलाई बताए ।

 

स्तर र क्षमता अनुसार २ करोडदेखि १७ करोड सम्मको लगानी भएका पार्टी प्यालेसहरु संचालनमा छन् । जसमध्ये ७० प्रतिशत भन्दा बढीले बैंकको ऋण लिएका छन् । बैंकको ऋण तिर्न नसक्दा घर, जग्गा नै लिलाम हुने अवस्था आएको व्यवसायीहरु बताउँछन् । देशभरका पार्टी प्यालेसमा एक खर्ब लगानी रहेको जनाइएको छ ।

 

‘सरकारले यस क्षेत्रबाट वार्षिक ३ अर्बसम्म कर उठाउने गरेको छ,’ पाण्डेले भने । पाण्डेका अनुसार पार्टी प्यालेस बन्द हुँदा बजारमा किराना सामानदेखि दूध, माछामासु, फलफूल र तरकारी समेतको खपत घटेको छ ।

 

८० हजारले गुमाए रोजगारी

 

डेढ वर्ष यता पार्टी प्यालेस बन्द हुँदा यसक्षेत्रमा आबद्ध झण्डै ८० हजार भन्दा बढी श्रमिकले रोजगारी गुमाएको संघले जनाएको छ ।  निषेधाज्ञा कारण व्यवसाय बन्द हुँदा पार्टी प्यालेसका फूल टाइम र पार्टटाइम काम गर्ने कर्मचारी बेरोजगार बनेका हुन ।

 

प्रवक्ता पाण्डेका अनुसार प्रत्यक्ष, अप्रत्यक्ष गरेर करीब २ लाख मानिस पार्टी प्यालेस तथा क्याटरिङ क्षेत्रमा निर्भर रहेका छन् ।

 

स्वास्थ्य मापदण्ड लागू गरेर खोल्ने तयारीमा

 

यसैबीच, सरकारले गत बुधबार मात्र स्वास्थ्य मापदण्ड पालना गरेर पार्टी प्यालेस तथा होटल व्यवसाय संचालन गर्ने अनुमतिलाई महासंघले स्वागत योग्य निर्णय मानेको छ ।

 

‘हाम्रो माग नै यही थियो, लामो समयसम्म बन्द रहेको होटल व्यवसाय सुरक्षाको मापदण्ड लागू गरेर संचालन गर्न पाउनुपर्छ भन्ने थियो, सरकारको निर्णय अनुसार के कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गरिरहेका छौं, के गर्ने भनेर छिट्टै निर्णय गर्छौं,’ प्रवक्ता पाण्डेले भने ।

 

सरकारले स्मार्ट लकडाउन खुल्ला भएको जानकारी दिएसँगै सुरक्षाको मापदण्ड लागू गरेर पार्टी प्यालेस खोल्ने तयार भइरहेको व्यवसायीहरुले बताएका छन् ।

 

एकैदिन २ हजार बढीले चढे चन्दागिरि केबलकार, जीपलाइन पनि संचालनमा, कति लाग्छ शुल्क ? Read Previous

एकैदिन २ हजार बढीले चढे चन्दागिरि केबलकार, जीपलाइन पनि संचालनमा, कति लाग्छ शुल्क ?

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति Read Next

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति