सिजनमै नेपाली जुत्ताको व्यापार सुस्त, उद्योगहरू ३० प्रतिशत क्षमतामा मात्र सञ्चालन

काठमाडौं । नेपाली बजारमा जुत्ता चप्पलको व्यापार सुस्त बनेको छ । कोरोना महामारीका कारण माग घट्दा मुख्य सिजनमै जुत्ता चप्पलको व्यापारमा मन्दी आएको होे ।

 

विगतका वर्षमा चाडपर्व नजिकिएसँगै र स्कुल कलेजको नयाँ भर्नाको सिजनमा जुत्ता चप्पलको माग उच्च हुने गरेको थियो । झण्डै २ वर्षयता कोरोनाका कारण स्कुल र कलेजको पढाइ सामान्य ढंगले चल्न सकेको छैन भने चाडवाडमा पनि चहलपहल बढ्न सकेको छैन । जसका कारण मागमा गिरावट आएको हो ।

 

जुत्ता चप्पल उत्पादक संघ नेपालका महासचिव ज्ञानेन्द्र्रप्रसाद दाहाल बजारमा जुत्ता चप्पलको माग महामारीका कारण उल्लेख्य मात्रामा घटेको बताउँछन् । ‘फूटवेयरको व्यापारमा कोरोनाले पूरै असर पारेको छ । बजारै चलेको छैन । एउटा सेक्टरको स्पोर्टस जुत्ता मात्र अलिकति चलेको छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘करिब ६० प्रतिशत उद्योग बन्द अवस्थामा छन् । बजारबाट माग नै नआउने भएपछि जुत्ता चप्पलको उद्योग बन्दै छन् ।’ जुत्ताको धेरै खपत हुने शैक्षिक संस्थाहरु बन्द भएकाले अहिले व्यापार घटेको उनको भनाइ छ ।

 

हाल नेपालमा जुत्ता चप्पल उत्पादकहरुको संख्या लघु, साना, मझौला र ठुला उद्योग गरी १५ सय हाराहारी रहेको अनुमान छ । यसमध्ये ठूला तथा मझौला २२९, साना तथा परम्परागत शिल्पहरुमा आधारित १०७२ र फेल्ट तथा हस्तकलामा आधारित २०० उद्योग रहेका छन् ।

 

क्षमताको ३० प्रतिशत मात्र उत्पादन

 

माग घटेपछि उद्योगहरुले हाल आफ्नो उत्पादन क्षमताको २० देखि ३० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् ।

 

सामान्य अवस्थामा पनि ५० प्रतिशत क्षमतामा संञ्चालन हुने उद्योगहरु अहिले त्यसको आधा क्षमतामा सञ्चालनमा रहेको संघका अध्यक्ष कृष्ण कुमार फुयाँलले बताए ।

 

‘स्वदेशी उत्पादनले सामान्य अवस्थामा ६५ प्रतिशत माग धाने पनि अहिले बाजार ठप्प छ । माग नै नआएपछि उत्पादन गर्नुको कुनै अर्थ छैन,’ उनले भने ।हाल नेपालका फुटवेयर उद्योगको उत्पादन उत्पादन क्षमता वार्षिक ५ करोड ६५ लाख जोर रहेको छ ।

 

आयात बढ्दै, निर्यात घट्दै

 

वार्षिक उत्पादन क्षमता झण्डै ५ करोड जोरको भए पनि जुत्ता चप्पलको आयात निर्यातको अवस्थालाई हेर्दा निर्यात भन्दा आयात बढिरहेको छ । गत आव २०७७/७८ मा ४ करोड १० लाख ६२ हजाार १ सय ३७ जोर जुत्ता चप्पल आयात गरिएको छ । सोही अवधिमा निर्यात भने २७ लाख ६४ हजार ६४३ जोर मात्र गरिएको छ ।

विगत तीन वर्षको तथ्यांकलाई हेर्दा नेपालमा जुत्ता चप्पलको निर्यात घटिरहेको देखिन्छ । आव २०७७/७८ मा ८० करोड रुपैयाँ बराबरको निर्यात गरिएको छ । जबकि सोही अवधिमा आयात ६ अर्ब ७७ करोड रुपैंयाको जुत्ता चप्पल आयात गरिएको छ ।

 

यस्तै, आव ७६/७७ मा आयात ५ अर्ब ५७ करोड रुपैयाँको गरिएको छ भने निर्यात ७९ करोेड रुपैयाँको गरिएको छ । आव ७५/७६ मा ७ अर्ब ८३ करोडको जुत्ता चप्पल आयात गरिएको थियो भने ९४ करोड रुपैयाँको मात्र निर्यात गरिएको थियो ।

 

७४/७५ मा ४ अर्ब २६ करोडको सामग्री आयात भएको छ । सोही अवधिमा १ अर्ब २९ करोड रुपैँयाको जुत्ता चप्पल निर्यात गरिएको छ । यसरी विगतका तथ्यांक हेर्दा जुत्ता चप्पलको आयात प्रत्येक वर्ष बढ्दै गएको र निर्यात भने घट्दै गएको देखिन्छ ।

 

एशियन कङ्क्रिटोले पायो नेपालकै पहिलो कङ्क्रिटो उद्योगको रुपमा नेपाल गुणस्तर Read Previous

एशियन कङ्क्रिटोले पायो नेपालकै पहिलो कङ्क्रिटो उद्योगको रुपमा नेपाल गुणस्तर

काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्यो, अब के-के खुला भयो ? Read Next

काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्यो, अब के-के खुला भयो ?