काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ ।
इन्स्योरेन्स र मर्चेन्ट बैंकर बीच सेयर खरीद सम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवीन बास्कोटाले हस्ताक्षर गरे ।
नेपाल लाइफले उक्त सेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पूँजी ३० करोड रुपैयाँ हुनेछ ।
नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले इस्योरेन्सले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरे ।
नेशनल मर्चेन्ट प्रमुख कार्यकारी अधिकृत बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलिया बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताए ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रसाईले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा सकैको विश्वास जितेर उत्कृष्ट ब्राण्ड रहन सफल भएको भन्दैै अब नेशनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पूँजीबजारमा सफल कम्पनीको रुपमा स्थापित गरिने बताए ।