नुवाकोटका ३ गाउँपालिकावासीले बुद्धभूमि नेपालको १ लाख ६० हजार कित्ता सेयर पाउने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले १ लाख ६० हजार कित्ता सेयर पाउने भएका छन् ।

 

कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपीओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्नुपर्ने स्थानीयवासीले विशेष कोटा निर्धारणको माग गर्दै दिएका दबाब र सङ्घर्षपश्चात् कम्पनी शेयर उपलब्ध गराउन शुक्रबार सहमत भएको हो ।

 

दुप्चेश्वर, ताँदी र पञ्चकन्या गाउँपालिकाका बासिन्दाले १ लाख ६० हजार कित्ता शेयर पाउने भएपछि विरोधका कार्यक्रम स्थगित गरेका छन् ।४.९ मेगावाट क्षमताको परियोजनाबाट दुप्चेश्वर–५ र ६ वडा, तादी– ४ र पञ्चकन्या– ४ का जनतालाई असर पर्ने देखिएको छ ।

 

ती गाउँपालिकाका जनप्रतिनिधि, असर पुग्ने बासिन्दा र परियोजना पदाधिकारी सम्मिलित बैठकमा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले प्रमोटर सेयरका रुपमा प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ६० हजार कित्ता सेयर दिन लिखित सहमति जनाएका थिए ।

 

सहमति पछि ११ सदस्य ‘सहजीकरण समिति’ समेत गठन गरिएको छ । यस समितिले अति असर पर्ने दुप्चेश्वर–५ र ६ तादी–४ र पञ्चकन्या–४ का बासिन्दाका लागि ६० प्रतिशत र तीन पालिकाको बाँकी १४ वटा वडाको बासिन्दाका लागि ४० प्रतिशतका दरले सेयर वितरण सुनिश्चित गर्ने गरेर कार्य अघि बढाएको छ ।

 

एकै कम्पनीको दोहोरो सेयर भर्न नपाइने भएकाले हाल निष्कासन गरिएको आइपीओ उनीहरूलाई नभर्न आग्रह गरिएको ताँदीका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिए ।

नेपाल लाइफले किन्यो नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत सेयर Read Previous

नेपाल लाइफले किन्यो नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत सेयर

पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र, सुकुम्बासीका नाममा हडप्ने प्रयास Read Next

पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र, सुकुम्बासीका नाममा हडप्ने प्रयास