काठमाडौं । भान्छामा दैनिक उपभोग हुने खाने तेल (तोरी, भटमास र सूर्यमुखी)को मूल्य पछिल्लो डेढ वर्षमा दोब्बरभन्दा धेरैले वृद्धि भएको छ । डेढ वर्षअघि औसतमा प्रतिलिटर १६० रुपैयाँ हाराहारीमा रहेको खानेतेलको मूल्य अहिले करिब ४०० रुपैयाँ नजिकसम्म पुगेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको तथ्यांक अनुसार विभागका अनुसार २०७६ चैतमा तोरीको प्रतिलिटर १७७ रुपैयाँ, भटमासको १५२ र फ्लावर तेलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ रहेको थियो ।हाल बजारमा खाने तेलको मूल्य बढेर प्रतिलिटर तोरी ३३५ रुपैयाँ, भटमासको २५० र सनफ्लावर प्रतिलिटर २६० देखि ३७५ रुपैयाँसम्म पुगेको छ ।
कोरोनाका कारण होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लयागत धेरै तेल खपत हुने ठाउँहरु न्यून मात्रमा चल्दा माग घटे पनि भाउ भने निरन्तर आकाशिएको हो ।
मागमा कमी आइ खपत घटेको भन्दै उद्योगीले २०७७ भदौमा एकैपटक तेलको मूल्य ६० रुपैयाँसम्म बढाएका थिए । त्यसयता पनि महिनैपिच्छे लिटरमा १० देखि २० रुपैयाँसम्म भाउ बढाउँदै आएका छन् । यद्यपि, दुई महिना अघि भने तेलको भाउमा सामान्य गिरावट आएको थियो ।
खपत घटे पनि किन निरन्तर बढ्दै खानेतेलको भाउ ?
सामान्य अवस्थामाभन्दा पछिल्लो डेढ वर्ष यता खानेतेलको माग घटे पनि मूल्य भने निरन्तर बढ्दै आएको छ । मागमा गिरावट आए पनि अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य अस्वभाविक बढेकाले नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको उत्पादकहरु बताउँछन् ।
नेपाल वनस्पति घीउ, तेल उत्पादक संघका महासचिव दिवाकरराज पाण्डेले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा खाने तेल र कच्चा पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि स्वतः बढेको बताए ।
‘नेपालमा मात्र तेलको मूल्य बढेको होइन । अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थके मूल्य बढेर प्रतिमेट्रिकटन ११ सय डलर पुगेको छ, यो त भारत हुँदै नेपाल आउने हो, कच्चा पदार्थ महंगो परेपछि हामीले केही गर्न सक्दैनौँ,’ पाण्डेले चाणक्य पोष्टसँग भने ।
यस्तै, पछिल्लो समय नेपाली व्यवसायीहरुले ठूलो परिमाणका विदेश निर्यात गर्ने गरेकाले पनि भाउ आकाशिएको हो । नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो समय खाने तेल निर्यात वृद्धि हुन थालेपछि नेपाली बजारमा तेल महँगीन पुगेको छ । निर्यात बढ्दा नेपाली बजारमा माग अनुसार तेल उपलब्ध नहुँदा भाउ बढ्ने गरेको छ ।
बजारमा तेलको कम आपूर्ति भएको र चाडवाडको बेला मौकाछोपी व्यवसायीले कालोबजारी गरी खानेतेलको भाउ बढाउने गरेका छन् ।
नेपालमा उत्पादन तथा उपभोग हुने प्रमुख खाने तेलहरु तोरी, सोयाविन, सनफ्लावर, वनस्पति, पाम र बदाम रहेका छन् ।
माग धान्न ५० प्रतिशत आयात
नेपालमा खाने तेलको माग धान्न आधा बढी विदेशबाटै आयात भइरहेको तथ्यांक्ले देखाएको छ । कृषि मन्त्रालयका अनुसार नेपालमा वनस्पति तेलको माग सन् २०१९/२० मा २ करोड ५९ लाख २० हजार टन पुगेको छ । तर, स्वदेशी उत्पादन जम्मा १ करोड ६ लाख ५० टन मात्रै रहेको छ । स्वदेशी उत्पादनबाट तोरीको दाना, बदामको दाना, नरिवल, पाम तेल र राइस ब्रेन आयल, कटन सिड गरेर १ करोड ६ लाख ५० हजार लिटर तेल मात्रै प्रसोधन हुने गरेको हो ।
यस आधारमा नेपालमा खपत हुने मध्ये १ करोड ५२ लाख ७० हजार लिटर तेल आयात हुने गरेको छ । यसरी हेर्दा माग धान्नका लागि आयात गर्नै पर्ने देखिन्छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा ८० अर्ब ६५ करोड ४९ लाख रुपैयाँ बराबरका खाने तेल तथा कच्चा पदार्थहरु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो मूल्य बराबरको ६८ करोड ८३ लाख ८८ हजार केजी कच्चा पदार्थ तथा तेल आयात भएको थियो ।
५५ अर्बको खाने तेल निर्यात
गत आर्थिक वर्ष २०७७/७८ मा कुल ५५ अर्ब ९५ करोड ९१ लाख रुपैयाँ बराबरको खाने तेल निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो मूल्य बराबर ३१ करोड १८ लाख लिटर तेल निर्यात भएको थियो । सो मध्ये सबैभन्दा बढी सोयाबीन र सनफ्लावर तेल निर्यात हुने गरेको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षमा सोयाबीन तेल मात्र ५३ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । सो मूल्य बराबरमा २९ करोड ८० लाख ४३ हजार लिटर सोयाबीन तेल निर्यात भएको थियो ।
यस्तै सनफ्लावर तेल २ अर्ब २५ करोड १२ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । सो मूल्य बराबर १ करोड ३४ लाख ८८ हजार लिटर बराबरको खाने तेल निर्यात भएको तथ्यांकले देखाएको छ ।
नयाँ उद्योग थपिँदै
खाने तेलको माग बजारमा बढेसँगै तेल प्रशोधन उद्योगहरु समेत बढ्न थालेका छन् । हाल करिब २ दर्जन उद्योगले तेल प्रशोधन तथा उत्पादन गर्दै आएका छन् ।
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना (साउन)मा २ वटा नयाँ तेल उद्योग दर्ता भएका छन् । यी दुई तेल उद्योग २ अर्ब ३१ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।
सिद्धिलक्ष्मी फुड्स प्रालि नवलपरासीमा सञ्चालनमा आउने गरी १ अर्ब ७३ करोड रुपैयाँ लगानीमा तेल उद्योग खोल्ने भएको छ । सो उद्योगले वर्षेनी पाम तेल ३० हजार मेट्रिकटन, सोयाबीन तेल ३० हजार मेट्रिकटन, सनफ्लावर तेल ३० हजार मेट्रिकटन, तोरीको तेल ७ हजार मेट्रिकटन उत्पादन गर्नेछ ।
एबीसी आयल इन्डष्ट्रिले सुनसरीमा ५८ करोड रुपैयाँ लगानीमा तेल उद्योग सञ्चालन हुने भएको छ । यस उद्योगले वर्षेनी सोयाबीन तेल ३० हजार लितर प्रति वर्ष उत्पादन गर्ने छ । साथै, सनफ्लावर तेल १५ हजार मेट्रिकटन, पाम तेल १५ हजार मेट्रिकटन उत्पादन गर्ने भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कुल ७७ करोड ३० लाख ४० हजार रुपैयाँ लगानीमा ३ तेल उद्योग दर्ता भएका थिए ।