काठमाडौं । तपाईं कुनै व्यावसायिक वा व्यक्तिगत प्रयोजनको लागि बैंकबाट ऋण लिने सोचमा हुनुहुन्छ ? अथवा कुन बैंकमा सबैभन्दा सस्तो ब्याजदरमा ऋण पाइन्छ भन्ने थाहा नपाएर भौंतारिरहनु भएको छ ? तपाईंहरूको जिज्ञासालाई समेट्न सहज होस् भनेर हामीले २७ वटा वाणिज्य बैंकको आधारदर (बेसरेट)को बारेमा जानकारी दिने प्रयास गरेका छौं ।
कुन बैंकबाट ऋण लिदा सस्तो ब्याजमा ऋण पाइन्छ त ? यसको लागि बैंकहरूको आधार दर (बेस रेट) कति छ भनेर हेर्नुपर्ने हुन्छ । आधार दरले नै कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू बाट ऋण लिँदा सस्तो वा महँगो ब्याज तिर्नु पर्छ भन्ने निर्धारण गर्दछ ।
पछिल्लो एक वर्षमा बैंकको आधारदर औसतमा करिब १.६५ प्रतिशतले घटेको छ । २०७७ असार मसान्तमा औसत बेसरेट ८.५४ प्रतिशत रहेकोमा २०७८ असार मसान्तसम्म घटेर ६.८९ प्रतिशतमा आएको छ । अहिले सबै बैंकहरूको आधारदर ८ प्रतिशतभन्दा कम रहेको छ ।
बैंकहरूले ऋण लगानी गर्दा वित्तीय विवरणमा प्रकाशित गर्ने आधार दरभन्दा केही महँगो ब्याज लिन्छन् । यसमा उनीहरूले केही प्रतिशत प्रिमियम जोडेर कर्जा लगानी गर्छन् ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरूले आधार दरमा प्रिमियम थप गरेर कर्जा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । तर, आधार दरमा कतिसम्म प्रिमियम जोडर कर्जाको ब्याजदर कायम गर्ने भन्ने स्पष्ट तोकेको छैन ।
बैंकहरूले ऋण लगानी गर्दा कर्जाको प्रकृति अनुसार आफैंले प्रिमियम निर्धारण गर्ने गरेका छन् । अहिले बैंकहरूले आधारदरमा कर्जाको प्रकृति अनुसार शून्यदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा लगानी गर्दै आएका छन् ।
विगतका वर्षहरूमा बैंकको आधारदर नै १२ प्रतिशतसम्म हुँदा त्यसमा प्रिमियम थप गरी कर्जा लगानीगर्दा बैंकहरूको ब्याजदर १७/१८ सम्म थियो । तर, पछिल्लो १ वर्ष समय बैंकिङ प्रणालीमा अधिक तरलता कायम थियो । जसका कारण सबै बैंकहरूको आधारदर ८ प्रतिशतभन्दा तल झरिसकेको छ भने भने कुल ब्याजदर नै अधिकतम ११/१२ प्रतिशतमा झरिसकेको छ । अहिले बैंकहरूले कर्जाको प्रकृति अनुसार न्यूनतम साढे ६ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदरमा कर्जा लगानी गरेका छन् ।
पछिल्लो एक वर्षमा बैंकको आधारदर औसतमा करिब १.६५ प्रतिशतले घटेको छ । २०७७ असार मसान्तमा औसत बेसरेट ८.५४ प्रतिशत रहेकोमा २०७८ असार मसान्तसम्म घटेर ६.८९ प्रतिशतमा आएको छ । अहिले सबै बैंकहरूको आधारदर ८ प्रतिशतभन्दा कम रहेको छ ।
त्रैमासैपिच्छे बैंकहरूको आधारदर घट्दै आएको छ । गत वर्ष असोजमा औसतमा ७.७१ प्रतिशत रहेको बेसरेट क्रमशः घटेर पुसमा ७.१७ र चैतमा ६.९१ प्रतिशतमा झरेको थियो ।
किन घट्दै छ बेसरेट ?
बेसरेट घट्नुको मुख्य कारण अधिक तरलता हो । पछिल्लो १ वर्ष यता बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा बैंकहरुको बेसरेट घट्न पुगेको हो । गत वर्ष बैंकिङ प्रणालीमा २ खर्ब बढीसम्म तरलता रहेको थियो ।

कोरोनाका बीच बैंकहरुले गत वर्ष आक्रमक रुपमा कर्जा विस्तार गरेका छन् । यद्यपि, केही महिना भने कर्जाको माग न्यून रहेको थियो । बैंकहरुले गत वर्ष मात्रै ८ खर्ब कर्जा लगानी गरेका छन् । यत्रो रकम कर्जा लगानी गर्दा पनि बैंकिङ प्रणालीमा तरलता अधिक हुँदा बैंकहरुको बेस रेट भने झन्झन् घट्दै आएको देखिन्छ । कर्जाको माग भए पनि बैंकमा पैसा थुप्रिँदा बैंकहरूले आफ्नो बेसरेट घटाएका हुन् ।
यद्यपि, चालू आर्थिक वर्ष शुरु भए यता भने बैंकिङ प्रणालीमा तरलता अभाव हुन थालेको छ । साउनको तीन सातामै बैंकिङ प्रणालीबाट ६१ अर्ब निक्षेप बाहिरिएपछि तरलता अभाव देखिएको छ । जसले अन्तर बैंक सापटी साढे ४ प्रतिशतसम्म पुगेको बैंकरहरुले बताएका छन् ।
साउन लागे यता बैंकहरुमा निक्षेप कम हुँदै गए पनि बैंकहरुले भदौका लागि सार्वजनिक गरेको ब्याजदरमा कर्जाको ब्याज खासै बढाएका छैनन् । अधिकांश बैंकहरुले पुरानै ब्याजदर कायम गरेका छन् भने केही बैंकले न्यून मात्रमा ब्याजदर बढाएका छन् । राष्ट बैंकले मौद्रिक नीतिमार्फत चालू आवमा कर्जा विस्तारमा केही कडाइ गरेको छ । यस वर्ष कर्जा विस्तार १९ प्रतिशतमा सीमित राख्ने राष्ट बैंकको लक्ष्य छ ।
यद्यपि, वर्षको शुरुआतमा तरलता अभाव देखिएकाले आगामी महिनाहरुमा क्रमशः ब्याजदर बढ्न सक्ने सम्भावना भने रहेको बैंकरहरु बताउँछन् । राष्ट बैंकले विभिन्न उपकरण र नीतिमा समेत केही फेरबदल गरी तरलता अभाव हुन दिन नहुने उनीहरुको भनाइ छ । कोरोनाले थलिएको अर्थतन्त्र उकास्नका लागि पनि बैंकिङ प्रणालीमा तरलता कायम हुन जरुरी देखिन्छ ।
कुन बैंकबाट ऋण लिँदा ब्याजदर सस्तो ?
वाणिज्य बैंकहरूले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथोे त्रैमासको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको बेसरेट ५.४१ प्रतिशतदेखि ७.९० प्रतिशतसम्म रहेको छ । जसमा ६ वटा वाणिज्य बैंकहरुको बेसरेट ६ प्रतिशतभन्दा कम रहेको छ ।
सबैभन्दा कम आधारदर पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । असार मसान्तमा यसको आधार ब्याजदर ५.४१ प्रतिशत मात्र छ । एक वर्षको अवधिमा वाणिज्य बैंकले आधारदर ०.३९ प्रतिशतले घटाएको छ । अघिल्लो असारमा ५.८० प्रतिशत रहेको बैंकको बेसरेट गत असारमा घटेर ५.४१ प्रतिशतमा आएको हो । बैंकले कर्जाको प्रकृति अनुसार १ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा लगानी गर्दै आएको छ ।
यस्तै वाणिज्यपछि कम बेसरेट हुनेमा विदेशी स्वामित्वको स्ट्यान्डर्ड चार्टर्डको ५.५१ प्रतिशत रहेको छ । यसैगरी नेपाल बैंक ५.७३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ५.७४ प्रतिशत, नबिल ५.८४ र एभरेष्ट बैंकको ५.९९ प्रतिशत रहेको छ ।
असारसम्म ६ बैंकको आधारदर ६ देखि ७ प्रतिशततको बीचमा रहेको छ । सनराइज, ग्लोबल आइएमई, हिमालयन, सानिमा, प्रभु र लक्ष्मी, सानिमा र एनआइसी एशियाका ७ प्रतिशतभन्दा कम छ । यी बैंकहरू पनि तुलनात्मक रुपमा सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरूको सूचीमा पर्दछन् ।
यस्तै, बाँकी १४ बैंकको बेसरेट ७ देखि ८ प्रतिशतको बीचमा रहेको छ । जसमा सबैभन्दा धेरै कुमारीको ७.९० प्रतिशत रहेको छ ।
बैंकहरूको आफ्नो आधार ब्याजदरमा कर्जाको प्रकृति अनुसार प्रिमियम जोडर कर्जा लगानी गर्छन् । बैंकिङ प्रणालीमा हुने तरलताको अवस्था अनुसार ब्याजदरमा परिवर्तन गर्ने गर्दछन् । गतवर्षदेखि राष्ट्र बैंकको निर्देशन अनुसार घर, गाडी लगायत कर्जामा बैंकहरूले स्थिर (परिवर्तन नहुने) ब्याजदर पनि लागू गरेका छन् ।
नोट : यहाँ प्रस्तुत सामाग्री बैंकहरूले प्रकाशन गरेको विभिन्न त्रैमासिक वित्तीय विवरणको आधारमा तयार पारिएको हो ।