भिजन पेपर कार्यान्वयनमा लैजान महासङ्घ र राप्रपा नेतृत्वबीच छलफल

काठमाडौं । राष्ट्रिय आर्थिक रुपान्तरणसम्बन्धी भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने ध्येयका साथ नेपाल उद्योग वाणिज्य महासङ्घले राजनीतिक दलसँगको छलफल शुरु गरेको छ । सोही क्रममा मंगलबार महासङ्घले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग छलफल गरेको हो ।

 

छलफलमा महासङ्घका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू कमल थापा, पशुपतिशमसेर जबरा र डा प्रकाशचन्द्र लोहनी, महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागाी थिए ।

 

सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले भिजन पेपरका बारेमा जानकारी दिँदै यसको सफल कार्यान्वयनमा महासङ्घले सबै राजनीतिक दलहरूको सहयोग खोजेको बताए ।

 

मुलुकको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पुर्याउने, थप २३ लाख अतिरिक्त रोजगारी सिर्जना गर्ने र जीडीपीको अनुपातमा व्यापार घाटा आधा घटाउने मुख्य लक्ष्यका साथ ल्याइएको भिजन पेपरको सफल कार्यान्वयनका लागि सरकार, सबै राजनीतिक दल, निजी क्षेत्रको संयुक्त सहयोग र सहकार्यबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।

 

सरकारको वार्षिक बजेट तथा राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत आएका कतिपय कार्यक्रम तथा नीति भिजन पेपरको कार्यान्वयनलाई सहज बनाउने खालको आएको भन्दै अध्यक्ष गोल्छाले प्रसन्नता व्यक्त गरे।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीनै जना अध्यक्षले आफ्नो दल यतिखेर आर्थिक नीति बनाउने तयारीमा रहेकाले निजी क्षेत्रसँग सल्लाह सुुझाव लिने उद्देश्यले महासङ्घको नेतृत्वसँग छलफल गर्न आएको जानकारी दिएका थिए ।

 

महासङ्घले अगाडि सारेको भिजन पेपर र त्यसले लिएका लक्ष्य निकै नै महत्वपूर्ण रहेको र यो दस्तावेज सरकार तथा सबै राजनीतिक दलका लागिसमेत अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाएको महासङ्घले जनाएको छ ।

विद्युत् चुहावटबाट प्राधिकरणलाई ७० करोड नोक्सानी, ग्राहक ५१ लाख पुगे Read Previous

विद्युत् चुहावटबाट प्राधिकरणलाई ७० करोड नोक्सानी, ग्राहक ५१ लाख पुगे

बैंकको ब्याजदर झन्झन् घट्दै, कुन बैंकबाट ऋण लिँदा सस्तो ? (बेसरेट सहित) Read Next

बैंकको ब्याजदर झन्झन् घट्दै, कुन बैंकबाट ऋण लिँदा सस्तो ? (बेसरेट सहित)