विद्युत् चुहावटबाट प्राधिकरणलाई ७० करोड नोक्सानी, ग्राहक ५१ लाख पुगे

काठमाडौं । उज्यालो नेपाल अभियान अन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् ।

 

अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७/७८ मा ७।३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै, सामुदायिक संस्थातर्फ पाँच लाख ५० हजार पुगेका छन् । यस आधारमा देशभर विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्या ५० लाख ८० हजार पुगेको छ ।

 

प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा दिइएको विवरण अनुसार देशका ७४ जिल्लामा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । कर्णाली प्रदेशको कालीकोट र जुम्लामा आव २०७७/७८ मा मात्रै केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो । सो प्रदेशको डोल्पा, मुगु र हुम्लामा आगामी दुई वर्षभित्र प्रसारण प्रणाली पुर्याउने योजनामा प्राधिकरण रहेको छ ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हालसम्म देशको ९० प्रतिशत जनसङ्ख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत् पुगेको छ । बिजुली पुर्याएर मात्रै नहुने भन्दै उहाँले अब विश्वसनीय र प्रभावकारी बिजुली उपलब्ध गराउने चुनौती प्राधिकरणको सामु रहेको बताए।

 

कोरोनाले बढायो चुहावट

 

कोरोना कहरका कारण चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकिएको प्राधिकरणले स्वीकार गरेको छ । एक प्रतिशत चुहावट बढ्दा झण्डै ७० करोड रुपैयाँ बराबरको नोक्सानी हुने देखिन्छ । आव २०७७/७८मा झण्डै दुई प्रतिशत बराबरको चुहावट बढेको छ । यस आधारमा कूल १ अर्ब ४० करोड बराबरको नोक्सानी भएको छ ।

 

आव २०७७/७८ मा विद्युत् चुहावट १७.१८ प्रतिशत थियो । जुन आव २०७६/७७ को तुलनामा १.९१ प्रतिशतले बढी हो । विद्युत् खपतमा भएको वृद्धि, कोभिड–१९ का कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रुपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ हुननसकेका कारणले चुहावटमा वृद्घि हुन गएको प्राधिकरणको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडि बढाउने योजनामा आफूहरु रहेको जानकारी दिए।

 

आव २०७७/७८ मा साना विद्युत् गृहसहित प्राधिकरणका जलविद्युत् गृहबाट कूल २ अर्ब ८१ करोड युनिट बिजुली उत्पादन भयो । आव २०७६/७७ मा उत्पादन कूल ३ अर्ब दुई करोड युनिट उत्पादन भएको थियो । आव २०७६/७७ मा निजी क्षेत्रका विद्युत् गृहबाट दुई अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत आव मा ८।३६ प्रतिशतले बढ्न गई तीन अर्ब २४ करोड युनिट प्राप्त भएको थियो ।

 

यस्तै, आव २०७६/७७ मा भारतबाट रु एक अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेकाले गत आवमा ६३।४५ प्रतिशत बढी अर्थात् २ अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको प्राधिकरणले जनाएको छ ।

 

गत आवमा प्रणालीमा ८ अर्ब ८७ करोड ७९ लाख ५० हजार युनिट घन्टा विद्युत् उपलब्ध भएको तथ्याङ्क थियो । जुन, आव २०७६/७७ मा ७ अर्ब ७४ करोड १० लाख युनिटको तुलनामा १४.६८ प्रतिशत बढी होे ।

 

कूल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत छ भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युत्को योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत छ । आव २०७७/७८ मा कुल विद्युत् खपत ७ अर्ब ३१ करोड ९० लाख युनिट रहेको छ । जुन आव २०७६/७७ को ६ अर्ब ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढी हो ।

 

७१ अर्ब आम्दानी, ६८ अर्ब खर्च

 

प्राधिकरणले आव २०७७/७८ मा बिजुली विक्री गरेर ७१ अर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा सो आवमा बिजुली बिक्रीको आम्दानी घटेको देखिन्छ । आव २०७६÷७७ मा कूल ७६ अर्ब ३१ करोड बराबरको बिजुली बिक्रीबाट आम्दानी भएको थियो ।

 

यस्तै, सञ्चालन खर्चमा समेत १०।९६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा रु ६१ अर्ब ८७ करोड बराबरको सञ्चालन खर्च भएकामा आव २०७७/७८ मा रु ६८ अर्ब ४५ करोड पुगेको छ ।

 

नाफा घट्यो

 

प्राधिकरणले पछिल्लो एक वर्ष विशेष ध्यान दिन नसक्दा सञ्चालन मुनाफा घटेको छ । आव २०७६/७७ मा रु ११ अर्ब ६८ करोड नाफा गरेको प्राधिकरणले आव २०७७/७८ मा मात्रै तीन अर्ब ५१ करोड मात्रै भएको छ ।

 

लगातार नाफामा गएको प्राधिकरणले पछिल्लो एक वर्षमा प्रभावकारी काम गर्न नसक्दा मुनाफामा कमी आएको भन्दै आलोचना भएको छ । कार्यकारी निर्देशक घिसिङले संस्थागत सुशासन कामय गर्ने, चुहावट नियन्त्रण तथा अन्य सुधारात्मक काम अगाडि बढाएर चालू आवमा प्राधिकरणको नाफामा उल्लेख्य वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे।

भूगर्भ पीपीसी सिमेन्ट गुणस्तर परीक्षणमा फेल, विक्री वितरणमा रोक Read Previous

भूगर्भ पीपीसी सिमेन्ट गुणस्तर परीक्षणमा फेल, विक्री वितरणमा रोक

भिजन पेपर कार्यान्वयनमा लैजान महासङ्घ र राप्रपा नेतृत्वबीच छलफल Read Next

भिजन पेपर कार्यान्वयनमा लैजान महासङ्घ र राप्रपा नेतृत्वबीच छलफल