सरकार ! सधैं ‘कुलमान’ खोज्ने कि विधि र पद्धति पनि बसाल्ने ?
रशिन खड्का
प्रकाशित : 3:33 pm, मंगलबार, भदौ १, २०७८

Advertisement Section

निर्वतमान प्रधानमन्त्री खड्गप्रसाद ओली विरुद्धको निकै लामो र सघन रस्साकस्सी पछि गठन भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार पनि महिना दिन नाघिसकेको छ ।

 

यस बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राम्रै चर्चा बुटुलेका छन्, विविध कारणले । उनको पार्टी नेपाली कांग्रेस भित्रको क्रियाशील सदस्यता वितरण, आगामी महाधिवेशनदेखि लिएर व्यवसायी उमेश श्रेष्ठलाई मन्त्री बनाएका कारण उनको चर्चा राजनीतिक र सामाजिक डबलीमा अत्याधिक भएको छ ।

 

कुलमान घिसिङको पुनर्नियुक्तिले प्राधिकरणको कार्यकारी निर्देशक पदमा अरु कोही विकल्प नै नभएको जस्तो देखाएको छ । तर, लोकतन्त्र भनेको यस्तो व्यवस्था हो, जहाँ सबैका विकल्प हुन्छन् । कोही पनि निर्विकल्प हुँदैनन् ।

 

यसबीच, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गरेपछि उनको चर्चा केही सकारात्मक ढंगले पनि गर्ने गरिएको छ ।

 

अघिल्लो सरकारका प्रधानमन्त्री जन–चाहनाको विरुद्ध आफ्ना अभिव्यक्तिहरू क्रियाकलापहरूलाई केन्द्रित गर्ने गर्दथे भने उनको साइबर सेना नाम गरेको जत्था सामाजिक सञ्जालका प्रयोगकर्ता देखि लिएर पत्रकारहरूका विरुद्ध खनिने गर्थे ।

 

यो सरकारले कुलमान घिसिङलाई नियुक्त गर्ने सन्र्दभमा भने त्यस्तो देखिएन । सामान्यतः आम जनताको चासो रुचीलाई दृष्टिगत गरेरै निर्णय गरेको र उनीहरू माझ सकारात्मक सन्देश प्रवाह गर्न खोजेको नै देखियो ।

 

मुख्य रूपमा नयाँ गठबन्धनका प्रमुख सूत्रधार मध्ये एक पुष्पकमल दाहाल, प्रचण्ड, अध्यक्ष नेकपा माओवादी केन्द्रले जनताको इच्छा र आकांक्षा बुझ्ने प्रयास गरेको देखियो । त्यही भएर नयाँ गठबन्धनको सरकारले जनताको इच्छा अनुरूप काम गर्छ भन्ने प्रतिकात्मक सन्देश प्रवाह गर्नका लागि योग्यता, क्षमता र लगनको पर्याय जस्तै छवि बनाएका कुलमान घिसिङलाइ पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्री देउवा समक्ष उनले राखे ।

 

यो नियुक्तिलाई व्यवहारिक ढंगले हेर्दा विमति जनाउनु पर्ने ठाउँ खासै छैन । दैनिक १८ घण्टाको लोडसेडिङ भोग्न बाध्य नेपाली जनतालाई कुलमानले ठूलो गुण लगाएकै छन् । उनको इमान्दारी, योग्यता र क्षमतालाई लिएर अहिलेसम्म प्रश्न गर्ने ठाउँ पनि उती भेटिएको छैन । कुलमानको प्राविधिक विशेषज्ञता, कुशल व्यवस्थापकिए दक्षताले नेपाल लोडसेडिङको अँध्यारो युगबाट उज्यालोतर्फ धकेलिएको तथ्य स्थापित भइसकेको छ । उनको त्यही कामका कारण यो गर्मीयाममा पङक्तिकार आफ्नो वातानुकूलित कार्यालयमा बसेर यो टिप्पणी लेख्दै छ । व्यक्तिगत रूपमा पङक्तिकार उनको प्रयास, सफलता र मिहिनेत प्रति नतमस्तक नै छ ।

 

यो नियुक्तिलाई सैद्धान्तिक ढंगले पनि हेर्न सकिन्छ । पहिलो सैद्धान्तिक कोण नेतृत्वले सधैं जनताको इच्छा, आकांक्षा र चाहाना बमोजिम निर्णय गर्नुपर्छ भन्न सकिन्छ । जनताले जे चाहन्छन् नेतृत्वले त्यही गर्ने हो । अहिलेको डिजिटल युगमा जनताको भावना बुझ्न धेरै कठिन पनि छैन । यो सैद्धान्तिक कोण माथि उल्लेख गरिएको व्यवहारिक बुझाइभन्दा खासै फरक छैन । यसमा नेतृत्वको क्षमताको खासै परीक्षण हुँदैन ।

 

दोस्रो सैद्धान्तिक कोणले चाहिँ नेतृत्वले जनताको इच्छा अनुसार सामान्य प्राविधिक काम गरेर लोकप्रियता कमाउने प्रयास गरेर मात्र पुग्दैन । जटिल संरचनागत समस्याहरूको हल गर्नका लागि तत्काल जनतालाई नपच्ने खाले कठोर निर्णयहरू पनि गर्नुपर्ने हुन्छ र अन्तत जनतालाई आफ्नो निर्णय वा कदमको सान्र्दभिकता पुष्टि गर्न सक्नुपर्छ । भिडको मनोविज्ञानको पछाडि कुद्ने मान्छे नेता होइन ।

 

नेपाली राजनीतिको लौहपुरुष मानिने नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंह भन्थे रे, ‘हामी त ‘लिडर’ हो ‘लेड’ होइन । नेताका पछाडि कहिले लाख जनता, कहिले नेता एक्लै । आफ्नो पछाडि कति मान्छे छन् भनेर टाउको गनेर राजनीति गर्ने मान्छे नेता होइन ।’

 

व्यक्तिलाई संस्था र प्रणालीभन्दा माथि राखेर हेर्ने र सधैं जादुगरी व्यक्तिको मात्र अपेक्षा हरेक क्षेत्रमा हमेशा गरिरहने प्रवृत्ति हाम्रो राष्ट्रिय संस्कृति बन्दै गएको यो नियुक्तिले पनि पुष्टि गरेको छ ।

 

दोस्रो सैद्धान्तिक कोणबाट हेर्ने हो भने अहिलेका गठबन्धनका नेताहरूले कुलमान घिसिङलाई जनताले चाहे बमोजिक नियुक्ति दिएर सजिलै लोकप्रियता हासिल गर्ने बाटो रोजेको जस्तो देखिन्छ । उनीहरूले व्यक्तिभन्दा पनि संस्था र पद्धति बलियो बनाएर विद्युत प्राधिकरणमा दीर्घकालीन सुधारका लागि गर्नुपर्ने कामलाई पन्छाउने प्रयास गरेको देखिन्छ ।

 

व्यक्तिलाई संस्था र प्रणालीभन्दा माथि राखेर हेर्ने र सधैं जादुगरी व्यक्तिको मात्र अपेक्षा हरेक क्षेत्रमा हमेशा गरिरहने प्रवृत्ति हाम्रो राष्ट्रिय संस्कृति बन्दै गएको यो नियुक्तिले पनि पुष्टि गरेको छ ।

 

व्यक्ति संस्था र प्रणालीभन्दा माथि गएपछि कस्ता नतिजा आइलाग्छन् भन्ने तथ्य त निर्वतमान प्रधानमन्त्री खड्ग प्रसाद ओलीले स्थापित गरेरै बालकोट प्रस्थान गरेका छन् । त्यति ठूला संवैधानिक, न्यायिक र नैतिक प्रश्नहरू भर्खरै उठाएर आएका प्रचण्डको एक व्यक्ति प्रतिको मोहले के संकेत गर्छ, उनै जानुन् ।

 

अहिलेको सरकारका उर्जा मन्त्रीले विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यको राजीनामाको माग गर्दै गर्दा भनेको वाक्य, ‘म केही गर्न भनेरै यहाँ आएकी छु । तपाईंले राजीनामा दिएर सहयोग गर्नुपर्यो’ भनेर बोलेको वाक्यले पनि त्यति राम्रो संकेत गर्दैन ।

 

उनले ‘केही गर्नका लागि’ गरेको ठूलो काम फगत कुलमान घिसिङको नियुक्ति मात्र रहेछ ! विद्युत प्राधिकरणलाई राजनीतिक अभिभावकत्व दिएर संस्थागत सुधारका कार्यक्रमहरू ल्याउनका साटो उनी मन्त्री पदको बृहत्तर जिम्मेवारी बिर्सेर सामान्य राजनीतिक नियुक्तिमा अल्झेर बसेको देखिएको छ । निर्वतमान कार्यकारी निर्देशकको कामको बृहत् मूल्यांकन, थप अवसर र जिम्मेवारी र प्राधिकरणका अन्तर्निहीत समस्या खोतल्ने धैर्यता उनले देखाइनन् ।

 

मन्त्री भुसाल र उनका नेताहरूको मुख्य एजेन्डा प्राधिकरणमा जो सुकै कार्यकारी निर्देशक भएर आएपनि तिनको व्यवस्थापकीय दक्षता र प्रभावकारिताको सन्तुलन र नियमन गर्ने प्रभावकारी प्रणालीहरूको स्थापना गर्नेमा केन्द्रित हुनु पर्ने थियो । त्यसो हुन नसक्दा आज निगम र प्राधिकरणहरू धराशायी हुँदै गएको प्रमाणहरू हामै सामु छन् ।

 

कुलमान घिसिङको पुनर्नियुक्तिले प्राधिकरणको कार्यकारी निर्देशक पदमा अरु कोही विकल्प नै नभएको जस्तो देखाएको छ । तर, लोकतन्त्र भनेको यस्तो व्यवस्था हो, जहाँ सबैका विकल्प हुन्छन् । कोही पनि निर्विकल्प हुँदैनन् ।

 

कुलमान एक इमान्दार र साधारण कर्मचारी नै हुन् जसले ठीक समयमा ठीक काम गरी देश र जनताको सेवा गरे तर उनको त्यो सफलतामा उनको डेपुटीको भूमिकामा रहेका हितेन्द्रदेव शाक्यको कुनै भूमिका थिएन ? कुलमानमा भएको प्राविधिक ज्ञान के अरु कसैमा छैन ?

 

समग्रमाभन्दा जब राजनीतिक नेतृत्वको उपल्लो ढिक्का नै विधि र पद्धतिको स्थापनामा जोड दिन छाडेर एउटा अमुक व्यक्ति विनाको संस्था कल्पना गर्न सक्दैन भने यस्तो नेतृत्वले नेपालको आधारभूत आर्थिक र सामाजिक समस्याको समाधान कसरी गर्ला भन्ने प्रश्नहरू स्वभाविक रूपमा उठ्छन् । कुलमानको नियुक्ति व्यवहारिक रूपमा सकारात्मक नै लागेपनि यसले नेपाली नेतृत्व कुन स्तरको चेतनामा आधारित भएर देश हाँक्न अभिसप्त छ ? भन्ने सैद्धान्तिक प्रश्न भने खडा भएको छ ।

 

अन्तमा ११ महिना पछि फेरि प्राधिकरणको कार्यकारी निर्देशकको दोस्रो कार्यकालको लागि घिसिङलाई बधाई तथा शुभकामना !

 

Advertisement Section