काठमाडौं । हाइड्रोपार र विकास बैंकको सेयर मूलयमा उछाल आएको छ । पछिल्लो समय लगातार मूल्य बढ्दै आएका यी क्षेत्रका कम्पनीमा आज पनि लगानीकर्ताको आकर्षण देखिएको हो ।
वाणिज्य बैंकको तुलनामा चुक्ता पूँजी कम भएको, चुक्ता पूँजीको तुलानामा नाफा धेरै कमाएको र लाभांश क्षमता समेत बढी भएकाले लगानीकर्ता विकास बैंकप्रति आकर्षित भएका हुन् ।
यस्तै, हाइड्रोपावर कम्पनीहरुले पनि विगतकोभन्दा आकर्षक वित्तीय विवरण सार्वजनिक र केही धमाधम लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ता यसक्षेत्रका कम्पनीमा झुम्मिएका हुन् ।
आज हाइड्रो र विकास बैंक समूहमा उछाल आए पनि बैंक र बीमा समूहमा गिरावट आउँदा नेप्से सूचकमा झिनो गिरावट आएको छ । सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने उछाल आएको छ । अघिल्लो दिनको तुलनामा साढे २ अर्बले बढेर १८ अर्ब नाघेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ०.२३ अंकले बढेर ३१६०.३२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँ बराबरको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचकमा हरियाली छाएको छ ७ समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ५.१७ अंकले बढेको छ भने अन्य समूह १.७१ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका २२१ कम्पनीमध्ये ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ । आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको ८६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
झिनो अंकले बढेको बजारमा आज १६ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । जीवन विकास लघुवित्त, गोर्खा फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, दिव्यश्वरी, अरुण काबेली, आँखुखोला, जोशी, पञ्चकन्या माइ, हिमाल दोलखा, माउन्टेन इनर्जी, रुरु जलविद्युत् र सीईडीबी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यस्तै, रिडी, खानीखोला, नेशनल हाइड्रोपावर, आरएमडीसी माइक्रोफाइनान्स र आइसीएफसी फाइनानसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । आज एनआइबीएल प्रगति फण्डका इकाईधनीले भने सबैभन्दा धेरै ३.८६ प्रतिशत गुमाएका छन् ।