काठमाडौं । नेपाल प्रहरीले शुक्रबार एकैपटक ३ हजार ८ सय ३१ जनाको लागि नयाँ भर्ना खुलाएको छ ।
खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी जवानमा ३ हजार ५ सय ९६ जना र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आव्हान भएको छ ।
प्रहरीजवानतर्फ खुल्लामा १९३८ र बाँकी १६५८ आरक्षण तथा समावेशी कोटाका लागि छुट्याइएको छ । त्यस्तै प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे, हजाम, कुचिकार र खेलाडीका लागि दरखास्त आह्वान गरिएको छ ।
प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम बुझाउन सकिने छ ।
भदौ ९ गतेदेखि असोज १३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा दरखास्त फारम लिन तथा बुझाउन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी जवातर्फ उमेरको हद १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको र बहालवालाको हकमा २५ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै प्रहरी कार्यालय सहयोगीका हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ ।
यसैगरी शैक्षिक योग्यताको हकमा प्रहरी जवानका लागि कम्तीमा ८ कक्षा उत्तीर्ण र प्रहरी कार्यालय सहयोगका लागि साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ ।