काठमाडौं । नेपाल बैंकको खुद नाफा ३१.४० प्रतिशतले वृद्धि भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
यो अघिल्लो आव २०७६/७७ को सोही अवधिको तुलनामा ६७ करोडले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब ३३ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा, गैरसंचालन नाफा बढ्दा र इम्पेरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो ।
बैंकको खुद ब्याज आम्दानी १४.९८ प्रतिशतले घटेर ६ अर्ब ४६ करोड पुगेको छ । यस्तै, बैंकको संचालन नाफा ३८.३५ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
१२ अर्ब ६३ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५अर्ब १४ करोड, रिटेन अर्निङमा ५ अर्ब ४ करोड र सेयर प्रिमियममा ४३ करोड १८ लाख रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ छ।
असार मसान्तसम्ममा बैंकले १ खर्ब ६२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १४.९९ प्रतिशत र कर्जा लगानी विस्तार ३०.२३ प्रतिशतले सुधार भएको हो।
खुद नाफा बढेसँगै पनि बैंकको प्रतिसेयर आम्दानी २०.६८ रुपैयाँबाट बढेर २४.२६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २६३.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.२६ गुणा, सीसीडी अनुपात ७४.३४ प्रतिशत, आधारदर ५.७३ प्रतिशत र स्प्रेडदर ४.३४ प्रतिशत र खराब कर्जा २.१ प्रतिशत रहेको छ ।