काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यको ९१ प्रतिशत सडक कालोपत्र भएको छ । कुल १ हजार ३०० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएकोमा कुल १ हजार १९० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको सडक विभागले जनाएको हो ।
विभागका अनुसार लक्ष्यको ११० किलोमिटर सडक मात्र कालोपत्र हुन नसकेको हो । विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार राष्ट्रिय गौरवका सडकसहित कुल १ हजार १९० किलोमिटर सडक कालोपत्र भएको हो । कोरोनाका बीच लक्ष्यको ९० प्रतिशतभन्दा बढी लक्ष्य हासिल हुनु सन्तोषजनक रहेको उनले बताए ।
कोभिडको दोस्रो लहरका कारण गत आवमा लक्ष्य अनुसार काम हुन नसकेको उनले बताए । कोभिड १९ को दोस्रो लहरका कारण धरै निर्माण कामहरु रोकिएको र भने जस्तो गति लिन नसकेको उनले बताए ।
‘कोभिड १९ को दोस्रो लहरका कारण हामीले सोचे जस्तो काम गर्न सकेनौँ, कोभिडको डरका कारण मजदुरहरु फिल्डमै आउन नमानेकाले कामले भने जस्तो गति लिन नसकेको हो,’ थापाले चाणक्य पोष्टसँग भने ।
उनका अनुसार गत आवमा ४७२ किलोमिटर सडकमा नयाँ ट्रयाक खुल्ला गरिएको छ । गत आवमा ५०० किलोमिटर नयाँ सडक ट्रयाक खुल्ला गर्ने लक्ष्य राखिएको थियो ।
यस्तै, ५०७ किलो मिटर सडक पुनर्निर्माणको काम भएको छ । सो आवमा ६०० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको थियो ।
सडक विभागका अनुसार गत आवमा ४२४ किलोमिटर सडकमा आवधिक मर्मत गरिएको छ । कुल ७२९ किलोमिटरमा आवधिक मर्मत गर्ने लक्ष्य रहेको थियो । गत आवमा ३ सय किलोमिटर बढि सडकमा आवधिक मर्मत हुन नसकेको हो ।
गत आवमा २२४ वटा सडक पुल निर्माण भएको विभागका महानिर्देशक अर्जुन जंग थापाले जानकारी दिए । उनका अनुसार गत आवमा ३०० पुल निर्माण गर्ने लक्ष्य रहेको थियो ।
राष्ट्रिय गौरव आयोजनातर्फ हुलाकी राजमार्गमा ९४ प्रतिशत भौतिक प्रगति भएको छ । ९५ प्रतिशत वित्तीय प्रगती भएको सडक विभागले जनाएको छ । मध्य पहाडी लोकमार्गमा गत आवमा कुल ८१ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीयतर्फ ९४ प्रतिशत प्रगति भएको छ ।
उत्तर–दक्षीण लोकमार्गतर्फ ८२ प्रतिशत भौतिक प्रगति भएको छ । कालिगण्डकीतर्फ ६९ प्रतिशत भौतिक प्रगति भएको छ भने ६९ प्रतिशत वित्तीय प्रगति भएको छ । बेनी–जोमसोङतर्फ ७५ प्रतिशत भौतिक प्रगति भएको छ । साथै कर्णालीतर्फ ६८ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीयतर्फ ५६ प्रतिशत प्रगती भएको छ ।
उनले चालू आर्थिक वर्ष २०७८/७९ मा गत आवको लक्ष्यको ५/१० प्रतिशत बढाएर लक्ष्य राखिएको बताए ।