काठमाडौं । मञ्जुश्री फाइनान्सले खुद नाफामा छलाङ मारेको छ । फाइनान्सले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा दोब्बरभन्दा धेरैले बढेको छ ।
फाइनान्सले असार मसान्तसम्म ५६ करोड ८१ लाख १८ हजार खुद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११५.८१ प्रतिशतले धेरै हो । अघिल्लो आवकोे असारसम्म फाइनान्सले २६ करोड ३२ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि संचालन र गैरसंचालन आम्दानी बढ्दा खुद नाफा उल्लेख्य बढेको हो ।
९६ करोड ५३ लाख चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७६ करोड ७८ लाख रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ४८ करोड ५६ लाख रुपैयाँ छ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २८.६१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षमा ३९ करोड ३७ लाख ब्याज आम्दानी गरेको फाइनान्सको गत वर्ष ११ करोडले घटेर २८ करोड ११ लाखमा सीमित भएको छ ।
असार मसान्तसम्ममा फाइनान्सले ८ अर्ब ९१ करोड निक्षेप संकलन गरी ६ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा फाइनान्सको निक्षेप संकलन ५२.३८ प्रतिशत र कर्जा लगानी विस्तार ५.४८ प्रतिशतले सुधार भएको हो।
खुद नाफा बढेसँगै फाइनान्सको प्रतिसेयर आम्दानी ३२.१८ रुपैयाँबाट बढेर ५८.८५ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर नेटवर्थ १७९.५३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.७५ गुणा, खराब कर्जा २.३४ प्रतिशत रहेको छ ।