काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको नयाँ कीर्तिमान बनेको छ ।
कम्पनीको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओमा २४ लाख १९ हजार १२७ जनाले ३ करोड ६९ लाख ४३ हजार ६४० कित्ताका लागि आवेदन दिएका छन् ।यो मागभन्दा ६.८४ गुणा बढी हो ।यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदनको संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ ।
सानिमाको आइपीओमा परेको आवेदन हालसम्म कुनै पनि आइपीओमा परेको सबैभन्दा धेरै आवेदन हो । यसअघि जीवन विकास लघुवित्तको आइपीओमा २१ लाख बढीले आवेदन दिएका थिए ।
कम्पनीको आइपीओमा आवेदन दिने लाख ४० हजारले सेयर पाउनेछन् भने झन्डै १९ लाख बढीले सेयर पाउने देखिँदैन ।
कम्पनीले साउन २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ जारी पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।